Play

संसदमा बिपक्षी दलका सांसदद्वारा प्रम र गृहमन्त्रीको चर्को आलोचना, राजीनामा समेत दिनुपर्ने माग

गुरुकुल खबर


काठमाडौँ, पूर्वी नेपाल अन्तर्गत सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी एक युवकको मृत्यु सहित धनजनको क्षती भएको घटनालाई लिएर प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्।  बिहिबार प्रतिनिधि सभाको बैठकमा प्रमुख बिपक्षी दल नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलका सांसदहरूले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र प्रधानमन्त्री तथा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग समेत गरेका छन्।

बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रहरीको गोली लागी स्थानीय युवक ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन्। घटनाको निष्पक्ष र विश्वसनीय छानबिनको माग गर्दै उनले नेतृत्व भनेको प्रशासन चलाउनु मात्र नभई सङ्कटका बेला राष्ट्रको मनोबल सम्हाल्नसक्ने हुनुपर्छ भन्दै सरकार आफ्नो प्राथमिक दायित्वबाट विमुख हुन नमिल्ने बताइन्।

साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि प्रयास संविधान र लोकतान्त्रिक मूल्यमान्यताविपरीत हुने बताउँदै थापाले सामाजिक एकता र भाइचारा कायम राख्न अपिल गर्दै कांग्रेस सांसद थापाले भनिन,‘हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छ ?’ पद र शक्तिले पीडाको वर्गीकरण गर्छ भन्दै उनले थपिन्, ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ।’

बिपक्षी दल नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न बर्तमान सरकार पूर्णतः असफल भएको आरोप लगाउंदै साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडपमा राज्यले संयमता अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाएको आरोप लगाइन।

विगतका घटनाहरूमा तत्कालीन सरकारलाई दोषी देखाउँदै राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराउँदै अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिन्।  ‘काठमाडौँमा गोली चल्दा र मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेहिता लिनुपर्छ भन्नेहरू आज सुनसरीमा नागरिकको ज्यान जाँदा किन मौन हुनुहुन्छ ?’ उनले प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र नभएको उल्लेख गर्दै देशमा अशान्ति हुँदा र जनता पीडामा पर्दा नेतृत्वले जनताको बीचमा गएर संवाद गर्नुपर्नेमा सरकारले त्यो तत्परता नदेखाएको आरोप लगाइन।

नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले सुनसरी घटनाका सम्बन्धमा प्रधानमन्त्रीले संसद्लाई आधिकारिक जानकारी गराउनुपर्ने माग गर्दै सुनसरीमा भएको हत्याले मुलुकलाई तरङ्गित र स्तब्ध बनाएको उल्लेख गरे । गृहमन्त्रीको कार्यशैलीको चर्को आलोचना गर्दै शर्माले गृहमन्त्रीले सार्वजनिक रूपमा दिएको ‘कसैलाई यो मन्त्रालय चाहिएको छ भने लैजाऊ’ भन्ने धम्कीपूर्ण अभिव्यक्तिको चर्चा गर्दै अहिले गृहमन्त्री के गर्दै छन् भन्ने प्रश्न गरे।

‘प्रधानमन्त्री कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने जानकारी न संसद्लाई छ, न त सर्वसाधारणलाई,’ शर्माले भने, ‘यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले संसदमा आएर जानकारी दिनुपर्थ्यो ।’ कप्तानगञ्ज घटनाको जिम्मेवारी स्थानीय तहलाई दिने हो वा प्रहरीले गरेको कामको जिम्मा गृहमन्त्रीले लिने हो भन्ने स्पष्ट जवाफ सदनलाई चाहिने उनले बताए।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले सरकार नागरिकको सुरक्षा र संसद्को गरिमाप्रति बेखबर रहेको, देशका विभिन्न स्थानमा हिंसाका घटना बढ्दै गए पनि सरकार कतै नदेखिएको र सरकारले आधिकारिक धारणा फेसबुकबाट नभई औपचारिक माध्यमबाट सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘दिउँसै गोली चल्ने र असुरक्षा बढ्ने क्रम जारी छ, तर सरकार अन्धकारमा बसेर सबै ठिक छ भन्दै बसेको छ।’  सरकार अब भित्र लुकेर होइन, बाहिर निस्केर जनतालाई सुरक्षाको अनुभूति गराउनुपर्ने उनको भनाइ थियो। ‘बल प्रयोगले मात्र परिणाम दिँदैन, सरकार गम्भीर भएर लाग्नुपर्छ,’ उनले थपे, ‘यदि सरकारले देश चलाउन नसक्ने अवस्था हो भने सक्दिनँ भनेर हात उठाए हुन्छ, तर देशलाई अभिभावकविहीन र जनतालाई टुहुरो बनाउन पाइँदैन।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता बढेको भन्दै सरकारको आलोचना गरिन्। उनले सुनसरी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै उनले सत्तारुढ दलहरूले घटनाको प्रकृति र पृष्ठभूमिका बारेमा मौन बसेको आरोप लगाइन्।

बोलबम यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरूमाथि गोली प्रहार भएको तथ्य स्वीकार गर्न सरकार डराएको उनको भनाइ थियो। अनुसन्धान हुनुपूर्व नै प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति अपरिपक्व भएको उनले टिप्पणी गरिन्।  ‘बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो,’ उनले भनिन्, ‘गोली कसले र कसको आदेशमा चलायो? जिल्ला प्रशासन, प्रहरी र प्रधानमन्त्रीको अभिव्यक्तिमा किन विरोधाभास छ?’ नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेयता धार्मिक द्वन्द्व बढेको र बाह्य स्रोतको लगानीमा भइरहेको धर्मान्तरणले राष्ट्रिय सुरक्षामा चुनौती थपेको उनको दाबी थियो।

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले नागरिकको ज्यान जाने गरी भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताइन्। उनले यो घटनालाई राज्यको सुरक्षा व्यवस्था र प्रशासनिक तयारीको गम्भीर असफलताका रूपमा चित्रण गरिन्। ‘नागरिकको ज्यानै जाने अवस्था आउनु लोकतान्त्रिक सरकारका लागि सामान्य विषय हुन सक्दैन,’ उनले भनिन्, ‘हिजो यस्तै घटना हुँदा प्रधानमन्त्रीज्यूले अरूलाई नैतिक रूपमा असफल घोषणा गर्नुहुन्थ्यो, आज उहाँ स्वयं सरकारको नेतृत्वमा हुँदा त्यो नैतिक मापदण्ड लागू हुँदैन ?’

प्रधानमन्त्रीले फेसबुकमार्फत व्यक्त गरेको समवेदनाप्रति कटाक्ष गर्दै उनले थपिन्, ‘के प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटस लेखेर मात्र पूरा हुन्छ ?’ यत्रो घटना हुँदा पनि गृहमन्त्रीको उपस्थिति नदेखिएको भन्दै उनले सरकारले सुरक्षाकर्मीको गल्ती देखाएर पन्छिन खोजेको आरोप लगाइन्।  कांग्रेस कुनै पनि प्रकारको हिंसा वा साम्प्रदायिक द्वेषको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पार्दै यादवले सरकारको लाचारीमाथि आफ्नो दल मौन नबस्ने चेतावनी दिइन्।

१४ श्रावण २०८३, बिहीबार १३:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा