दोलखा । दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल रिङ रेस्लिङ एसोसियसनले शुक्रबार पत्रकार भेटघाट गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएका छन् ।
प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजना स्थल पुगेका छन् । सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल सहितका जिल्लाका अधिकारीले फुल माला सहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा पूर्व पर्यटन मन्त्री पोखरेल सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित खड्का, जिल्ला उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष सुन्दर कार्की, विभिन्न खेलकुद संघका पदाधिकारी उपस्थित थिए । खेलाडीको स्वागत गर्दै पूर्व पर्यटन मन्त्री पोखरेलले अन्तराष्ट्रिय स्तरमा लोकप्रिय खेलको आयोजनाबाट जिल्लाको खेलकुदसँगै पर्यटन विकासमा समेत टेवा पुग्ने बताए ।
खेलकुदसँगै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना हुन लागेको रेस्लिङ शनिबार दिउँसो सञ्चालन हुदैछ । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट रेस्लरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगिताका लागि मञ्चदेखि रिङ व्यवस्थापन लगायतका सम्पुर्ण काम सकिएको बताईन् । ‘मञ्च व्यवस्थापनदेखि रिङ व्यवस्थापनको काम सकिएको छ । सबै खेलाडी कार्यक्रम स्थलसम्म आईपुगेका छन् । जिल्लावासीले खेलाडी र यस खेललाई न्यायो स्वागत गर्नुभएको छ ’ महासचिव श्रेष्ठले भनिन् ।
प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, चटान, द युव, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष रेस्लरले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथ मेडल, प्रमाणपत्र प्राप्त गर्ने संघकी महासचिव श्रेष्ठले बताईन् ।