पोखरा । नेपाली कांग्रेस कास्कीको शुक्रबार बिहान सम्पन्न बैठकले संसदीय समिति गठन गरेको छ । पार्टीको सभापति किशोरदत्त बरालको सभापतित्वमा संसदीय समिति गठन गरेको हो ।
संसदीय समितिमा उपसभापतिद्वय युवराज कुँवर, रामबाबु भण्डारी, सचिवद्वय देवेन्द्र रानाभाट र भानु ढकाल, सहसचिवद्वय शंकर ढुंगाना र नविन सिग्देल, कोषाध्यक्ष माइकल कर्माचार्य छन् ।
जिल्ला सदस्यहरुमध्येबाट सुदीप मोहन भट्टराई, गंगाधर पराजुली, बाबुराम गिरी, चौबहादुर गुरुड, सीता शर्मालाई समिति सदस्यमा मनोनित गरिएको छ । जिल्ला संसदीय समितिलाई स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टिकट वितरण गर्ने अधिकार विधानले दिएको छ ।
यस्तै, गाउँ, नगर वडाका अध्यक्ष र सदस्यको उम्मेदवारी प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले तय गर्छ । कांग्रेसको विधानअनुसार जिल्ला कार्यसमितिका सभापति जिल्ला संसदीय समितिका सभापति र सचिव जिल्ला संसदीय समितिको सचिव हुन्छन् । जिल्ला कार्यसमितिका पदाधिकारी भने जिल्ला संसदीय समितिका पदेन सदस्य हुन्छन् ।
जिल्ला सभापतिले जिल्ला कार्यसमितिका सदस्यमध्येबाट प्रस्ताव गरी जिल्ला कार्यसमितिले अनुमोदन गरेका बढीमा पाँच जना सदस्य समितिमा रहने व्यवस्था छ ।
बैठकले युवक लामिछानेको संयोजकत्वमा अनुशासन समिति पनि गठन गरेको जिल्ला सदस्य पराजुलीले जानकारी दिए । उनका अनुसार बैठकले समितिमा रामजी कोइराला र चन्द्रमाया गुरुडलाई सदस्य मनोनित गरेको छ ।