काठमाडौँ, नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ । पार्टीको बिशेष महाधिबेशनबाट सभापति बनेका गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले अदालतमा पुनरवलोकन निवेदन दिएको कारण आधिकारिकता सम्बन्धि बिबाद फेरी पनि सर्वोच्च पुगेको हो ।
अहिले गरेको पुनरावलोकनको निवेदन अब तीनजना न्यायाधीशको इजलासमा पेसी तोकिन्छ । तीन न्यायाधीशको इजलासले निस्सा दिएमा अघि बढ्छ भने नदिएमा टुङ्गो लाग्ने छ । संस्थापन पक्षले महाधिबेशनको प्रक्रिया अगाडी बढाउने तयारी गरेर महाधिवेशन नजिकिँदै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवाको पक्षमा रहेका भनिएका खडका समेतले बुधबार दिएको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको हो।
गत वैशाख ४ गते सर्वोच्च अदालतले बिशेष महाधिबेशनबाट बनेका सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो । उक्त निर्णय त्रुटिपूर्ण भएको दाबी गर्दै शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दिएको हो ।
















