(२०७९ मंसिर चार गते मुलुकमा आम निर्वाचन सम्पन्न भयो । निर्वाचनको सम्पूर्ण मत परिणाम प्राप्त भइसकेको छ । सार्वजनिक मत परिणाम अनुसार कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गर्न सकेनन् । जसका कारण आगामी सरकार कुन दलको नेतृत्वमा बन्छ भन्ने कौतुहलता बढेको छ । सरकार गठनका लागि गणितीय खेल सुरु भइरहेको छ । सरकारका चुनौती, जनमतको परिणामले निर्देश गरेको कार्यभार र व्यवस्थापन, नयाँ बन्ने सरकारप्रति शक्ति राष्ट्रहरु र छिमेकी मुलुकको चासो र सुरक्षालगायतका विषयमा केन्द्रित रहेर प्राध्यापक एवं वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग गरेको कुराकानीको सम्पादित अंश : सम्पादक)
० आम निर्वाचनको चुनावी परिणामले ठुला दलप्रति जनतामा वितृष्णा रहेको देखियो, त्यसमा पनि गठबन्धन गरेर गएका दल प्रति अझ जनविश्वास र प्रभाव कम भएको पाइयो । तपाईले चाहिं चुनावी परिणामलाई कसरी विश्लेषण गरिरहनु भएको छ ?
–पहिलो कुरा के हो भने अहिले नेपाली काँग्रेसको नेतृत्वमा बनेको पाँच दलीय चुनावी गठबन्धन सिद्धान्तविहीन थियोे । यसमा समावेश भएका दलको समान विचार र सिद्धान्त थिएन । उनीहरुको एक सूत्रीय लक्ष्य भनेको सत्तामा पुग्ने मात्र हो । अर्को भनेको सिद्धान्तविहीन गठबन्धनको आडमा एमालेलाई कमजोर बनाउनु थियो । यी दुईटा कुरा भन्दा सत्ता गठबन्धनको अन्य कुनै दश र जनताको वर्तमान र भविष्यको नयाँ एजेण्डा नै थिएन ।
० त्यो अवस्थामा त चुनावी गठबन्धन सिद्धान्तहीन नै भयो होइन ?
–एमालेले पनि यी पाँचदलीय गठबन्धनलाई चुनौती दिनका लागि राप्रपादेखि कमल थापासँगसम्म तालमेल ग¥यो । त्यो पनि गैर सिद्धान्त र गैर वैचारिक थियो । जसपासँग एमाले रुष्ट थियो र छ । खासगरी नागरिकताको मुद्दामा । तर, पनि बाध्य भएर जसपा एमालेसँग जोडियो । यस अर्थमा हेर्दा चुनावी गठबन्धन सिद्धान्तविहीन, तर सत्तामा पुग्नको लागि गरिएको थियो । चुनावमा जुन जुन पार्टी जो जोसँग सहभागी भए, चाहे ती जितेका हुन् वा हारेका । सबैले सत्तालाई केन्द्रमा राखेर विचारलाई विभत्स तरिकाले विकृत बनाउने काम गरेका छन । यसमा व्यक्ति भन्दा प्रणाली दोषी रहेको छ ।
० अहिलेको चुनावी गठबन्धनको मकसद हेर्दा सिद्धान्त केही पनि होइन भन्ने देखियो नि हैन ?
–गठबन्धनको मूल उद्देश्य भनेको सिद्धान्तलाई ध्वस्त पार्ने र सत्तामा जाने मात्र हो । यही आधारमा चुनाव भयो । आधार जस्तो छ, परिणाम पनि त्यस्तै नै आउने हो । परिणामको आधारमा सरकार बन्नु प¥यो । यो वहस निरन्तर चलिरहन्छ । यो वहस अभिलेखीकरण भइसकेको छ ।
० अब गठन हुने सरकार र संसदको भूमिका कस्तो होला भन्ने कल्पना गर्न सकिन्छ ?
–अबको संसद खिचडी जस्तै हुन्छ । साना राजनीतिक दल च्याँखे थापेर बसेका छन् । अब उनीहरुको अनेक बार्गेनिङ सुरु हुन्छ । एक सिटदेखि १८ सिटसम्म प्रत्यक्षमा ल्याउने राजनीतिक दल छन्् । यसमा समानुपातिक सिट पनि जोडिन्छ । त्यसले सिट संख्या बढ्छ नै । यो गणित नेपाली काँग्रेस र एमालेका बिचमा पनि हुन्छ । बाँकीको भूमिका आफूलाई कताबाट बढी फाइदा, शुभलाभ हुनसक्छ, त्यतातिर जाने हुन्छ । यो स्वभाविक पनि हो । आम चुनाव सैद्धान्तिक आधारमा भएको भए पो सिद्धान्तको कुरा आउछ । अब जहाँ बढी फाइदा हुन्छ, त्यही जाने उनीहरुको रणनीति रहेको देखिन्छ । यसको अर्थ के हो भने आउने सरकार फाइदा र वेफाइदाको अभ्यास र लेनदेनमा रहने छ ।
० यसबाट देशमा पर्नसक्ने दूरगामी असर रोक्नका लागि दलहरुले चाल्नुपर्ने कदमहरु के हुनसक्छन् ?
–यदि, सांसदको क्रयविक्रयको खेललाई रोक्ने हो र राष्ट्र–जनताका पक्षमा काम गर्ने हो भने अहिले बनेका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर पाँच वर्ष सरकार चलाउनु पर्छ । यति बेला नेपाली काँग्रेस र एमाले मिल्नु नै सबैभन्दा उत्तम देखिन्छ । अहिलेको निर्वाचन प्रणालीलाई बलियो बनाउने हो भने योभन्दा उत्तम अरु विकल्प हुन सक्दैन । यसले अहिलेको व्यवस्थालाई संंस्थागत बनाउन र देशलाई सवल बनाउन योगदान गर्छ ।
० नेपाली काँग्रेस निर्वाचनबाट ठुलो पार्टी भएपनि लोकप्रिय मतमा दोश्रो हुनुको कारण के ठान्नु हुन्छ ?
–प्रत्यक्षतर्फ नेपाली काँग्रेस ठुलो पार्टी बनेको छ । तर, लोकप्रिय मत एमालेले बढी प्राप्त गरेको छ । यहाँ एकथरिको भनाइ के छ भने लोकतन्त्र बलियो बनाउन सशक्त प्रतिपक्ष चाहिन्छ भन्ने छ । ठुला पार्टी मिलेर काम गर्नु भनेको पनि एक किसिमले सशक्त प्रतिपक्ष नै हो । यहाँ चेक एण्ड ब्यालेन्स पनि हुन्छ । अरु बाँकीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने कुरा त छँदैछ । अहिले क्रयविक्रयको खेल रोक्ने हो भने योभन्दा उपयुक्त उपाय अरु हुनै सक्दैन ।
० काँग्रेस–एमाले मिलेर सरकार बनाउने संभावना छ त ?
–यदि एमाले र काँग्रेस नमिल्ने हो भने दुई वटा कुरा गर्नुपर्छ । साना दलले गर्ने क्रयविक्रयको खेललाई रोक्नु पर्छ । यहाँ क्रयविक्रय र बार्गेनिङको खेल बन्द गर्नुपर्छ । यदि तिमीहरुको लक्ष्य बार्गेनिङ मात्र हो भने तिमीहरु हामीसँग जोडिन नआउ भन्न सक्नुपर्छ । यसमा कुनै पनि दलले म प्रधानमन्त्री हुन्छु भनेर च्याँखे थाप्नु पनि हुँदैन । यो रजनीतिक सहमतिका आधारमा हुनुपर्छ । काँग्रेसले पनि एमालेमा जालान भनेर डराउनु हुँदैन । एमालेले पनि काँग्रेससँग मिल्छन् कि भनेर चासो राख्नु पर्दैन । यसो भयो भने मात्र सही तरिकाले काम गर्न सक्छ ।
० युवा नेताहरुले पुरानो पुस्तालाई विस्थापित गर्नुपर्छ भन्ने माग अगाडि सारेका छन, यो तत्काल संभव छ ?
