काठमाडौँ, भोटेकोशीमा आएको विनासकारी बाढीका कारण चिलिमे हाइड्रोपावरको सुरुङमा फसेकाहरुमध्ये २१ दिनपछि ४ जनाको शव भेटिएको छ। बुधबार गोताखोरहरूको प्रयासमा ३ जनाको शव र एउटा मानव अङ्ग फेला परेको र नेपाली सेना, सशस्त्र प्रहरी र भारतीय टनेल विशेषज्ञहरूले चिलिमे हाइड्रोपावरमा फसेकाहरूको खोजीकार्यलाई निरन्तरता दिंदै आएको छन । हालसम्म बिभिन्न सुरुङबाट ९ जनाको शव निकालिएको सुरक्षाकर्मीले जनाएको छन ।
केहि दिनदेखि गरिएको उद्वारको क्रममा सुरुङभित्रबाट लगातार पानी आएपछि गोताखोर टोलीले १३० मिटर भित्र प्रवेश गरेर शव निकालेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी दिए । उनले भने, ‘टनेलभित्रबाट ३ वटा शव र एउटा मानव अङ्ग निकालिएको छ।’
चीनको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएको र ११ वटै आयोजनाको टनेलमा मानिसहरु फँसेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ। नेपाली सेनाको नेतृत्वमा ११ मध्ये अहिले ६ वटा आयोजनामा खोज तथा उद्धारको काम भइरहेको छ ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा २ जनाको शव भेटिएको थियो । ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा दुई जनाको शव भेटिएको हो। लाङटाङ खोला जलविद्युत आयोजनामा पनि यसअघि २ जनाको शव भेटिएको थियो । चिलिमेमा एउटा खुट्टाको भाग सहित ४ जनाको शव भेटिएको हो । त्रिशूली–३ ए मा १ जनाको शव भेटिएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, विदेशबाट आएका टनेल विशेषज्ञ र आयोजनाका प्राविधिक सहितका उद्धारकर्मीहरूले अहिलेसम्म टनेलबाट ३ जनालाई सकुशल उद्धार गरेका छन् । उद्धारकर्मीहरूले भदौ १९ मा त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय साह र कबिर महर्जनको जीवितै उद्धार गरेका थिए।
भदौ २० मा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङको २२५ मिटर भित्र सुरुङबाट चिनियाँ नागरिक लुआइतोलाई सकुशल उद्धार गरिएको थियो । रसुवागढी जलविद्युत आयोजनाबाट सुरुमा दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। यसैगरी चिलिमे जलविद्युत आयोजनामा उद्धारकर्मीहरूले पावरहाउस क्षेत्रमा खोजी तीव्र पारेका छन्। २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा उद्धारका लागी सेनाले स्याफ्रुबेँशीदेखी चिलिमेको टनेलसम्म हेभी उपकरण लैजान बाटो बनाएका थिए।













