पोखरा । उमेरले अरु उम्मेदवारभन्दा कान्छा तर दुई दशकभन्दा लामो राजनीतिक अनुभव । युवा जोश, युवा संकल्प र युवा भिजनलाई गाँउको विकासमा लगाउन चाहाने कान्छा उम्मेदवार हुन् युवराज गुरुङ । यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका वडा नं ८ तनहुँका वडाध्यक्ष पदका उम्मेदवार ।
नेपाली काँगेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका युवराज एउटै गाउँबाट छ जना शहिद जन्माएको तनहुँको व्यास नगरपालिका ८ पुलिमराङका हुन् । जहानियाँ राणा शासन र पञ्चायत व्यवस्थाका विरुद्ध आन्दोलनमा होमिएर शहादत भएका धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, शमशेरबहादुर गुरुङ, भरत गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङको योगदान सम्झेर युवराज पनि गाँउमै राजनीतिक सेवा गर्न कस्सेर लागेका छन् । सात कक्षा पढदै गर्दा नेपाल विद्यार्थी संघको सदस्यता लिएका उनले नेपाल तरुण दलको साबिक रिस्ती गा बि स को अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरेका थिए । जिल्ला तरुण दल तनहुँको निर्बाचित सदस्य भएर काम गरी सकेका युवराज नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सर्वसम्मत चुनिएका वडा ईकाई सभापति हुन् ।
युवाविहिन जस्तै बनेको गाउँमा कृषि क्रान्ति मार्फत गाउँलाई आर्थिक उन्नतिमा लग्नु र युवालाई आफनै गाउँ फर्काउनु उनको सपना हो । सबै परिवार युकेमा रहे पनि समाज विकास र वडामा सुशासन स्थापित गर्ने सपनाले उनलाई युकेको मात्र होइन अरु कुनै देशले तान्न सकेन । उनी सपना देख्छन् त केवल आफनै गाउँ पुलिमराङको । खुशी र सुखको सपना देख्छन् त आफनै वडाबासीको । उनको अर्को सपना हो राज्यका नजरमा पर्न नसकेको शहिद परिवारका लागि केही गर्नु । नागरिक स्वतन्त्रताको सपना बोकेर आन्दोलनमा होमिएका छ शहीदका परिवार अझैसम्म पनि राज्यको नजरमा पर्न सकेका छैनन, शहिद परिवारको आवाज राज्यसम्म पु¥याउनु युवराजको अर्को सपना हो । उनको चुनावी प्रतिबद्धता नै समाज विकास हो । उनको एजेण्डा भनेको नै गाउँको समृद्धि हो ।
वडाबासीको शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनका लागि नेपाली काँग्रेसको तर्फबाट वडा नं ८ को वडाध्यक्षको उम्मेदवार बनेका युवराज आफ्ना सपनालाई जीतमा परिणत गर्न मतदातको घरदैलोमा पुगीरहेका छन । मतदातासंग भोट माग्नु मात्र उनको घरदैलो कार्यक्रम नभई मतदाताको सुखदुख र आवश्यकताका बारे भलाकुसारी गर्नु र आफुभन्दा ठुलासंग आशिर्वाद लिनु उनको दैनिकी बनेको छ । घरदैलो कार्यक्रम लगायत चुनावी सभालगायतमा कार्यकर्ता र मतदाताले देखाएको उत्साह र सहभागिताले जीत आफनो पोल्टामा आउनेमा उनी ढुक्क छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा मतदाता भेटघाट कार्यक्रमलाई तिब्र पारेका युवराज आफले जीत हात पार्नेमा ढुक्क छन । गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसले नै जीतेको वडा भएकोले पनि विरासत कायम गर्न उनले चुनावी रणनीतिलाई आक्रमक बनाएका छन् ।
‘काँग्रेसको एरिया हो, विरासत जोगाउनलाई पनि मेरो प्यानलले जित्नु पर्छ’ उनले भने ‘जीत हासिल गर्न चुनावी दौडधुप बलियो नै गरेको छु ।’ यो जीतका लागि उनले प्रत्येक गाँउमा गाँउमा प्रत्येक घर घरमा पुगेर वडाबासीको समस्या र आवश्यकताको पहिचान गरेका छन् । युवा जोश र युवा संकल्पका साथ जहिले वडाबासीको पक्षमा रहने उनको लडाई बेतेथिको विरुद्धमा छ अनि भ्रष्टाचारको विरुद्धमा पनि । ‘म वडाबासीको पक्षमा छु, न्यायको पक्षमा छु अनि रुपान्तरणको पक्षमा छु, मेरो सम्पुर्ण समय वडाकै लागि हुनेछ’ युवराजले भने । २०४८ सालदेखि २०७९ सालसम्मको निरन्तरताले ब्यास नगरपालिकाको वडा न ८ को जनताको घर दैलोमा पुग्न सफल भएको उनको भनाई छ । हालसम्मको राजनीतिक र सामाजिक कार्यको निरन्तरताले नै वडाबासीको अमुल्य मत आफुलाई आउनेमा उनी विश्वस्त छन् ।
अध्यक्ष पदका उम्मेदवार युवराजको नेतृत्वमा वडा सदस्य पदका उम्मेदवारहरु थमनसिंह गुरुङ, रामप्रसाद मिश्र, विष्णुमाया राना र शकुन्तला ठडराई चुनावी मैदानमा रहेका छन् । नेपाली काँग्रेसको तर्फबाट व्यास नगरपालिका तनहुँको नगर प्रमुख पदको उम्मेदवारमा बैकुण्ठ न्यौपाने र नगर उपप्रमुख पदको उम्मेदवारमा इन्दिरा दरै रहेका छन् ।