–यो हाँस्यास्पद कुरा हो । अर्को अर्थमा भन्ने हो भने यो तुलनात्मक कुरा हो । हामीले बृद्ध र परिपक्व भनेर जसलाई भनिरहेका छौँ, त्यो कसको आँखामा हो भन्ने बुझ्न जरुरी छ । अहिले नेपाली काँग्रेसमा संसदमा सबैभन्दा कान्छो २९ वर्ष उमेरका योगेश गौचन मनाङबाट निर्वाचित भएर आएका छन्् । उनको आँखामा गगन थापा र विश्व प्रकाश शर्मा बुढा भए । अब गगन र विश्व प्रकाशको आँखामा शशांक, शेखर, विमलेन्द्र र प्रकाशमानहरु बुढा हुन् । यी व्यक्तिको आँखामा रामचन्द्र, शेरबहादुर बुढा हुन् । यो भ्रम छर्ने काम मात्रै हो ।
० यो खेलको अर्थ के हो नि ?
–यसको अर्थ के हो भने आफूभन्दा माथिकालाई कित्ताकाट गरेर सिध्याउने र तलकालाई लोभ देखाउने रहेको बुझिन्छ । बुढालाई हामीले घचेट्यांै, अब तिमीहरुलाई चाडै तान्छौँ । त्यसका लागि तिमीहरुले हामीलाई समर्थन गर भन्ने भ्रम मात्र हो । यो भ्रमबाट पत्रकार र अरु समाज पनि मुक्त हुनुपर्छ । अहिले के भएको छ भने शेरबहादुर, केपी ओली र प्रचण्डले छोड्ने वित्तिकै यो मुलुक सुनौलो यात्रामा अघि बढ्छ भन्ने अनुमान गरिदैछ । यो सत्य होइन । युवा सत्तामा पुग्ने वित्तिकै न नयाँ विहानी आउँछ, न त समृद्धि र चेतना नै । कतिलाई लागेको छ युवा भए भ्रष्टाचार रोकिन्छ र मुलुकमा सुशासन कायम हुन्छ । यो एउटा भ्रम मात्र हो । हामी यसबाट बाहिर आउनु पर्छ ।
० लोकतान्त्रिक अभियान कमजोर बन्दै गएको देखिन्छ, यसलाई जोगाउनका लागि दलहरुले गर्नुपर्ने चाहिं के हो ?
–जन आन्दोलन २०६२÷६३ मा हामीले लोकतन्त्र जिन्दावादको नारा लगाउँदै देशभरी क्याम्पेनिङ ग¥यौं । त्यसवेला म पनि कुनै संस्थामा थिए । दक्षिण एशियाली पत्रकार संगठन साफमा गोपाल थपलिया त्यसको अध्यक्ष हुनुहुन्थ्यो । यसमा हामी सबै मिलेर यो अभियानलाई उठायौँ । त्यही विषयलाई नरहरि आचार्यले समात्नु भयो । लोकतान्त्रिक गणतन्त्र बारे कृति प्रकाशित गर्नु भयो । बहस भयो । त्यो वेला हामीले उठाएको विषय लोकतान्त्रिक गणतन्त्र भयो भने के हुन्छ भनेर सोधेका थियौँ । त्यसले सामन्ती सत्ताको पतन हुन्छ । जमिनदारी प्रथा सकिन्छ । शोषणबाट समाज मुक्त हुन्छ भन्ने थियो । अर्को भनेको जनता सार्वभौम हुने कुरा थियो । हामी आफैंले बनाएको संविधान हुन्छ । आदि इत्यादि भनियो । अहिले के भएको छ ? हामीले देखिरहेका छौँ । पन्ध्र वर्ष नाघिसकेको छ । अब यो बिस वर्ष पुग्ने तयारीमा लागेको छ । कता जानु पर्ने मुलुक कतातिर गइरहेको छ ?
० यसमा मुख्य जड र समस्या के ठान्नु हुन्छ ?
–अहिले नेपाली नागरिक खै ! स्वतन्त्र भए ? उनीहरुको सार्वभौमता खै ? हामीले अहंकारी भएर घोषणा गरेको त्यो कुरा अहिले के भयो ? यसरी हामीले सार्वभौमसत्ता सम्पन्न भनिएका नागरिकलाई अहिलेका पार्टीले तिमीहरु कामदार हौँ, मालिक हामी हौँ भनेर मतदान गर्न लगाए । कसैले यो एरिया जति एमालेको, यो क्षेत्र राप्रपाको ठेक्का पनि भने । यो क्षेत्र र यहाँ बसोवास गर्ने जनता माओवादीको ठेक्काभित्र रहेको दावी गरे । अर्को काँग्रेसको ठेक्का घोषित । यो क्षेत्र लोसपा र जसपाको क्षेत्र भन्न पुगे । अर्को क्षेत्र समाजवादीको ठेक्का भयो । यसरी मतदाताको सार्वभौम अधिकार खोस्न पाइन्छ ? यो कित्ताकाट मात्र होइन अंशबण्डा नै हो । कित्ताकाटमा चिरा मात्र बनाइन्छ । अंशवण्डामा तमासुकसमेत गराइन्छ । पार्टी नेतृत्वले तमासुक गरेर सार्वभौम मतदाता अमुक कुनै पार्टीलाई दिन पाइन्छ ?
० दलहरुले गठबन्धनको नाममा चुनावलाई विकृत बनाएको तपाईको भनाई हो ?
–यो कित्ताकाट जमिनदारी र सामन्ती प्रथा भन्दा अरु केही हुन सक्दैन । यसको अर्थ के हो भने हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रमा पनि जमिनदारी प्रथा रहिरहेको छ । यसले नागरिक, मतदाता सार्वभौम होइनन्, हामी नेता सार्वभौम हौँ भन्ने कुरा स्पष्ट भएको छ । यसको अर्थ हामीले जे भन्छौँ तिमीहरुले त्यो मान्नुपर्छ भन्ने तानाशाही लादेको देखियो । नेताले भनेको चिन्ह र उमेदवारलाई मतदान गर्नुपर्ने बाध्यात्मक अवस्थालाई लोकतन्त्र मान्न सकिन्न । यहाँ वैचारिक हिसावले भन्नु ठिक हो । तर, माओवादीले काँग्रेसलाई र काँग्रेसले माओवादीलाई भोट माग्नुलाई वैचारिक मान्न सकिन्न ।
० पार्टीले निर्देश गरेको चिन्हमा मतदान नगर्नेलाई कारवाही गर्नेसम्मका कुरा उठेका छन् नि ?
–यो एक प्रकारको धम्की हो । अहिलेको चुनावको सभा र अन्य प्रचारलाई हेर्नुभयो भने रुख भनेको हँसिया हथौडा हो । हँसिया हथौडा भनेको रुख हो भन्ने किसिम र हिसाबले प्रचार गरियो । नागरिक÷मतदाताको विवेकमा जुन किसिमको प्रहार भयो नि, त्यो लोकतन्त्रको मूल्य विरुद्ध हो । मैले जुन सामन्ती, जमिनदारी प्रथाको कुरा गरेँ । त्यो अझैं बाँकी छ भन्ने उदाहरण यस पटकको निर्वाचन हो ।
० भर्खरै उदाएका नयाँ व्यक्ति सत्ताको नेतृत्वमा आएपनि मुलुकको राजनीतिक र देश विकासमा सुधार हुन्छ भन्ने कुरामा तपाईंको विश्वास दखिएन, यसको कारण ?
–कुनै अमुक व्यक्ति वा दलको विरुद्धमा मेरो भनाइ होइन । म व्यक्तिका विरुद्ध बोल्न रुचाउँदिन । मैले बोल्ने भनेको प्रवृत्तिका विरुद्धमा हो । उदाहरणको रुपमा नेपाली काँग्रेस नै लिऊँ । काँग्रेसमा गिरिजाप्रसाद कोइरालासँग सिद्धान्त र सत्ताको बिचको लडाइँ अन्य कार्यकर्ताको भइरह्यो । त्यो सिद्धान्त र शक्तिको लडाइँ थियो । गिरिजा सधैं पावरको कुरा गर्ने, हामी सिद्धान्तको । हामी सिद्धान्तबाट जानुपर्छ र सिद्धान्तले मात्र रुपान्तरण संभव छ भन्ने लाइनमा थियौँ । गिरिजाको सोच शक्ति कब्जा गर्नुपर्छ भन्ने थियो । योभन्दा फरक सोच नै थिएन । सिद्धान्तका कुरा गर्ने अनि सबैलाई पेल्नुपर्छ भन्ने थियो । त्यही अनुसारको लिडुल्को लगाउने काम भएको थियो ।
० खोई त गिरिजाको निधन पछि पनि नेपाली काँग्रेस किन सुध्रिन त सकेन ?
–यसका विरुद्ध प्रतिकात्मक रुपले गणेशमान, कृष्णप्रसादले देउवालाई अगाडि सारे । शेरबहादुरले यही आरोप गिरिजालाई लगाए । अहिले शेरबहादुर कहाँ, कुन सिद्धान्त र सोचमा छन्् ? अहिलेका युवा तन्नेरीले शेरबहादुरलाई यही आरोप लगाएका छन्् । अब आउने युवाले पनि यही गर्छन् । कारण के हो भने यो लिगेसी एक पुस्ताबाट अर्कोमा सर्दै आएको छ । यो चुनौतीपूर्ण छ । यसको अन्त्य गर्न कसैले सक्दैन । यो भनेको व्यक्तिको होइन प्रवृत्तिको पुस्तान्तरण हो । संचार माध्यममा पनि युवाले केही गर्छन् भन्ने भ्रम रहस्यमय तरिकाले छरिएको छ । यस्तो प्रवृत्ति बोकेर परिवर्तन संभव हुँदैहुँदैन ।
० विगतमा रत्नपार्कमा चटकेले देखाउने चटक जस्तै यतिखेर मुलुकको राजनीति भइरहेको छ, निरन्तर शक्ति र सत्तामा रहन खेलिने फोहोरी खेलको अन्त्य कहिले होला ?
–हो, पहिला रत्नपार्कमा औषधि बेच्ने चटकेले एउटा सिसाको बोटलमा औषधि नामको रातोझोल राखेर गानो गोला, टाउको दुख्ने, आँखा पोल्ने, हातगोडा झम्झमाउने औषधि बेचे जस्तै भयो मुलुकको राजनीति चल्दैछ । चटक रमाइलो त हुन्थ्यो तर एउटा झोलले सबै रोगको निदान गर्ने कुरा बेकार थियो । त्यहाँको रमाइलो के हो भने नयाँ आवाज निकालेर बोलेको र डमरुको ध्वनि मिठो हुन्थ्यो । औषधि किन्नेले आठ आना गुमाउथे । रोग उस्तै हुन्थ्यो । त्यो हेर्न र सुन्नमा आनन्द त हुन्छ । तर त्यसले निराकरण गर्न सक्दैन । यो खेल हेर्नमा समय पनि लामो नै बित्थ्यो । तर, समय बितेको पत्तो हुँदैन थियो । कहिलेकाहीँ हाम्रो कक्षा चटक हेरेर नै बित्थ्यो । अहिलेको युवा मोह पनि त्यस्तै हो । यो भ्रम हो ।
० अहिलेको चुनावी परिणामले थप अस्थिरता ल्यायो भनिन्छ, अबको राजनीति कतातिर जाला ?
