पोखरा, नेपाली काँग्रेसमा बिशेष महाधिबेशनको बिपक्षमा डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५ औं महाधिबेशन आयोजक समिति (देउवा समूह)ले १५ औं महाधिबेशनबाट पार्टीको सबै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व सुनिश्चित हुने गरि निर्बाचन निर्देशिका तयार गरेको छ । बिशेष महाधिबेशनबाट बनेको गगन थापा नेतृत्वको नेपाली काँग्रेसले यहि असोज १६ देखि गर्न थालेको १५ औं महाधिबेशनको समानान्तर महाधिवेशनको रुपमा संस्थापन इतर समूहले बनाएको निर्देशिकामा पार्टीका ६ वटै तहमा नवयुवाहरुको प्रतिनिधित्व गराउने भएको हो ।
१५ औं महाधिवेशनका लागि गठन गरिएको एकराज पोख्रेल संयोजकत्वको केन्द्रीय निर्वाचन समितिले तयार गर्न लागेको ‘१५ औं महाधिवेशन निर्वाचन निर्देशिका’ मा केन्द्रदेखि वडासम्मका कार्यसमितिहरूमा उक्त व्यवस्था गरिएको छ । निर्वाचन निर्देशिकामा पार्टीको सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्षसम्म उम्मेर समूहका महिला र पुरूष एक–एक जनालाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको छ। कांग्रेसको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर, वडा र टोल गरी आठ तहका कार्यसमितिहरू गठन हुने व्यवस्था छ । कांग्रेसमा मौजुदा अवस्थामा टोलबाहेक छ वडा कार्यसमितिहरू छन् ।
स्रोतका अनुसार, समावेशीअन्तर्गतका समूह (क्लष्टर) बाट निर्वाचित हुने प्रतिनिधिहरूमा पनि एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्ने प्रावधान राखिएको छ । ‘समावेशीअन्तर्गत समावेश गरिएका क्लष्टरबाट निर्वाचित हुने प्रतिनिधिहरूमा समेत सकेसम्म एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नुपर्नेछ,’ निर्देशिकामा लेखिएको छ ।
निर्वाचन निर्देशिकामा १८ देखि २८ वर्षसम्मको नवयुवा नभए खाली हुन गएको अवस्थामा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिने बताइएको छ । इतर समूहले निर्वाचन निर्देशिकामा विषयविज्ञ भएको स्थानमा विषयविज्ञको उपस्थिति पनि अनिवार्य गर्नुपर्ने बाध्यकारी प्रावधान निर्वाचन निर्देशिकामा राखेको छ । निर्देशिकालाई आज शनिबारसम्ममा अन्तिम रुप दिने तयारी रहेको बताएको छ ।
१४ औं महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको समूहले जारी कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन । उक्त समूहले २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्नेगरी कार्यतालिका ल्याएको छ । चुनदेवी सम्पर्क कार्यालयका अनुसार उक्त समूहले १५ असोजमा देशभरका वडाहरूमा वडा अधिवेशन गर्दैछ ।
१५ औं महाधिवेशनका लागि इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ । समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ । इतर समूहले असोज १५ गते वडा अधिवेशन गर्भोने र त्यसको भोलिपल्ट असोज १६ मा कांग्रेसको गगन थापा नेतृत्वको कांग्रेसले काठमाडौँमा केन्द्रीय महाधिवेशन काठमाडौंमै आयोजना गर्दैछ ।
कोइराला समुहद्वारा २८ सदस्यीय कास्की जिल्ला समिति गठन
डा. शशांक कोइराला संयोजक रहेको नेपाली काँग्रेसले बिभिन्न जिल्लामा समिति गठन गर्ने क्रममा कास्की जिल्लामा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको छ। नेपाली काँग्रेसको महासमिति सदस्य रहेका ऋषि काफ्लेलाई जिल्ला संयोजक बनाएको उक्त समुहको जिल्ला समितिमा कांग्रेसकको संगठनमा निरन्तरता दिंदै आएका नेताहरुको बाहुल्यता छ।
उक्त समितिमा गणेशबहादुर भट्टराई, आनन्द सुबेदी, चन्द्रावती पौडेल, सुभाष कोइराला, दिपेन्द्र लामिछाने, अशोक भट्टचन, किमबहादुर गुरुङ, परशुराम बस्नेत, प्रितम गुरुङ, बिपिन पौडेल, प्रेमलाल पुन, लक्की पहारी, केशव लामिछानेलाई सदस्य राखिएको छ।
यसैगरी सुरेन्द्रनाथ शर्मा,सरस्वती परियार, ओम बस्नेत, हिक्मत बहादुर बस्नेत, इन्दिरा कोइराला, बिजय घिमिरे, शिवजी ढुंगाना, कमलप्रसाद तिवारी,तुलबहादुर भुर्तेल,युवराज बराल, प्रेम बराल, पुष्पराज बराल, उमा ठकुरी, यमप्रसाद तिमिल्सिना, मनहरी सुबेदी र ई. बिश्वास आचार्य सदस्य रहेको जिल्ला संयोजक काफ्लेले गुरुकुल खबरलाई जानकारी दिए ।
कास्की जिल्लामा अधिबेशन गर्नको लागि जिल्लास्तरीय तयारी समिति गठन गरिएको र अब क्षेत्र एबम पालिकास्तरमा पनि समिति बिस्तार गरेर अधिबेशनको तयारी अगाडी बढाइने काफ्लेले बताए। उनले कास्कीको क्षेत्र न. १ मा बिकास लामा गुरुङ, क्षेत्र न.२ मा राजेन्द्र बराल र क्षेत्र न.३ मा पदम बस्ताकोटीलाई नेपाली काँग्रेसको क्षेत्रिय अधिबेशन तयारी समितिको संयोजक बनाइएको र उनीहरुको नेतृत्वमा समिति बिस्तार गर्नको लागि आबश्यक गृहकार्य भैरहेको बताए। कास्कीका बिभिन्न गाउँपालिकामा पनि समिति बिस्तार गर्ने काम केहि दिनमा नै टुंग्याईने भएको बुझिएको छ ।













