पोखरा, बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा भएको नाफाबाट आंफ्ना शेयरधनीलाई प्रतिफल बाँड्ने प्रक्रिया सुरु गरेका छन। भदौ २२ गतेसम्म तीनवटा विकास बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्।
यसरि अघिल्लो आर्थिक बर्षको लाभांश घोषणा गर्नेमा गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्। सार्वजनिक गरिएको प्रस्तावअनुसार सबैभन्दा धेरै लाभांश गरिमा विकास बैंकले दिने भएको छ ।
गरिमा विकास बैंकले आंफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकले भने कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
तीनवटै बैंकका लाभांशसम्बन्धी प्रस्ताव सञ्चालक समितिको बैठकको निर्णयबाट अघि बढाइएका हुन् । प्रस्तावित लाभांश शेयरधनीले प्राप्त गर्न भने नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । वित्तीय विवरण सार्वजनिक हुने क्रम बढेसँगै आगामी दिनमा अन्य विकास बैंकले पनि लाभांशसम्बन्धी प्रस्ताव सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने प्रक्रिया शुरु गरेसंगै लगानीकर्ता एबम शेयरधनीहरुले बैंकहरूको नाफा, वितरणयोग्य मुनाफा र लाभांश दिने क्षमताको बारेमा चासो राख्न लागेको देखिएको छ ।













