पोखरा, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस छोडेर अरु पार्टीमा जान लागेका तल्ला तहका नेता–कार्यकर्तालाई कांग्रेस पार्टीमा नै रोक्नुपर्नेमा जोड दिएका छन । नेपाली कांग्रेसमा नियमित महाधिबेशन पक्षधरको नाममा जिल्ला जिल्लामा र तल्लो तहमा समेत कांग्रेस कार्यकर्ताहरु संगठित बन्दै गएको र तहगत रुपमा समानान्तर अधिबेशन भैरहेको बर्तमान अबस्था प्रति संकेत गर्दै महामन्त्री पौडेलले उक्त कुरा बताएका हुन।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले सोमबार पोखरामा आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले माथिल्लो तहका नेताहरुलाई तत्काल समेट्न सक्ने अबस्था सिर्जना हुनेमा शंका ब्यक्त गरे। उनले भने ‘चुनदेवीको नेतृत्व लेबलका अग्रज नेताहरुलाई समेट्ने स्थिति अहिले तत्काल बन्छ भन्ने मलाई लाग्दैन, तर वडा, पालिका, क्षेत्र र जिल्ला तहका इमान्दार र जनतामा प्रभाव भएको साथीहरु जो अर्को नेपाली काँग्रेसमा जान लाग्नुभएको छ उनीहरुलाई हामीले नै फर्काउने कोसिस गरौं ।’
पार्टीमा भूमिका दिने सन्दर्भमा फराकिलो दायरा निर्माण गर्न सकिने उनको भनाई थियो तर कसरि कुन कुन भूमिका दिनसकिने भन्ने बारेमा भने उनले स्पष्ट खुलाएनन । महामन्त्री पौडेलले अनाबश्यक हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ सचेत रहन पनि कार्यकर्ताहरुलाई आग्रह गरे। महामन्त्री पौडेलले नेपाली काँग्रेसलाई बर्तमान सरकारले नै विभाजित गरेर दुईवटा कांग्रेस बनाउन खोजिरहेको आशंका व्यक्त गरे ।

चुनदेबी कांग्रेसका केहि नेताहरुलाई सरकारले अडान नछाड्न भन्दै उक्साउने गरेको र अनुकुलको निर्णय गरिदिने आश्वासन दिएर ‘ब्याकिङ’ गरिरहेको आरोप उनको थियो। अघिल्लो निर्वाचनमा प्राप्त गरेको जनमतलाई दम्भको रुपमा लिएर कानुनभन्दा माथि बस्न खोजेको आरोप समेत महामन्त्री पौडेलले बर्तमान सरकारमाथि लगाए ।
एउटा निर्वाचनमा जनमत पाउँदैमा कोही सर्वेसर्वा र संविधान तथा कानुनभन्दा माथि हुन नसक्ने पौडेलले बताए । सरकारका गलत कामविरुद्ध बोल्नै नहुने र मुखमा बुजो लगाएर बस्नुपर्ने मनोविज्ञान कांग्रेसले स्वीकार नगर्ने उनको भनाइ थियो । अत्याचार, अन्याय र विभेदविरुद्ध तथा कानुन कार्यान्वयनका निम्ति कांग्रेस जन्मिएको बताउँदै उनले लोकतन्त्र रक्षाका लागि पछि नहट्ने जिकिर गरे ।
‘जति तर्साउन खोजे पनि कांग्रेस तर्सिन्न भन्ने कुरा नै हामीले स्थापित गर्नुपर्छ, लोकतन्त्रका विरुद्ध सौदाबाजी गर्दैन भन्ने कुरा नै हामीले स्थापित गर्न सक्नुपर्छ,’ उनले भने, ‘कांग्रेस छ, त्यसकारण लोकतन्त्र जाँदैन भन्ने कुरा स्थापित गर्न सक्नुपर्छ ।’ संसदमा संख्या कम भए पनि बहुदलीय संसदीय व्यवस्था र लोकतन्त्रको वकालत गर्ने भएकाले नागरिकको विश्वास कांग्रेसप्रति नै रहेको उनले दाबी गरे।

विगतमा जनप्रतिनिधिहरूले पार्टीको बलमा जितेको तथ्य भुलेको औंल्याउँदै उनले अब त्यस्तो अवस्था नरहने स्पष्ट पारे । ‘अब त चुनाव कसैले जित्नुभो भने तपाईंको कार्यकालभित्र तपाईं सबभन्दा बढी जवाफदेही हुनुपर्छ, तपाईंको कार्यकाल सकिएपछि चुनाव जित्ने जिताउने सबभन्दा बढी दायित्व तपाईंको भूमिकाका कारण तपाईंको हुन्छ,’ पौडेलले भने, ‘त्यसका बारेमा सबभन्दा बढी जवाफदेही तपाईं हुनुपर्छ, हाम्रो विधानले अब त्यो जवाफदेही तपाईंलाई बनाउँदैछ ।’ अबको ५/६ महिनाको बीचमा पार्टीको भूमिकालाई विश्वासिलो बनाउन सके त्यसैको बलमा स्थानीय तहको निर्वाचन जितिने उनले बताए ।
कार्यक्रममा महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सुरु गर्न लागिएको जानकारी दिए । मंसिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचन र ‘प्राइमरी इलेक्सन’को तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उनले काठमाडौं फर्किएपछि अभियानको मोडालिटीसहितको सर्कुलर पठाइने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, महामन्त्री विष्णुप्रसाद लामिछाने, राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठ, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा, लमजुङका सभापति डा. टकराज गुरुङलगायतले नयाँ नेतृत्व सामु कांग्रेसलाई मजबुत बनाएर लैजानुपर्ने चुनौती रहेको बताएको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले जनाएको छ ।














