पोखरा । लामो समयको प्रतिक्षापछि नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार सञ्चालनमा आउने भएको छ ।
पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार फागुन ६ गते सफ्ट ओपनिङ गरी व्यावसायिकसञ्चालनमा आउने भएको हो ।
फेवातालको किनार भागबाट सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउन लागेकोअन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले गुरुकुल खबरलाई जानकारी दिए ।
‘कोभिड महामारीले सिर्जित विविध समस्याका कारण सञ्चालन मिति पटक पटक सर्दै आएको भए पनि अब सञ्चालन मिति ६ गतेलाईफिक्स भएको छ ।’ निर्देशक त्रिपाठीले भने ।
कोभिड १९ का कारण केवलकार संचालनमा केही ढिलाई भए पनि अब सेवाग्राहीको सेवाकालागि आफुहरु तयार भईसकेको केवलकारका महाप्रबन्धक दिनेश पौड्यालले बताए । ‘पोखरेलीको प्रतिक्षाको घडी अब सकिएको छ’ महाप्रबन्धक पौड्यालले भने‘’
मेकानिकल ईन्जिनियर चिफ डिएन कायस्थले प्राविधिक पक्षका बारेमा जानकारी दिदै जापानको ‘निप्पन केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको बताए ।
केवलकारबाट फेवातालसंगै सराङकोटबाट सूर्योदय, सूर्यास्त तथा हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्न सकिन्छ ।केबलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप रहनेछन् ।
सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर दुरी रहेको र उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिने कम्पनीले जनाएको छ ।केबलकारमा ८ जनाको सिट क्षमता रहेको छ ,१७ वटा गुण्डला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गुण्डला जडान गरिएको छ ।
पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केवलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको कम्पनीले जनाएको छ । शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुले गर्दा निर्माण लागत बढेको बताईन्छ । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।
कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।