Play

कांग्रेस संसदीय दलको नेता चयनमा डेढ महिना बित्यो : आचार्यको पक्षमा सभापति थापा र आङ्दम्बेको पक्षमा उपसभापति शर्मा

संसदकै जेष्ठ सदस्य अर्जुननरसिंह केसी समेत संसदीय दलको नेता बन्ने दौडमा


गुरुकुल खबर


पोखरा, बिशेष महाधिबेशनबाट निर्बाचित गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै डेढ महिना बित्न लाग्दा पनि नेपाली संसदीय दलको नेता चयन गर्न सकेको छैन । अबकी बार गगन सरकार र अबकी बार सय पारको नारा सहित चुनाबमा होमिएको कांग्रेसले प्रत्यक्ष तर्फ १८ निर्बाचन क्षेत्रमा मात्र विजय प्राप्त गरेको थियो। समानुपातिक तर्फबाट २० जना निर्बाचित भएको कारण कांग्रेसले ३८ सिट प्राप्त गर्दा पनि संसद्को दोश्रो ठुलो दल बन्न पुगेको छ संसदमा पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा बिजय प्राप्त गरेको छ ।

३८ जना मात्र सांसद रहेको कांग्रेसले संसदीय दलको नेता चयन गर्न डेढ महिना बढीको समय खर्च भैरहेको देख्दा यस अगाडी कांग्रेसले नियमित वा बिशेष महाधिबेशन मध्ये के गर्ने र कहिले गर्ने ? भन्ने बिषयमा झन्डै डेढ महिना बिताएर कांग्रेसलाई आन्तरिक बिबादको भुमरीमा पारेको घटना ताजै छ । अन्य सबै दलले संसदीय दलको नेता चयन गरिसक्दा प्रमुख बिपक्षी दलको रुपमा रहेको कांग्रेसले गरेको ढिलाईले अन्य कतिपय कामहरु समेत प्रभावित भैरहेको छन।

प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले दलको नेता चयन नगर्दा संवैधानिक परिषदले पूर्णता पाउन नसक्दा कामकाज प्रभावित छ । संसदीय दलको नेता चयन गर्ने सम्बन्धमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीच सहमति जुट्न नसक्दा ढिलाइ भएको बताइन्छ । कांग्रेसका एक शीर्ष नेताले सभापति थापा र उपसभापति शर्माको चाहना बाझिँदा दलको नेता चयनमा ढिलाइ हुन् पुगेको जानकारी दिएका छन् ।

सभापति थापाले प्रत्यक्षतर्फका सांसद मोहन आचार्य र उपसभापति शर्माले समानुपातिकतर्फका सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउन चाहिरहेका छन् । आचार्य रसुवाबाट प्रत्यक्ष र आङ्देम्बे पाँचथरबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । आङ्देम्बे १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका थिए । तर यो संगै समानुपातिकतर्फ निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी पनि संसदीय दलको नेताको लागि लबिंगमा छन ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य रहेका सांसद अर्जुन नरसिंह केसीले पनि दलको नेता बन्ने चाहना राखेको तर उनि जेष्ठ सदस्यको हैसियतले संसद संचालन गर्नुपर्ने र  सभामुख समेत चयन गर्नुपर्ने अबस्था रहेकोले  कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन ढिलाई भएको कतिपयको भनाई छ । चैत २४ गते दलको नेता चयन गर्नका कांग्रेसले सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको थियो ।

तर, न त रसाइलीको संयोजकत्वमा समिति गठन गरिएको सूचना आधिकारिक रूपमा सार्वजनिक गर्‍यो, न त कांग्रेसले चैत २४ मा दलको नेता चयनका लागि समितिमार्फत प्रक्रिया नै अघि बढायो । सभापति थापा र उपसभापति शर्माबीच कुरा नमिलेका कारण समितिले प्रक्रिया अगाडि नबढाएको र चैत २४ का लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको कांग्रेस स्रोतको भनाइ छ । नेतृत्वबीच सहमतिको प्रयासस्वरूप सरसल्लाह चलिरहेकै समयमा निर्वाचन समिति संयोजक रसाइलीले वैशाख २ गते निर्वाचन तालिका सार्वजनिक हुने र वैशाख ४ गते निर्वाचन गरिने बताएका थिए ।

त्यो समयमा पनि दलको नेता चयन गर्ने कुनै औपचारिक प्रक्रिया अगाडी बढ्न सकेन।  निर्वाचन समिति संयोजक रसाइलीले निर्वाचन प्रक्रिया रोकेर सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर छलफल गरेका थिए । त्यसपछी उनले वैशाख ७ गते दलको नेता चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरे । कार्यतालिकाअनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा  वैशाख ११ गते अर्थात शुक्रबार निर्वाचन हुनेछ ।

कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत दलको नेता चयन हुने सम्भावना अधिक देखिन्छ । प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा पनि कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगन थापाले दलको नेतामा चुनौती दिएका थिए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा पनि पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूलाई टिकट वितरण गर्दा देउवा र थापा दुवैको हस्ताक्षर निर्वाचन आयोगमा प्रयोग भएको थियो । समानुपातिक प्रणालीको बन्दसूचीमा सभापतिका रूपमा देउवाले हस्ताक्षर गरेका थिए भने प्रत्यक्षतर्फको टिकटमा विशेष महाधिवेशनबाट सभापति बनेका थापाले हस्ताक्षर गरेका थिए ।

दुई नेताको हस्ताक्षरबाट उम्मेदवार भएर सांसद बनेकाहरू संसदीय दलमा रहेका कारण नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । दुवै प्रणालीअन्तर्गत निर्वाचित ३८ सांसदमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्षको वर्चस्व छ भने समानुपातिकतर्फ संस्थापनइतर समूहका सांसदहरू बढी छन् ।

टिकट वितरणलाई आधार मान्दा प्रत्यक्ष र समानुपातिक गरी संस्थापनपक्षीय १६ र संस्थापनइतर पक्षीय २२ सांसदहरू छन् । इतरपक्षीय २२ मध्ये निवर्तमान सभापति देउवानिकट १५ र कोइरालानिकट सात जना मानिन्छन् । तर, पछिल्लो समय संस्थापन र संस्थापनइतर समूहबीच देखिएको ध्रुवीकरणले सांसदहरूको सङ्ख्याबारे यकिन भन्न सकिने अवस्था भने देखिँदैन ।

१० बैशाख २०८३, बिहीबार २२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा