मुग्लिंग, चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत जलबीरे नजिकै भएको सवारी दुर्घटनामा परेर २५ बढी यात्रु घाइते भएका छन। आइतबार बिहान काठमाडौँबाट दाङ र सर्लाहीबाट काठमाडौँ जाँदै गरेका दुइवटा बस र ट्रक एकैपटक ठोकिएर दुर्घटना भएको थियो प्रहरीले दुर्घटनामा २५ बढी यात्रु घाइते भएको बताए पनि घाइतेहरुको संख्या अझैसम्म स्पष्ट तोकिएको छैन ।
वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त क्षेत्रमा सवारी आवागमन बन्द गरेको थियो। स्थानीय प्रशासनले बन्द गराएको सो सडकखण्डमा बिहान ६ बजेबाट यातायात सुचारु गरिएको थियो ।
तर, सडक खुलेपछि सवारी साधनहरुले लेन मिचेर ओभरटेक गर्न खोज्ने क्रममा दुर्घटना भएको अनुमान गरिएको छ। त्यसपछि सडक पुन अबरुद्ध बनेकोमा केहि समय अगाडी सडकमा यातायात सुचारु भएको छ ।

सडकमा ट्राफिक जाम र दुर्घटनाको सम्भावना निरन्तर रहेपछि सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ । दुर्घटनापछि अबरुद्ध बनेको सडक स्थानीय प्रहरी र सर्बसाधारणको प्रयासमा केहि समय अगाडी खुलेको कारण लामो समयदेखि अबरुद्ध भएका वा सडकमै रोकिएका सवारी साधन आवतजावत गर्न थालेका छन।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३ ००१ ख १६७१ नम्बरको बस हो । दाङका लागि छुटेको बसको भने नम्बर खुलेको छैन । सोही बसका चालक दुर्घटनाका कारण गम्भीर घाइते भएका छन् । घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ ।
















