Play

मन्त्रीहरु एकपछि अर्को गर्दै बिबादमा: गृहमन्त्रीलाई बर्खास्त गर्न माग, बिचौलियासंगको सम्बन्धलाई रास्वपाले के गर्ला ?

गुरुकुल खबर


काठमाडौँ, बालेन्द्र शाह नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्बाचितहरुले बनेको मन्त्रीमण्डलका मन्त्रीहरु एकपछि अर्को गर्दै बिबादमा तानिएका छन । सरकार गठन भएको एक महिना नपुग्दै हालसम्म तीनजना मन्त्री विवादमा आइसकेकोमा एक जनाको पद गुमेको छ भने एकजनालाई सचेत गराइएको छ । अर्को एकजनाको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी वा सरकारको तर्फबाट कुनै प्रतिक्रिया सार्बजनिक भएको छैन ।

बिबादमा तानिएको कारण मन्त्री पद गुम्नेमा तत्कालीन श्रममन्त्री दीपक साह हुन् भने नसियत सहित कारबाहीको दोसाँधमा स्वास्थ्यमन्त्री निशा मेहता परेकी छन । यी दुई मन्त्रीको विवाद सेलाउन नपाउँदै शक्तिशाली मन्त्रालय सम्हालेका गृह मन्त्री सुधन गुरुङ पनि चौतर्फी विवादमा तानिएका छन।

बालेन सरकारको गृहमन्त्री बनेलगत्तै प्रमुख दलका नेताहरु अर्थात पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्व गृहमन्त्री रमेश लेखक र शक्तिशाली बिचौलियाको रुपमा चिनिएका दीपक भट्टसहितका प्रभावशाली व्यक्ति र नेताहरूलाई पक्राउ गरेर चर्चामा आएका गुरुङ अहिले भने उनै बिचौलिया दिपक भट्टको साझेदार कम्पनीमा सेयर होल्डर रहेको भेटिएपछि पुनः विवादमा तानिएका  हुन् ।

यस अगाडी फेवाताल किनारको जग्गा सहित संरचनामा डोजर चलाउँदा उनले तालको मापदण्ड भित्रको करिब २० रोपनी जग्गा लिएको भनेर पनि बिबादमा आएका थिए  तर, गुरुङलाई फेवातालको जग्गा प्रकरण भन्दा अप्ठेरो अबस्था अहिले सिर्जना भएको बुझिएको छ ।

बिचौलिया भट्ट सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छन सुधन गुरुङ गृहमन्त्री बनेपछि भट्ट पक्राउ परेको भएपनि उनलाई सिआइबिले सुशिला कार्की नेतृत्वको सरकार बन्नुभन्दा अगाडी नै सम्पति सुद्धिकरणको मुद्दा लगाउने तयारी गरेको बताइन्छ। तर त्यसबेला रोकिएको उनको फाइललाई सिआइबिले अहिले अगाडी बढाएको कारण उनि पक्राउ परेको हुन्।

कतिपयले भट्टलाई जोगाउन गृहमन्त्री गुरुङसमेत लागेको तर सिआइबिले पहिले नै  अनुसन्धान सकेको र यतिबेला पक्राउ गरेकोमा उनै भट्टसँग गुरुङको कनेक्सन भेटिएको बाहिरिएपछि गुरुङमाथि नैतिकता र आर्थिक आचरणमाथि प्रश्न उठ्न पुगेको हो ।

यसबाहेक, सुशासनको चर्को नारा दिएर समाजसेवीका रूपमा आफूलाई चिनाउन खोज्ने गुरुङको सम्पति विवरण सार्वजनिक गर्दा अस्वाभाविक सम्पत्ति देखिएको भन्दै धेरैले प्रश्न उठाएका थिए । जुनसुकै कुरामा पनि तत्काल जवाफ फर्काउने स्वभावका गुरुङले आंफ्नो सम्पतिको बारेमा उठेको प्रश्नको भने जवाफ दिन आनाकानी गरिरहेको छन। तर सामाजिक संजाल मार्फत सोमबार उनले आंफ्नो स्पष्टिकरण दिंदै सबै लगानी पारदर्शी र कानुनी प्रक्रियासम्मत रहेको दाबी गरेका छन। 

