काठमाडौं, फागुन २१ गते सम्पन्न निर्वाचनमा नराम्रो पराजय भोगेको नेपाली कांग्रेस फेरी एकपटक विभाजनको संघारमा पुगेको छ । पार्टी नियमित महाधिबेशनमा जान नसकेको अबस्था र बिशेष महाधिबेशन सम्बन्धि बिबादले निरन्तरता पाइरहेको कारण पार्टीमा दुइवटा धारमात्र देखिएको छैनन, पार्टीमा सभापति पदमा दुई जना र कार्यबाहक सभापतिमा दुईजना गरि चारजनाले सभापतिको रुपमा आआफ्नै ढंगले गतिबिधि संचालन गरिरहेका छन ।
१४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि पार्टीको महाधिबेशन मङ्सिर/ पुषमा गर्ने वा फागुन २१ को चुनाबपछि बैशाखमा गर्ने भन्ने बिबादका कारण झन्डै डेढ महिनासम्म केन्द्रीय समितिको बैठक बसेर २०८३ बैशाखमा केन्द्रीय महाधिबेशनको मिति तोकेको तोकेको थियो।
तर चुनाब अगाडी नै बिशेष महाधिबेशन गर्नुपर्ने भन्ने तत्कालिन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अडानका कारण पुषको अन्तिममा आयोजित विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भए । १४ औं महाधिबेशनबाट निर्बाचित देउवा नेतृत्वको समितिका बहुमत केन्द्रीय सदस्य एबम पदाधिकारीहरुको अनुपस्थितिमा सम्पन्न बिशेष महाधिबेशनबाट घोषित केन्द्रीय समितिका सभापति थापा सहित सबैजसो केन्द्रीय पदाधिकारी र सदस्यहरुले चुनाबमा नराम्रो पराजय भोगे । यसका साथै समानुपातिक र प्रत्यक्ष तर्फपनि नेपाली काँग्रेसको मतसमेत निकै कम आएपछि सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिए । गगनको राजीनामापछि तिन दिनसम्म बसेर आइतबार सकिएको बैठकले थापाको राजिनामा अस्विकृत गर्ने सर्बसम्मत निर्णय गरेको सोहि समितिका प्रबक्ता देबराज चालिसेले जानकारी दिएका छन ।
बैठकमा हारको समीक्षा र राजीनामाको विषयमा चलिरहेको बेला पार्टीको विशेष महाधिवेशनप्रति असन्तुष्ट नेताहरू भने गगन नेतृत्वको केन्द्रीय समितिको विकल्प खोज्दै १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय कार्यसमितिको नामबाट पुन सक्रिय हुने तयारीमा देखिएका छन् । यसका लागि उनीहरूले राजनीतिक र कानुनी बाटोमार्फत रणनीति बनाइरहेको देउवा पक्षधर कतिपय नेताहरूको भनाई छ ।
यसरि हेर्दा नेपाली काँग्रेसमा १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा र देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी दिएका उपसभापति पूर्णबहादुर खड्का र बिशेष महाधिबेशनबाट निर्बाचित सभापति गगन कुमार थापा र थापाले कार्यबाहक सभापतिको जिम्मेवारी दिएका उपसभापति विश्वप्रकाश शर्मा गरेर चारजना सभापति पदमा बहाल रहेको देखिन्छ। कांग्रेसभित्रका चारैजना सभापतिले यतिबेला पार्टीसत्तालाई आंफ्नो नियन्त्रणमा लिन खोजेपछि आन्तरिक विवाद झनझन चर्किँदै गएको छ ।
१४औं महाधिवेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा उपचारका लागि लामो समय सिंगापुरमा रहेकोमा उनि त्यहाँबाट हङकङ पुगेको बताइएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले जेनजी आन्दोलनपश्चात् उपसभापति रहेका पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै पर्दा पछिबाट आंफ्नो अनुकुलका नेताहरु परिचालन गरेर बिशेष महाधिबेशन पक्षधरको बिरोध गरिरहेको आरोप लागिरहेको छ।
देउवाबाट कार्यवाहक सभापतिको जिम्मेवारी पाएका खड्काले पनि आइतबार पुरानै केन्द्रीय कार्यसम्पादन समितिको बैठक आफ्नै अध्यक्षतामा सम्पन्न गरेको बताइएको छ । काठमाडौँको एक होटलमा बसेको सो बैठकले १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको पार्टीको सोहि केन्द्रीय समितिका प्रचार विभागका प्रमुख समेत रहेका मीन विश्वकर्माले जानकारी दिएका छन।
खड्का समूहले बोलाएको उक्त बैठकमा नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, शशांक कोइराला, विजयकुमार गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डेलगायतको सहभागिता रहेको बताइएको छ । खड्का समूहको उक्त बैठकमा गगन थापा, विश्वप्रकाश शर्मा समूहका नेताहरू सहभागी थिएनन् । यसअघि नै थापा र शर्मालाई कारबाही गरिएकाले बैठकमा नबोलाइएको खड्का समूहका नेताहरूको भनाई छ ।