–यसलाई अस्थिरता ल्यायो भनेर भन्न अलि मिल्दैन । चुनावी परिणाम जरो खराब भएका कारण यो परिणाम पनि त्यस्तै आएको हो । अबमाथि मिलेर देशलाई सही बाटोमा लैजाऊँ भनेर नेतृत्वले सोच्यो भने सही हुन सक्छ । त्यसका लागि सत्ता संघर्षको कुरा त्याग्नु पर्छ । यसले मुलुक र प्रणालीप्रतिको विश्वासनीयताको अन्त्य हुन्छ । परिवर्तनका लागि केही योगदान गर्नुपर्छ । राष्ट्र र जनहितका लागि साना दलले पनि बहुमतका लागि फलानो दललाई समर्थन गर्छौं भन्नुपर्छ । यसमा हामी पाँच वर्षसम्म लेनदेनको कुनै कुरा गर्दैनौँ भन्नु पर्छ । या त ठूला दलले एकदमै नयाँ ऊर्जाका साथ आएको पार्टीलाई सरकार बनाउ हामी समर्थन गर्छौं भन्नुपर्छ ।
० नेपाली काँग्रेसमा युवा नेताहरु निर्वाचित भएर आएका छन, उनीहरुबाट आशा गर्न सकिदैन ?
–भर्खरै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका केही युवा नेताहरु त निर्वाचित भए । तर, उनीहरुको पनि कुनै प्रभाव देखिएन । प्रभाव देखिएको भए समानुपातिकमा काँग्रेसलाई ४० लाख मत आउनु पर्ने हो । गगनले आफू प्रधानमन्त्रीको उम्मेदवार भएको चुनावपूर्व नै घोषणा गरेका थिए । खै त त्यो अनुसारको जनविश्वास ? त्यसैले मैले प्रभाव देखिएन भनेको हुँ ।
० राष्ट्रिय स्वतन्त्र पार्टीले अरु दलको तुलनामा बढी नै प्रगति गरेको र आशा जगाएको देखियो नि होइन ?
–हो, एउटा युवाले नेतृत्व गरेको पार्टीले पाँच महिनामा यो परिणाम ल्याउनु भनेको सुखदायी कुरा हो । यसलाई प्रभावको रुपमा हेर्न र मान्न सकिन्छ । जुन पार्टीको लक्ष्य, सिद्धान्त, विचार र पार्टी संगठन मुलुकभर विस्तार भइसकेको पनि छैन । उम्मेदवार पनि सबै नयाँ छन्् । उनीहरुलाई मतदाताले खासै चिनेका पनि थिएनन् । तर, पनि माओवादी पार्टीको हाराहारीमा सिट आयो । माओवादी २०६३ देखिको राष्ट्रिय पार्टी हो । उसको हाराहारीमा आउनु भनेको सन्देश के हो ? त्यो हामीले बुझ्नु पर्छ । पुराना दल र अनुहारबाट अब केही हुँदैन भन्ने यो संकेत पनि हुन सक्छ । तर, परीक्षण हुन भने बाँकी नै छ ।
० ठुला राजनीतिक दलले त स्वतन्त्र पार्टीको उदयलाई मनपराएको देखिंदैन, सो पार्टीको उदय हुनु भनेको हाम्रा दुई छिमेकी मुलुकका बिचको राजनीतिक सन्तुलन बिग्रनसक्ने आंकल गरिदैछ नि ?
