Play

नयाँ नेतृत्व चयन गर्नको लागि पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौमा

गुरुकुल खबर


पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनको मिति तय भएको छ । संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि संघका पूर्वअध्यक्ष तथा सल्लाहकार दिपक श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

यस पटक पोखरा उधोग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा आकांक्षीहरु कम देखिएपनि वरिष्ठ उपाध्यक्ष को बन्ने भन्ने विषयले बढि प्रभाव पर्ने देखिन्छ ।

हालका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति अध्यक्ष पदका स्वभाविक दावेदार हुन भने वरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्ष द्वय अर्जुन पोखरेल र गोकर्ण कार्की आकांक्षी देखिएका छन । कार्की दुई कार्यकाल उपाध्यक्ष निर्वाचित भएर काम गरेकोले वरिष्ठ उपाध्यक्षमा आंफ्नो दावी रहेको बताउंदै आएका छन भने कार्य समितिको सदस्य बाट संघमा प्रवेश गरेका अर्जुन पोखरेलले उप महासचिव, महासचिव र उपाध्यक्ष समेत गरि ५ कार्यकाल बिताईसकेका छन ।
कार्की र पोखरेललाई मिलाउन सकेमा अध्यक्ष पदमा निर्विरोध हुने सम्भावना समेत देखिन्छ तर दुई जनाको बिचमा सहमती नभए अध्यक्ष पदमा समेत उमेदवारी पर्ने देखिन्छ । यस बारेमा अहिले सम्म कसैले मुख खोलेको छैनन् तसर्थ अध्यक्षका आकांक्षी प्रजापतिले आंफ्नो टिममा कसलाई राख्लान भन्ने कुरामा धेरैको चासो बढेको छ ।
चुनावले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष,उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।

संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना,औद्योगिकबाट १ जना तथा बस्तुगतबाट  ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ । असार मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरुले मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् ।

३ असार २०७९, शुक्रबार ०८:३७ मा प्रकाशित
Nabintech