Play

फोनिज गण्डकी प्रदेशको नवनिर्वाचित नेतृत्वलाई मिलन डी.जी.को सम्मान

गुरुकुल खबर


पोखरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशको नवनिर्वाचित नेतृत्वलाई मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.ले बधाई ज्ञापनसँगै सम्मान गरेको छ । सोमबार आयोजित कार्यक्रममा यही फागुन १८ गते सम्पन्न फोनिज, गण्डकी प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई सम्मान गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष रूद्रबहादुर श्रीसमगर, उपाध्यक्ष खिमा गुरुङ, महासचिव धनबहादुर गुरुङ (सुमन), संस्थागत सचिव अर्जुन गाहामगर (सुशान्त) र कोषाध्यक्ष रामकुमारी गुरुङ (रत्ना)लाई सम्मान गरिएको हो । त्यसैगरी, सदस्यहरू मनलाल गुरुङ (मणि), चेतबहादुर थापामगर (प्रवीण), सुरज थापामगरलाई सम्मान गरिएको थियो ।

महिला उपाध्यक्ष सूर्यकुमारी महतो, संगठन सचिव विजय रानामगरलगायतका अन्य सदस्य भने कास्की बाहिर भएकाले सम्मान कार्यक्रममा सहभागी हुन सकेनन् । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ “मिलन”ले मिलन डी.जी. र फोनिज, गण्डकीबीचमा सधैं आत्मीय सम्बन्ध रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा फोनिज, गण्डकी प्रदेशको नवनिर्वाचित नेतृत्वलाई गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.की संरक्षक एवं वरिष्ठ समाजसेवी सावित्रीकुमारी गुरुङले सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेशसभा सदस्य विष्टले समाजसेवी दुर्गा गुरुङ “मिलन”ले विभिन्न संघसंस्थाको स्थापना गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । समाजसेवी गुरुङजस्ता धेरै व्यक्तित्व समाजमा जन्मिनुपर्ने धारणा राख्दै प्रदेश सांसद् विष्टले अरुले यस्तो ग¥यो भन्दा पनि आफ्नो अधिकार र पहिचानका लागि आफैं जाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

आदिवासी जनजाति समुदायको पहिचान र अधिकारको पक्षमा आदिवासी जनजाति पत्रकारले कलम चलाउनुपर्ने बताउँदै उहाँले पत्रकारितामार्फत् सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

फोनिज, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष रूद्रबहादुर श्रीसमगरले समाजसेवाको क्षेत्रमा दुर्गा गुरुङ “मिलन” एउटा पर्यायवाची नाम बनेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद र चलचित्रका माध्यमबाट उहाँले आफूलाई समाजप्रति समर्पित गर्नुभएको भनाइ राख्नुभयो ।

आफू हङकङमा रहेर पनि समाजसेवी गुरुङले जन्मभूमिका लागि निरन्तर सहयोग गर्दै आउनुभएको भन्दै अध्यक्ष श्रीसमगरले फोनिज, गण्डकी प्रदेश र समाजसेवी गुरुङका बीचमा सधैं प्रगाढ र आत्मीय सम्बन्ध कायम रहने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले बधाई र सम्मानका लागि मिलन डी.जी. इन्टरनेशनल प्रा.लि. र समाजसेवी गुरुङप्रति धन्यवाद समेत दिनुभयो ।

मिलन फाउण्डेशन नेपालकी कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङले फोनिज, गण्डकी प्रदेशको नवनिर्वाचित टिमलाई बधाई दिन पाउँदा ज्यादै खुशी लागेको बताउनुभयो । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.की संरक्षक सावित्रीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बालकाशी गुरुङले गर्नुभएको थियो ।

२५ फाल्गुन २०७८, बुधबार ०७:३९ मा प्रकाशित
Nabintech