पोखरा । अब हुने स्थानीय तहमा नेपाली कांग्रेसको उपस्थिती बलियो बनाउन हरेक तह र तप्काबाट कांग्रेस कार्यकर्ता एकजुट भई लाग्नु पर्ने आवश्यकता एक कार्यक्रमका वक्ताले औल्याएका छन् ।
पोखरामा आयोजित नेपाली कांग्रेस कास्की क्षेत्र नं २, प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) को पदस्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले सो आवश्यकता औल्याएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले स्थानीय चुनावमा सामाजिक प्रतिष्ठा भएको र क्रियाशिल व्यक्तिलाई उमेद्वार बनाउनु पर्ने बताए । पार्टीको साख जोगाउन आन्तरिक रीस र द्वेसलाई त्यागेर लाग्नु पर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका कानुन तथा संचार मन्त्री विन्दुकुमार थापाले स्थानीय निर्वाचनको संघारमा निर्वाचनमुखी बन्न र प्रत्येक टोल टोलमा चुनावमय वातावरणको सिर्जना गर्न सुझाव दिए । ‘चुनावमय वातावरणको सिर्जना गर्न तर्फ लागौ, जीत सुनिश्चितता गरौ ।’ मन्त्री थापाले भने ।
कार्यक्रममा प्रदेशका भौतिक तथा पुर्वाधार मन्त्री कुमार खड्काले अबको स्थानीय निर्वाचनमा कांग्रेस एकलौटी रुपमा स्थापित हुनु पर्नेमा जोड दिए । ‘अबको स्थानीय तहमा कांग्रेसको उपस्थिती बलियो हुनु पर्छ ‘ मन्त्री खड्काले भने ‘केन्द्रिय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टी छ भनेर मात्र हुदैन, तल्लो तहमा बलियो हुनुपर्छ ।’ पार्टीको आन्तरिक चुनावमा भएका प्रतिष्पर्धालाई द्वेशको रुपमा लिएर अगाडी नबढ्न मन्त्री खड्काले सबैसंग आग्रह गरे ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले सबैले स्थानीय निकायको निर्वाचनको कुरा गरिरहदा आफु कति ईमान्दार छौ भन्ने समिक्षा गर्नु पर्ने आवश्यकता औल्याए । ‘मेयरको चुनाव हामीले जित्न सकेनौ भने हामीले कहिले जित्न सक्दैनौ ।’ सभापति बरालले भने ‘विगतको कथा सुनाएर अबको समयमा कसैले चुनाव जित्न सक्दैन ।’ नयां दृष्टिकोण, नयां योजना र नयां रणनितीले मात्रै पार्टी बलियो हुन्छ र स्थानीय निर्वाचनमा विजय सुनिश्चित गर्न सकिन्छ’ सभापति बरालले स्पष्ट परे । ‘निश्चितता र क्रियाशिलताका आधारमा उमेद्वार छनौट गर्नुस्, विजय निश्चित छ ‘ उनको दाबी थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पोखरा महानगरका सभापति सुरेन्द्र बिजुक्छेले पार्टीको आन्तरिक निर्वाचनमा भएका हार जीतलाई एकातिर थाती राखी एकतामा बाधिएर अघि बढ्नु पर्नेमा जोड दिए । ‘अबको स्थानीय निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनु पर्छ’ सभापति बिजुक्छेले भने ‘आन्तरिक विवाद र असन्तुष्टिलाई बिर्सिएर एक भई हिड्नुको विकल्प छैन ।’
महाधिवेशन प्रतिनिधि विरेन्द्रनारायण विजुक्छेले १४औ महाधिवेसनबाट नयां र जोसिलो युवा व्यक्तित्वहरुको सहभागिता पार्टीमा भएकोले कांग्रेसमा रुपान्तरणको किरण देखिएको बताए । ‘युवा र राम्रो भिजन भएका व्यक्तिहरुको प्रतिनिधित्वले अबको स्थानीय निर्वाचनमा कांग्रेसको जीत सुनिश्चित देखिएको छ ।’
पदस्थापना कार्यक्रममा प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) का सभापति दिपेन्द्र मर्सानीले समितिलाई चुस्त बनाउन संगठन सुदृढीकरण, सामाजिक रुपान्तरण, समावेशिता लगायतको कार्ययोजना एवम् खाका प्रस्तुत गरेका थिए । उनले गलत प्रवृत्तिका विरुद्द लागेर पार्टीको हित विपरीत लाग्नेलाई कारवाही गर्नु पर्ने सुझाव समेत दिए । आसन र भाषणमा मात्रै ध्यान केन्द्रित नगरी नेतृत्व तहका व्यक्तिहरु कार्यकर्ता तथा जनमुखी बन्नु पर्ने बताउदै सबै सुख दुखमा साथ दिने कांग्रेस बन्नु पर्ने बताए ।
सभापति दिपेन्द्र मर्सानीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश प्रवक्ता माधव बास्तोला, महाधिवेशन प्रतिनिधि तीर्थकुमारी गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, जनसम्पर्क समिति बेल्जियमका सभापति तथा मगासमिति सदस्य पूर्ण तिमिल्सिना, वडा नं ९ का वडा ईकाई सभापति शिवराज बांस्तोला, प्रदेश सभा क्षेत्रीय कार्यसमिति (ख) का उपसभापति सरिता पराजुली र सचिव सिरोज बास्तोलालगायतले अब हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सबै सक्रिय हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा महामानव विपी कोईरालाको तस्विर एवम् व्याच प्रदान गरी पदस्थापना गरिएको थियो ।