Play

नेपालकी आमा १ सय १९ बर्षिया बाटुली

गुरुकुल खबर


नुवाकोटको ककनी गाउँपालिका – ८, थानसिंङकी बाटुली लामिछानेले १ सय १९ बर्षमा टेकेकी छिन । 

चाउरी परेको मुहार । फुले सेताम्ये बनेका कपाल । दाँत झरेर थोते गिजाँ । मोटो कुप्री परेको ज्यान । सार्वजनिक कार्यक्रमहरुमा व्हीलचेयरमा हँसिलो मुहारमा देखिने यी बृद्धालाई देख्दा जो कोहिको मनमा एक पटक जिज्ञासा जन्मन्छ यी हजुरआमाको उमेर कति होला ? धेरैले नव्वे, सय बर्ष पुगेको अनुमान लगाएपनि बाला उमेरले झण्डै ६ बीस अर्थात १ सय १९ बर्षमा टेकिन भन्दा सबै जना आश्चर्यमा पर्छन । 

सिन्धुपाल्चोकको गिरानीचौरमा आमा देवीकुमारी तिवारीको कोखवाट विसं १९५९ सालमा बाटुली जन्मिएकी थिईन । उनको पिताको नाम जयनारायण तिवारी हो । बाटुलीको विवाह नुवाकोटका छविलाल लामिछानेसँग भएको थियो । बाटुलीका पाँच सन्तानमध्ये अहिले कान्छा छोरा मात्रै जीवित छन । उनका छोरा नेत्रप्रसाद समेत ८१ बर्ष पुगिसकेका छन । वृद्धा आमा बाटुलीको रेखदेख उनै नेत्रप्रसाद र श्रीमति ईश्वरीले गर्दै आएका छन । 

बाटुलीको दाँतहरु झरिसकेकोले साहे खानेकुरा खान सक्दिनन । दूध, गिलो भात, हर्लिक्स, विस्कुट, लिटो र नरम खानेकुरा खान्छिन । दिसापिसाव गर्न वुहारीले नै सहारा दिएर लाने र ल्याउने गर्छिन । कहिले कांहि सामान्य विरामी पर्ने गरेपनि वाटुलीमा अहिलेसम्म कुनैपनि गम्भिर रोग नदेखिएको छोरा नेत्रप्रसादले वताए । बाटुलीलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो । लामिछानेको नाम सबैभन्दा बढि बाँच्ने बृद्धाको रुपमा विश्व रेकर्डमा लेखाउन स्थानीयस्तरमा पहल गरेपनि देशको केन्द्रिय शाषन सत्तामा बसेकाहरुले खासै चासो दिएको पाईदैन ।

यी बृद्धा नागरिक अहिले घरपरिवारको मात्रै नभएर वडा, गाउँपालिका, जिल्ला, नेपाल हुदै विश्वकै बृद्धा आमा बन्न पुगेकी छिन । दीर्घायू जीवन बाँचेर चर्चित बनेकी बाटुलीको सम्मानमा ककनी गाउँपालिका र त्यस क्षेत्रका सांसदहरुले विविध काम गरेका छन । बाटुलीको स्वास्थ्य, हेरचाह, सुरक्षा र विश्व रेकर्ड कायम गराउन बाला फाउण्डेसन खोलिएको छ । बाकोटको क्षेत्र नं १ ( ख ) बाट निर्बाचित नेकपाका प्रदेश सांसद बद्री मैनालीले बाटुली लामिछाने बाला फाउण्डेसन बृद्धाश्रम भवन बनाउन १० लाख सहयोग गरेका छन । भवन बनाउन स्थानीय छिमेकी देवकी धितालले आठ आना जग्गा दान दिएकी छिन ।

बालकुमारी फाउण्डेसनका अध्यक्ष भवानी दाहालले १ सय १९ बर्षिया बाटुली नेपालको मात्रै नभएर विश्वकै जेष्ठ आमा भएकोले विश्व रेकर्डमा नाम लेखाएर नेपालको पहिचान फराकिलो बनाउने कुरामा राज्यले तत्काल ध्यान दिनुपर्ने वताए । हुनपनि अहिलेसम्म विश्वमै सवैभन्दा धेरै बर्षसम्म बाँच्ने महिला भनेर जापानकी १ सय १८ बर्षिया जापानी नागरिक काने तानाकाको नाम विश्व रेकर्डमा दर्ज छ । तर काने तानकालाई उछिनेर बाटुली १ सय १९ बर्षमा टेकेकी छिन ।

१२ कार्तिक २०७८, शुक्रबार १२:५८ मा प्रकाशित
Nabintech