पोखरा, महिला पत्रकारहरुको संस्था सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको अधिबेशनबाट निर्बाचित राधिका कँडेल नेतृत्वको नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सोमबार सम्पन्न भएको छ । संचारिका समुह गण्डकी प्रदेश समितिको गत चैत ३० गते सम्पन्न अधिवेशनबाट पत्रकार कंडेल अध्यक्ष रहेको नयाँ कार्यसमिति बनेको थियो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा उमा आले मगर निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल (तारा) चयन भएका छन्। कार्यसमितिको सदस्यहरूमा शोभा नेपाल, सपना अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देविका तामाङ र बिना थापा मगर रहेका छन्।
पदस्थापन कार्यक्रममा बोल्दै संचारिका समुहका केन्द्रीय सदस्य तारा चापागाईंले सञ्चारिका समूहलाई नेपालकै नमुना संस्था बनाउने गरी सक्षम र सक्रिय महिला पत्रकारहरुको कार्यसमिति गठन भएको बताइन् । उनले नयाँ नेतृत्वले नयाँ सोच, जोश र जाँगरका साथ महिला सञ्चारकर्मीहरूको हक–हितका लागि प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिन् ।
निर्वाचन समितिका सदस्य अधिवक्ता भुवन पराजुलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउंदै संस्थागत सुशासन कायम गर्न नेतृत्व सहित कार्यसमितिका सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता औन्ल्याईन ।
त्यसैगरी निर्वाचन समितिका संयोजक हुम गुरुङले सञ्चारिका समूह रहरले नभई आवश्यकताले स्थापना भएको संस्था भएको उल्लेख गर्दै समान हैसियत, अवसर र अधिकारका लागि महिलाहरू संगठित हुनु आवश्यक रहेको बताए ।
आगामी तीन वर्षे कार्यकालका गठित नयाँ कार्यसमितिको तर्फबाट अध्यक्ष राधिका कंडेलले नवनिर्वाचित समितिले महिला सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा, समान अवसर र नेतृत्व विकास जस्ता बिषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन । साथै, सञ्चार क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै समावेशी र सशक्त समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य आँफुहरुले राखेको उनको भनाई थियो ।

















