नेपाली कांग्रेस आज फेरि एकपटक गम्भीर बहसको केन्द्रमा आइपुगेको छ। “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित चुनावमा होमिएको पार्टीले देशभर अपेक्षा बिपरित कमजोर नतिजा भोग्नुपर्दा प्रश्न उठ्नु स्वाभाविक हो । के साँच्चै कांग्रेस बदलिएको हो, कि केवल नारा मात्र बदलिएको हो ?
बिपी कोइरालाले स्थापना गरेको पार्टीमा उहाँकै परिवारका सदस्यले टिकट नपाउनु केवल एउटा व्यक्तिगत विषय होइन, यो पार्टीको निर्णय प्रक्रिया, प्राथमिकता र मूल्य प्रणालीसँग जोडिएको प्रश्न हो । आजको राजनीतिमा वंशभन्दा क्षमता महत्त्वपूर्ण हो भन्ने तर्क सही हुन सक्छ, तर निर्णय पारदर्शी र न्यायोचित देखिनु अझ महत्त्वपूर्ण हुन्छ।
अर्कोतर्फ, शेरबहादुर देउवाजस्तो अनुभवी नेता, जसले डडेलधुरा बाट कहिल्यै हार व्यहोर्नु परेन, उहाँलाई टिकट नदिनु केवल एउटा सामान्य निर्णय होइन । यो एउटा ठूलो राजनीतिक सन्देश हो। यदि उहाँलाई अन्तिमपटक चुनाव लड्न दिइएको भए, पार्टीभित्र एकताको सन्देश जाने थियो, साथै गगन थापा ज्यूको नेतृत्व झन् परिपक्व र समावेशी देखिन्थ्यो ।
तर यहाँ प्रश्न उठ्छ ? यो निर्णय दूरदर्शिता थियो कि सम्भावित शक्ति सन्तुलनको डर ? ठूलो नेता त्यो हो जसले प्रतिस्पर्धाबाट होइन, सबैलाई समेटेर अघि बढ्न सक्छ।
चुनावी परिणामले अर्को यथार्थ पनि देखाएको छ। सर्लाही–४ जस्तो क्षेत्रमा मत बढ्दा पनि जित हासिल हुन सकेन भने, केवल “अन्तरघात” लाई दोष दिनु कत्तिको उचित हुन्छ? यसले देखाउँछ कि समस्या गहिरो छ ! संगठन, रणनीति र जनविश्वास सबैमा सुधार आवश्यक छ।
त्यसैगरी, प्रचण्डले सुरक्षित क्षेत्र रोजेर आफ्नो राजनीतिक अस्तित्व जोगाएको उदाहरण पनि हामीसँग छ। त्यस सन्दर्भमा, कांग्रेस नेतृत्वले जोखिम लिएको हो कि रणनीतिक कमजोरी देखाएको हो ? यो मूल्यांकनको विषय बन्नैपर्छ । आज सबैभन्दा आवश्यक कुरा के हो भने – जिम्मेवारी ।
चुनावी हारपछि नेतृत्वले जिम्मेवारी लिनुपर्छ, पार्टीभित्र निष्पक्ष समीक्षा हुनुपर्छ, र कमजोरीहरूलाई इमानदारीपूर्वक स्वीकार्नुपर्छ। केवल बहाना खोजेर वा दोषारोपण गरेर पार्टी बलियो हुँदैन।
अन्ततः कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ। त्यसैले आलोचना विरोध होइन, सुधारको आधार हो। अब कांग्रेसले नारा होइन, व्यवहारमा परिवर्तन गर्नुपर्ने समय आएको छ ।
- विप्लव हमाल, नेपाल तरूण दलका केन्द्रीय सदस्य हुन ।














