काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एबमपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आज शनिबार देशका बिभिन्न स्थानमा नेकपा एमालेका कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपपछि प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको र एक जना घाइते भएको बताइएको छ।
एमालेका कार्यकर्ता तथा प्रदर्शनकारी र प्रहरीबिच बबरमहल, बानेश्वर र माइतीघरलगायत क्षेत्रमा झडप भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायर बालेर सवारी आवागमन अवरुद्ध पार्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका थिए ।

प्रहरीले दिएको जानकारीअनुसार बबरमहल क्षेत्रबाट सात जना एमालेका प्रदर्शनकारीलाई पक्राउ गरिएको हो । पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको उनले बताए । प्रहरीसँगको झडपमा एक जना प्रदर्शनकारीको टाउकोमा चोट लागेको भए पनि उनलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले केहि सेल अश्रुग्याँस प्रहार गरेको थियो । ओलीको पक्राउको विरोधमा आज एमाले कार्यकर्ताहरूले देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।
विराटनगरको महेन्द्र चोकमा भेला भएर एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको र पार्टीको केन्द्रीय सदस्य पर्शुराम बस्नेतको नेतृत्वमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले सरकारका गृहमन्त्री विरुद्ध नाराबाजी गरेका बताइएको छ ।