–अँ, मलाई यो कुराले छोयो । यो प्रश्नमा मेरो प्रतिप्रश्न छ । यो कुनै व्यक्ति विशेष लक्षित पनि हैन । नेपालको १८७२ मा सुगौली सन्धि पछिका ठुला राजनीतिक घटना र प्रधानमन्त्री, मन्त्री फेर्ने काममा नेपालका नेताले स्वतन्त्र रुपमा गर्न सक्दैनन् । यो कोही कसैले भन्न सक्ने अवस्थामा पनि छैनन् । अनि मात्र रविलाई हुँदैन भन्न सकिन्छ । यहाँ छलफल गर्न सजिलो छ । राष्ट्रवादी हुन पनि सजिलो छ । यहाँ कुर्सीमा बसेर भन्न सजिलो छ । तर काम गर्न गाह्रो छ । आजको दिनमा नेपालको राजनीति आत्मनिर्भर हुन सकेको छैन । को कहाँ कोसँग उठबसमा छ भन्ने सबै कुरा सबैलाई थाहा भएकै विषय हो । अहिलेका कुनै पनि नेतासँग आफ्नो देशको राजनीतिक निर्णय आफै गर्ने हैसियत छैन ।
० तपाईले माथि निर्वाचन प्रणालीमाथि प्रश्न उठाउनु भएको थियो, निर्वाचनमा भएको यथार्थ खर्च सार्वजनिक भए के होला ?
–चुनावमा भएको खर्च रकम कहाँबाट आयो र कसरी खर्च भयो भन्ने विषयको यथार्थ विवरण कुनै पनि राजनीतिक दल र उमेदवारले पेश गर्नै सक्दैनन् । यो मेरो दावा हो । रविन्द्र मिश्रले मलाई चुनावी खर्च पुग्यो, अब पर्दैन भने । खर्च विवरण पनि उनले पहिला नै बुझाए । चुनावको वेलामा व्यक्ति वा दललाई कति अर्ब रुपैयाँको चन्दा कहाँबाट आयो ? कुन संस्था वा क–कसले सहयोग गरे ? कति सहयोग गरे ? त्यो खर्च कहाँ र कसरी भयो ? र, किन गरियो भन्ने प्रश्न उठनु स्वभाविक हो । यी कुरा पारदर्शी नभएसम्म कसैको कुरा पत्याउनु पर्दैन । यहाँ जनता र मतदातालाई ढाँटेर बेइमानी गरिदैछ । कसैले पनि आफ्नो आम्दानीको सबै स्रोत खुलाएर भन्न सक्दैनन् ।
० काँग्रेसका एकजना नेताले त विगतमा चुनावी खर्चबारे मुख नै खोल्नु परेको थियो नि होइन ?
–नेपाली काँग्रेका पूर्व महामन्त्री डा. शशांक कोइरालाले भनेको एउटा कुरालाई उदाहरण लिऊँ । उनले २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा रु. ८० हजार खर्च गरेको बताएका थिए । २०७० मा रु. ३ करोड खर्च भयो भनेका छन । त्यसैगरी २०७४ सालमा भएको आम निर्वाचनमा रु. ६ करोड खर्च भयो भनेर खुल्ला रुपमा बताएका थिए । यो सार्वजनिक रुपमा भनिएको कुरा हो । मैले त त्यो बेला नै छानविन गर्नुपर्छ भनेको हुँ । यस्तो संवेदनशील विषयलाई निर्वाचन आयोग र सम्पत्ति शुद्धीकरण आयोगले खोजविन गरेर कारवाही गर्नुपर्ने हो । तर, गरेन । यो काँग्रेस–कम्युनिस्टको कुरा होइन सुशासनको कुरा हो ।
० पार्टीभित्र भ्रष्टाचार मौलाएका कारण व्यवस्था कमजोर भएको तर्क धेरैले गर्न थालेका छन्, तपाईंको अनुभव र भोगाइ के छ ?
–हिजो सत्ता निरंकुश भयो भन्ने थियो । अहिलेको अवस्था हे¥यो भने के देशमा सुशासन देख्न सकिन्छ त ? आफूभित्र असहमत हुनेलाई पार्टीमा ठेगान लगाउने त भइरहेकै छ । भ्रष्टाचारको कुरा नै नगरौँ । यो भन्दा ना¨ो र कुरुप हुने अवस्था अब छैन । पार्टीको महाधिवेशन र निर्वाचनलाई हेर्ने हो भने यो कुरा प्रष्ट हुन्छ । मैले पचास वर्ष काँग्रेससँग जोडिएर काम गरें । जेलनेल भोगियो । पत्रकारिता गर्दा धेरै पत्रकारले अनावश्यक दुःख पाए । मैले पनि पाएँ । सत्य के हो भने पात्र फेरिए । तर, भ्रष्ट प्रवृत्ति फेरिएन ।
० मन्त्री गोकुल बाँस्कोटाले ७० करोडको आरोप लागेपछि छानविन गर्न सहजता हुने भन्दै नैतिकताको आधारमा राजीनामा दिए, तर त्यसपछिका नेताहरुले त्यस्तो आँट किन गरेका छैनन ?
