ओखलढुङ्गा, ओखलढुङ्गा विपद् व्यवस्थापन समाजको समन्वयमा लिखु गाउँपालिका–४ स्थित यसम माध्यमिक विद्यालयमा झोला वितरण तथा प्रेरणादायी कार्यक्रम गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई झोला वितरण गर्नुका साथै शिक्षा, अनुशासन, आत्मविश्वास र उज्ज्वल भविष्य निर्माणका विषयमा प्रेरणादायी सन्देश दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका अध्यक्ष गुरु केदार बरालको प्रशंसा गर्दै गुरु केदार बरालले समाज र शिक्षाको क्षेत्रमा निस्वार्थ भावले गरिरहनुभएको योगदान साँच्चिकै प्रशंसनीय बताए । उनले यस्ता सामाजिक तथा शैक्षिक अभियानले गाउँपालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष गुरु केदार बरालले विद्यालयको नाम ‘यसम’ रहेको र यस शब्दको अर्थ कृति, ख्याति र प्रख्याति रहेको बताए। ‘यो विद्यालयको नाम जस्तै यहाँ अध्ययन गर्ने विद्यार्थीहरू पनि आफ्नो कर्म, क्षमता र व्यवहारले समाजमा चिनिने, सम्मानित र प्रख्यात बन्न सक्नुपर्छ।” यसम माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरका साथै अनुशासन र संस्कारमा समेत उदाहरणीय बन्नुपर्नेमा उनले जोड दिए।

उनले भने, “उखुबाट खुदो बनाउन सकिन्छ, चिनी बनाउन सकिन्छ र त्यसलाई सिधै चपाएर पनि खान सकिन्छ। एउटै उखुका धेरै उपयोगिता हुन्छन्। त्यसैगरी लिखु गाउँपालिकाका विद्यार्थीहरू पनि जीवनका हरेक क्षेत्रमा सक्षम, उपयोगी र सफल बन्नुपर्छ। आफ्नो ज्ञान र क्षमताले समाजलाई मिठास दिन सक्ने व्यक्ति बन्नुपर्छ।” उनले पृथ्वीमा पानीको महत्वसँग शिक्षा र जीवनलाई जोड्दै विद्यार्थी जीवनको आधार शिक्षा भएकोले विद्यार्थीहरूले मेहनत, अनुशासन र सकारात्मक सोचलाई कहिल्यै छोड्नुनहुने स्पष्ट पारे।
कार्यक्रममा बोल्दै अधिवक्ता सुरेन्द्र बोगटीले ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विपद्का बेला मात्र नभई शिक्षा र सामाजिक क्षेत्रमा समेत निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेको भन्दै यस्ता अभियानले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने काम गर्ने बिश्वास व्यक्त गरे।
त्यसैगरी दीपक कटुवालले गुरु केदार बरालको समाजप्रति उत्तरदायी र शिक्षाप्रति समर्पित व्यक्तित्व रहेको भन्दै वहाँका कामले धेरै विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन सहयोग पुगेको बताए। विद्यालयका प्रधानाध्यापक चन्द्र श्रेष्ठले विद्यालय परिवारको तर्फबाट ओखलढुङ्गा विपद् व्यवस्थापन समाजप्रति विशेष धन्यवाद व्यक्त गर्दै अध्यक्ष गुरु केदार बरालको खुलेर प्रशंसा गरेका थिए।
विद्यालयका लागि झोला सहयोग जुटाउन तथा सम्बन्धित निकायसँग समन्वय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शिक्षिका कमला बस्नेतलाई कार्यक्रममा विशेष रुपमा सम्मान गरिएको थियो। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश खत्रीले र कार्यक्रम सञ्चालन सह–प्रधानाध्यापक महेन्द्र खड्काले गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका सरिता खड्काले गरेकी थिईन।
कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरु केदार बरालले यस अभियानलाई सफल बनाउन सहयोग पुर्याएको कृषि विकास बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए।
















