पोखरा । एक महिनाभन्दा लामो समयदेखि आन्दोलनमा उत्रेका मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रशासनबीच सहमति भएको छ । जेठ १८ गतेदेखि विभिन्न माग राख्र्दै आन्दोलनमा रहेका कर्मचारीहरुले प्रशासनसंग सहमति पछि आन्दोलन रोकेका छन्।
सुत्केरी विदा, किरिया विदा, तलव वृद्धि, स्थायी गरिनु पर्ने लगायतका विभिन्न माग राखी आन्दोलनमा उत्रिएका कर्मचारीहरुको मागलाई सम्बोधन गर्दै श्रम ऐन बमोजिम नै लागु गर्ने सहमति भएपछि आन्दोलन रोकेका हुन् ।
कर्मचारीलाई ६० दिनभित्र स्थायी गर्ने सहमति भएको छ भने तलब वृद्धिको विषयमा ३० दिनभित्र समाधान खोजिने सहमति भएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन स्वतन्त्रका अध्यक्ष नवराज भण्डारीले गुरुकुल खबरलाई जानकारी दिए ।
सहमति भएसँगै आइतबारदेखि पूर्णरुपमा ओपिडी सेवा संचालनमा आएको अस्पताल प्रशासनले जनाएको छ ।
आन्दोलित कर्मचारीले आफूहरुको माग पूरा गर्न भन्दै शान्तिपुर्ण रुपमा दैनिक ५ घण्टा ओपिडी सेवा बन्द गर्दै आएका थिए । दैनिक ६ सय बिरामीले ओपिडी सेवा लिने मणिपालमा कर्मचारी अवरोधले दैनिक २ सयले मात्र ओपिडी सेवा पाएका थिए ।
लामो समयदेखिको कर्मचारी आन्दोलन टुंगोमा पुग्नु सकारात्मक पक्ष भएको र आन्दोलनको प्रतिफलको रुपमा लिन्छिन् नेपाल ट्रेड युनियन कास्कीका पुर्वाध्यक्ष कुलदेवी बराल । “सुत्केरी विदा र किरिया विदा जस्तो संवेदनशिल विषयमा प्रशासन र कर्मचारीबिच भएको सहमतिले सबैमा सकारात्मक उर्जा प्राप्त भएको छ” ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिको संगठन विभागका सदस्य समेत रहेकी बरालले भनिन् “यो सहमति नै अन्तिम सहमति हो र लागु हुन्छ नै भन्नुमा शंका गर्ने ठाँउ पनि छ ।”
विगतका वर्षहरुमा पनि कर्मचारीहरुद्धारा यस्तै विभिन्न माग राख्दै आन्दोलन गरिएको र आन्दोलन मथ्थर पार्न सहमति पनि भएको तर व्यवहारमा लागु नभएको घटना धेरै भएकाले सहमति कार्यन्वयन हुनेमा अझै शंका रहेको बरालको भनाई छ ।
२०७४ भन्दायता अस्पातालमा आवद्ध कर्मचारीले भने श्रम ऐन २०७४ बमोजिम नै उपदान पाउने सहमति जुटेको हो । सन् २०१० मा भएको सम्झौता अनुसार ५ वर्ष काम गरेका कर्मचारीले ३० प्रतिशत उपदान, १० वर्ष काम गरेकाले ६६ प्रतिशत, १५ वर्ष वा सोभन्दा बढी अस्पतालमा आवद्ध कर्मचारीले शत प्रतिशत उपदान पाउने सहमति भएको छ ।
आईतबार भएको सहमतिमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन स्वतन्त्रका अध्यक्ष नवराज भण्डारी, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनकाका अध्यक्ष अमृतबाबु पौडेल र मणिपाल अस्पताल व्यवस्थापन तर्फबाट प्रशासक भानु भारद्वाज र नारायण पौडेल ”बतास ग्रुप” ले हस्ताक्षर गरेका थिए ।