पोखरा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट मतदातालाई आकार्षित गर्न पोखरा महानगरपालिका वडा नं ९ कार्यसमितिले बुधबार विशाल चुनावी र्यालीको आयोजना गर्यो । वडा अध्यक्षका उम्मेदवार दिपेन्द्र मर्सानी लगायत वडा सदस्यका उम्मेदवारहरुको पक्षमा मत माग्न वडा समितिले सो र्यालीको आयोजना गरेको हो ।
मतदातालाई जागरुक गराउन र उत्साह जगाउनकालागि पनि र्यालीको आयोजना गरिएको आयोजकले जनाएको छ । ‘मतदाताको उत्साहजनक सहभागिताले हामी निश्चिन्त छौं’ वडाध्यक्षका उम्मेदवार मर्सानीले भने ‘चुनाव पछिको विजयी र्यालीको अनुभुति दिने कार्यकर्ता एवम् मतदाताको सहभागिता रह्यो ।’
सामाजिक कामसंगै शैक्षिक संस्थाहरुमा आवद्ध एवम् क्रियाशिल मर्सानी वडा नं ९ का वडाबासीको मनमुटुमा बस्न सफल व्यक्ति हुन् । ‘उनको क्रियाशिलता र सामाजिक भावलाई हेर्दा वडा नं ९ का वडाबासीले मर्सानीलाई पक्कै जिताउने छन‘ एक मतदाताले भने ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निकालिएको चुनावी ¥याली पालिखेचोकबाट सुरु भई महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, नागढुंगा क्षेत्र हुदै पृथ्वीचोकको बसपार्क क्षेत्र, साहारा टोललगायत क्षेत्रको परिक्रमा गरी सम्पन्न भएको थियो ।
र्यालीमा नेपाली काँग्रेस कास्की जिल्ला सदस्य विश्वशंकर पालिखे, महासमिति सदस्य मुना बाँस्तोला, महासमिति सदस्य विरेन्द्रनारायण विजुक्छे, महाधिवेशन प्रतिनिधि सुनयना पालिखे, वडा अध्यक्ष रामराज लामिछाने लगायतले उत्साहजनक सहभागिता जनाएका थिए ।
उम्मेदवारहरु वडाबासीको शिक्षा, स्वास्थ्य, बाटोघाटो, सुकुम्बासी समस्या लगायतका एजेन्डाहरु बोकेर मतदाताको घरदैलोमा पुगी मतदाताको प्रत्येक टोलमा अत्यावश्यक विकासका कुरा र उठान गर्नु पर्ने मुद्धाहरुका बारेमा छलफल गरिरहेका छन् ।
नेपाली काँग्रेसका दिपेन्द्र मर्सानीको नेतृत्वमा वडा सदस्यका उम्मेदवारहरु भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी चुनावी मैदानमा छन् ।