काठमाडौं, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले भोटेकोशी नदीमा आएको आकस्मिक बाढी सहित देशका विभिन्न भागमा गएको बाढी र पहिरोबाट प्रभावित नागरिकहरुको उद्धार र राहतका लागि ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
रसुवा, नुवाकोट र धादिङ लगायतका बिभिन्न क्षेत्रमा प्राकृतिक विपद्का कारण भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कर्पोरेशनले उक्त रकम सहयोगस्वरूप प्रदान गरेको हो। नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कर्पोरेसनको प्रतिनिधिमण्डलले उक्त रकमको चेक हस्तान्तरण गरेको हो।
कर्पोरेशनका अनुसार कुल सहयोग रकममध्ये ५० लाख रुपैयाँ संस्थाको तर्फबाट र १० लाख रुपैयाँ कर्मचारीहरूको तलबबाट कट्टा गरी संकलन गरिएको कर्पोरेसनमा कार्यरत प्रज्वलमान प्रधानले गुरुकुल खबरलाई जानकारी दिए।
राहत रकमका अतिरिक्त कर्पोरेशनले विपद् प्रभावित स्थानहरूमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरूको आपूर्ति समेत गरिरहेको प्रधानले बताए।
कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले एक बिज्ञप्ती जारी गर्दै प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाको लागि तत्काल सहयोग आवश्यक रहेको महसुस गरिएको र कर्पोरेसनको सामाजिक उत्तरदायित्व एवं मानवीय सहयोग स्वरूप यो रकम उपलब्ध गराइएको जानकारी दिएकी छन।
कर्पोरेशनले विपद्का कारण ज्यान गुमाएका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूप्रति श्रद्धाञ्जली समेत अर्पण गरेको छ। सरकारले गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै कर्पोरेशनले विपद्को यस कठिन घडीमा पीडितहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।