उनले देशमा सेयर लगानी गर्नु अपराध नभएको तर्क राख्दै सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको र बैंकबाट गएको पैसाको सबै हिसाब हुने भएकाले त्यसलाई लुकाउन सम्भव नभएको उल्लेख गरे । लगानीको स्रोतका बारेमा जानकारी दिँदै उनले उक्त रकम ऋणमार्फत जुटाइएको र त्यसको लिखित तमसुक २०८० साल भदौ २९ गतेको रेकर्डमा रहेको जानकारी दिए । उक्त ऋणको रकम पनि बैँकिङ च्यानलमार्फत नै आएको र सोही रकम लगानीमा प्रयोग गरिएको उनले दाबि गरेका छन ।

‘लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो, यो लुकाउने नभई वर्गीकरणको विषय मात्र हो’ गुरुंगले भनेका छन मन्त्रीपरिषद कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा होप होल्डिङ्स र अनुज प्रिमियम अपार्टमेन्टस् नामक कम्पनीमा मात्रै संस्थापक शेयर लगानी भएको मन्त्री गुरुङले उल्लेख गरेका थिए ।

सार्वजनिक तथ्यहरूका अनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा भट्ट र सुलभ अग्रवालसँगै गुरुङको पनि साझेदारी रहेको देखिन्छ । भट्ट र अग्रवाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा हिरासतमा छन् । इन्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा सुधन गुरुंगको नाम देखिन्छ  । उक्त कम्पनीमा उनले २५ लाख रुपैयाँ सेयर लिएको लगानी भएको देखिएको छ ।

उक्त कम्पनी २०७९ सालमा लाइसेन्स पाएको लञु बिमा कम्पनी हो । आईपीओ समेत निष्कासन हुन बाँकी रहेको उक्त कम्पनीमा दीपक भट्ट लगानी रहेको कम्पनी इन्फिनिटी होल्डिङ्गस, जगदम्बा ग्रुप तथा शंकर ग्रुपको लगानी रहेको देखिन्छ । जसका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । गृहमन्त्री गुरुङलाई बिचौलिया भट्टसँगको कनेक्सनको प्रकरण हालसम्म सार्वजनिक भएका अन्य प्रकरण भन्दा महँगो पर्ने देखिएको छ ।

अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा गर्न नेपाली काँग्रेसको माग 

यसैबीच, गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको भन्दै नेपाली काँग्रेसले यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका रहेकोले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभाव रहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्ने जनाएको छ।

कांग्रेस प्रबक्ता देबराज चालिसेको नामबाट जारी बिज्ञप्तीमा गृहमन्त्रीको राजीनामा वा बर्खास्तगीको माग नगरिएपनि गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न र यो बिषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोप नगर्न आग्रह गरिएको छ ।

गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न माग 

यसैबीच, जेनजी मुभमेन्ट नेपालको तर्फबाट मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको प्रेस वक्तव्यमा  सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरिएको छ। मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने उल्लेख गरिएको छ।  वक्तव्यमा मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरिएको छ।

जेनजी मुभमेन्टले मन्त्री नियुक्त गर्ने र फेरि हटाउने विषयलाई कच्चा र अमर्यादित खेल नबनाउन समेतर बालेन शाह नेतृत्वको सरकारसँग आग्रह गरेको छ। क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्ने वक्तव्यमा उल्लेख छ।

‘यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,’ वक्तव्यमा भनिएको छ, ‘जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन।’ मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी समेत दिएको छ।

७ बैशाख २०८३, सोमबार १७:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा