पोखरा, अघिल्लो पांच बर्षसम्म विभिन्न कारणले हुन नसकेको नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप प्रतियोगिता यस बर्ष पनि बर्षाका कारण प्रभावित हुन पुगेको छ बिगतमा हरेक बर्ष नियमित रुपमा हुँदै आएको उक्त प्रतियोगिता अघिल्लो पांच बर्ष हुन नसकेको भएपनि यस बर्ष आयोजित २१ औं शृंखलाको नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप प्रतियोगिता गत बिहिबारदेखि शुरु भएको थियो बिहिबार र शुक्रबार दुई दिनसम्म प्रतियोगिता संचालन भएपनि शनिबार अर्थात अन्तिम दिन बर्षाको कारण प्रतियोगिता प्रभावित हुन् पुगेको प्रतियोगिताका संयोजक सुनीलबहादुर भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए।
भट्टराईका अनुसार शुक्रबार साँझदेखि परेको अविरल वर्षाले शनिबार तय गरिएका प्रतिस्पर्धा अन्तर्गतका उडानहरुलाई निरन्तरता दिन नसकेपछि आयोजकले अघिल्ला दिनका खेल र अभ्यास उडानका आधारमा विजेता घोषणा गरेर पुरस्कार प्रदान गरेको छ । सोहि अनुसार पुरुषतर्फ भारतका अक्षय कुमार पहिलो भएका छन् । चीनका झोउ चेन दोस्रो र भारतकै इमान रुम्टेल तेस्रो स्थान हासिल गर्न सफल भए । विजेताहरूले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । महिलातर्फ चीनकी कोङ सियाङ यान प्रथम भइन् । नेपालकी दुर्गामाया गुरुङले दोस्रो स्थान सुरक्षित गरिन् भने भारतकी श्रेयसी तामाङ तेस्रो भइन् । उनीहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए ।
समूहगत तर्फ टिम फ्लाई भारकाला पहिलो भयो, जसमा राहुल राई, अक्षय कुमार, मोहन सिंह र मनिषा उप्रेती थिए । टिम इन्डो–नेपाल दोस्रो भयो । यहाँ सोनम लदाखी, अर्जुन जलारी, कृष्ण बहादुर क्षेत्री र गोपाल ठाकुर थिए । त्यसैगरी टिम नेपाल तेस्रो भयो । यहाँ विष्णु तिमिल्सिना, सुमन जंग थापा, रोशन बस्नेत र युवराज सुनार थिए । समूहगत विजेताहरूले क्रमश ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको आयोजक संस्था नेपाल हवाई खेलकुद संघ (ना) का अध्यक्ष अनिल केसीले वर्षाले केही बाधा पुगेको भएपनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए । ‘ बिगतमा संचालन भएर रोकिन पुगेको र पाँच वर्षपछि फेरी भएको यो प्रतियोगिताले पोखराको साहसिक पर्यटनलाई विश्वमा फेरि एकपटक चिनाउन मद्दत गरेको उनको भनाई थियो । प्रतियोगितामा ५ देशका ६२ पाइलटहरू (५२ पुरुष र १० महिला) सहभागी थिए । जसमा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
बिहीबारदेखि सुरु भएको यो पुरुष, महिला तथा समूहगत प्रतियोगिता शनिबार सम्पन्न हुनुपर्ने तालिका थियो तर शुक्रबार अपराह्नदेखि नै प्रतिकुल मौसमका कारण खेल सञ्चालन गर्न कठिन भएको थियो । प्याराग्लाइडिङका लागि घामको ताप र हावाको चाप दुवै अनुकूल हुनुपर्नेमा वर्षा र बादलका कारण सुरक्षा जोखिम बढेपछि खेल स्थगित गरिएको आयोजकको भनाई छ । शनिबार अपराहन ५ बजेसम्म पनि मौसममा सुधार नआएपछि आयोजकले नै ब्याकअप तथ्यांक र बुधबार गरिएको अभ्यास खेलको अंकलाई पनि मुख्य प्रतिस्पर्धामा जोडेर प्रथम, द्वितीय र तृतीय स्थानको घोषणा गरि पुरस्कार प्रदान गरेको बताइएको छ ।
