–हो, उनले राजीनामा गरे । एउटा जिम्मेवार व्यक्तिले गर्नुपर्ने काम यही हो । म यो कामको प्रशंसा गर्छु । उनले मैले गलत गरेको छु भने त्यसको खोजी गरेर पुष्टि गरी कारवाही गर भनेका थिए । यस्तै विषयमा कृष्णबहादुर महराले राजीनामा गरेनन् । उनले रु. ५० करोड सांसद किन्नका लागि चीनको बिजनेस कम्युनिटीसँग प्रस्ताव गरेका थिए । आफूले बोलेको स्वीकार गरे । तर राजीनामा गरेनन् । यो नैतिकताको प्रश्न हो । शैलजा आचार्यले भ्रष्टाचारको जालो तोड्न मैले सकिन भनेर राजीनामा दिइन् । लोककृष्ण भट्टराईले आयल नियमको अध्यक्ष हुँदा यहाँको कमिसन दरवारसम्म पुग्छ भनेर भाषण गरे । त्यो समय सिपी मैनाली आपूर्ति मन्त्री थिए । सिपीलाई दरवारले मन्त्री खाने कि भट्टराईलाई हटाउने भनेर सोधे । भट्टराईले यो कुरा थाहा पाएर राजीनामा दिए । सचिवले मन्त्रीको नाम लिएर भ्रष्टाचार गरेको विषयलाई लिएर बलदेव मजगैयाँले मलाई भ्रष्ट सचिव चाहिदैन भनेर राजीनामा नै दिए । नैतिकताको प्रश्न उठेपछि जो सुकै होस् राजीनामा दिनुपर्छ ।
० फरक प्रसंग, नेपालको राजनीतिमा अमेरिका र युरोपियन युनियनको स्वार्थ जोडिएको चर्चा हुने गर्छन् नि ?
–हो, युरोपियनका यहाँ दुईवटा स्वार्थ जोडिएका छन्् । पहिलो भनेको धर्मसँग जोडिएको स्वार्थ हो । त्यो क्रिश्चियनका लागि चर्च बनाउने कुरा छ । अर्को भनेको राजनीतिक स्वार्थ हो । भारतसँग पनि सुरक्षा र राजनीतिक स्वार्थ छ । धर्म निरपेक्षता र राजा उसको प्राथमितामा छ । अर्को भनेको आफ्नो निर्णय लागू गर्ने हो । त्यो गरिरहेको छ । त्यही भएर जो सत्तामा गएपनि निर्णायक उही हुन्छ । चीनको आफ्नै स्वार्थ छ । ऊ एक प्रकारले भन्ने हो भने महाशक्ति राष्ट्र पनि हो । तिब्बत नेपालसँग जोडिएको संवेदनशील क्षेत्र छँदैछ । त्यहाँ उनीहरुको दृष्टि चनाखो छ । नेपालको कोही यो क्षेत्रमा नखेलोस् बरु आफ्नो छत्रछायाँमा रमाओस् भन्ने उसको स्वार्थ छ । अमेरिकनहरुको स्वार्थ के छ भने एशियामा दुईवटा महाशक्ति हुने तयारीमा छन्् । यसो हुनाले खेल त बढ्दै गइरहेको छ ।
साँघु साप्ताहिकका लागि बोधराज पौडेल र रामहरि चौलागाईंले दाहालसँग गरेको कुराकानी