पोखरा, पोखरा महानगरपालिकाको बिभिन्न स्थानमा जुवातास खेल्दै गरेको अबस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । केहि दिनको अन्तरालमा प्रहरीले उनिहरुलाई पक्राउ गर्नुको साथै उनीहरुको साथमा रहेको १ लाख ५५ हजार रुपैयाँ भन्दा बढी नगद रकम र खेल्दै गरेका तास बरामद गरेको जनाएको छ ।
जसअनुसार पोखरा महानगरपालिका–३२ घारीमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको र उनीहरुको साथबाट ९२ हजार ६ सय ९५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको थियो ।
छापा मार्ने क्रममा जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरिएको र उनीहरूको साथबाट नगद ९२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले बताए ।
यसैगरी बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १७ ड्यामसाइडबाट ६ जना र वडा नम्बर ३१ भाटामुलबाट १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ६२ हजार ३३१ रुपैयाँ बराबरको रकम र तास बरामद भएको छ । बरामद रकममध्ये २ हजार ५०१ भारतीय रुपैयाँ समेत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ड्यामसाइडमा जुवा खेलिरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो । शनिबार बेलुका पक्राउ परेका ६ जनाको साथबाट २८ हजार ७० नेपाली रुपैयाँ र २ हजार ५०१ भारतीय रुपैयाँ फेला परेको छ ।
सोही दिन दिउँसो पोखरा -३१ भाटामुलबाट १२ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ३१ हजार ७६० रुपैयाँ र ४ बुक तास बरामद भएको छ । पक्राउ परेका १८ जनालाई नै जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
पासवानका अनुसार उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरीले यस घटनाका सम्बन्धमा थप प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।















