Play

माओवादीलाई अन्य दलसँग मिल्न नदिन पनि पाँच दलीय गठबन्धन आवश्यक-गृहमन्त्री खाण

गुरुकुल खबर


काठमाडौं , गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने सम्भावना नभएको दाबी गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले माओवादी केन्द्रले एक्लै निर्वाचन लड्ने कुनै सम्भावना नदेखिएको दाबी गरेका हुन् ।

गठबन्धन अहिलको आवश्यकता भएकोमा जोड दिने क्रममा गृहमन्त्री खाणले कांग्रेसले माओवादीसँगको गठबन्धनलाई निरन्तरता नदिए यसले अर्को दलसँग गठबन्धन गर्ने बताए । त्यसैले माओवादीलाई अन्य दलसँग मिल्न नदिन पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको उनको तर्क छ ।

‘गठबन्धनबिना माओवादी केन्द्र एक्लै चुनावमा लड्दैन, उसले अर्को कुनै पार्टनर खोजिहाल्छ,’ बैठकमा खाणले भनेको कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । गठबन्धन भएमा निर्वाचनको परिणाम यस्तै हुन्छ भन्ने आँकलन गर्न नसकिने उनको भनाइ छ । अहिलेको गठबन्धन भत्किएमा त्यसपछि कांग्रेसको पक्षमा कस्तो परिणाम आउँछ भन्ने बारेमा अहिले नै भन्न नसकिने भन्दै उनले भने, ‘गठबन्धन भयो भने कसैको पनि सिट जानसक्छ, यसका लागि सबै तयार रहनुपर्छ ।’

बैठकमा उनले सरकारले तत्काल प्रहरीका लागि हात हतियार नकिन्ने पनि बताएका छन् । मुलुक आर्थिक संकटमा रहेको, तरलता अभाव र विदेशी मुद्राको सञ्चिति कमजोर रहेका बेला हतियार किन्ने निर्णय ठीक नहुने भन्दै विरोध भइरहेका बेला उनले सरकार हतियार किन्ने मानसिकतामा नरहेको बताएका हुन् ।

उनले हतियार किन्ने पैसा नभएको र हतियार किन्ने सोचमा पनि नरहेको प्रष्ट पारेका थिए । अहिले बजारमा भइरहेको विवादमा अहिलेको सरकारको कुनै हात नभएको भन्दै त्यो पुरानो निर्णय भएको बताए । ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ उनले भने, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’

हतियार खरिदका विषयमा भइरहेको बहसलाई लक्षित गर्दै उनले महिनौँपछि मिडियामा पोलिटिकल स्टन्ट गर्नु आवश्यक नभएको पनि बैठकमा बताए छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी  छ । असार १७ गतेदेखि शुरू भएको केन्द्रीय समिति बैठक शुक्रवार उपसभामुखको निर्वाचनका कारण स्थगित गरेर पुनः शनिवार बोलाइएको थियो । शनिवारको बैठकमा पदाधिकारीले समेत बोल्ने बताइएको छ ।

३२ असार २०७९, शनिबार १६:४५ मा प्रकाशित
Nabintech