प्रचार बिभाग प्रमुख बिश्वकर्माका अनुसार खड्का समूहले अब बोलाउने केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षालगायतका विषयमा छलफल हुनेछ । तर, बैठक कहिले र कहाँ बस्ने सम्बन्धमा भने अझै निश्चित भैसकेको छैन कार्यबाहक सभापति खड्काले शीर्ष नेताहरूसँग छलफल गरेपछि मात्र मिति र स्थानको टुंगो लाग्ने बताइएको छ ।

अर्कोतिर बिशेष महाधिबेशनबाट निर्बाचित थापा समुहको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा आइतबार नै सम्पन्न भएको छ। उक्त बैठकमा देउवा, खड्का, कोइराला समूहका नेताहरू भने सहभागी छैनन् । बैठकमा कार्यबाहक सभापति रहेका विश्वप्रकाश शर्माले निर्वाचनमा टिकट नपाएका र नदिएका नेताहरूले असहयोग गर्दा पार्टीका आधिकारिक उम्मेदवारहरुको पराजय भएको निष्कर्ष निकालेको छ । देउवा समूहका नेताहरुले भने विशेष महाधिवेशनका कारण पार्टीमा उत्पन्न बिबादका कारण निर्वाचनमा पराजय ब्यहोर्नुपरेको दाबी गरेका छन् ।
‘विशेष महाधिवेशनको नाममा जे जस्तो भयो, त्यसको परिणाम पनि हामीले भोगिसक्यौं । चुनावको मुखमा आएर हामीले ५ महिनासम्म पार्टी भित्र झगडा गर्दै रह्यौँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भनेर। यो झगडाले पार्टीभित्रको समग्र एकतालाई खलबल्यायो र त्यसको सन्देश पनि जनतामा असाध्यै नराम्रोसँग गयो। त्यो निर्वाचनको पराजयका लागि पनि मुख्य कारण बन्यो ।’ देउवा पक्षका नेता श्याम घिमिरेले भनेका छन।
नेपाली काँग्रेस भित्रको बिबाद अब संसदीय दलमा पनि देखिने सम्भावना बढेको छ निर्बाचनमा प्रत्यक्ष तर्फको उमेदवारको चयन गगन थापा नेतृत्वको कार्यसमितिले र समानुपातिक तर्फका उमेदवारको चयन देउवा नेतृत्वको कार्यसमितिले गरेको भएपनि संसदीय दलमा देउवा र कोइराला पक्षका सांसदहरुको बहुमत देखिएको छ शेरबहादुर देउवालाई हटाएर सभापति बनेपनि गगनको पक्षमा संसदमा बहुमत नदेखिनु र देउवा, शेखर कोइराला पक्ष नै बलियो देखिनुले संसदीय दलमा पनि गुटको राजनीति स्पष्ट देखिने अनुमान गरिएको छ ।
नेपाली कांग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी प्रतिनिधि सभामा ३९ सांसद छन् । प्रत्यक्षमा संस्थापनका धेरै सांसद भए पनि समानुपातिकमा देउवा–कोइराला समूहका सांसद धेरै छन् । प्रत्यक्ष र समानुपातिक सबै सांसद जोड्दा थापा समुहमा १६ सांसद देखिएका छन भने कोइराला–देउवा समूहमा (देउवा १५ र कोइराला ७) गरी २२ सांसद देखिएको बताइएको छ ।

यसरि फागुन २१ गते सम्पन्न निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेको कांग्रेसभित्र दुई सभापति र दुई कार्यवाहक सभापति गरी चारजनाले सभापतिको जिम्मेवारी आआफ्नो ढंगले निर्बाह गरिरहेका छन् । बिशेष महाधिबेशनपछि कांग्रेसको आधिकारिकताको बिषय सर्वोच्च अदालतमा विचाराधीन अबस्थामा रहेकोले पनि दुईवटा केन्द्रीय समिति र चारजना सभापतिको भूमिकामा देखिने क्रम जारी छ । मुद्दाको छिनोफानो नहुन्जेल दुवै समूहले आफ्नो गुटगत सक्रियतासमेत बढाइरहेको अवस्था हेर्दा अदालतले कुनै एक समुहलाई आधिकारिकता दिंदा पनि अर्को समूह संगै बस्न सक्ने जस्तो स्थिति देखिएको छैन ।
बिशेष महाधिबेशनबाट बनेको केन्द्रीय समितिको बैठकले पार्टीको १५औं महाधिवेशन तयारीमा जुट्ने निर्णय समेत गरेको छ । १५औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा भावी रणनीति निर्धारण गरिने निर्णय गरिएको भएपनि अदालतले कसलाई आधिकारिकता दिने भन्ने विषय अन्योलमा रहेको कारण दुवै समुहले महाधिबेशनको प्रक्रिया अगाडी बढाउन भने सकेका छैनन ।
अदालतले गगन थापा समूहलाई आधिकारिकता दिएमा पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय समितिमा रहेका अधिकांश अग्रज नेताहरुसहित देउवा समुहका अधिकांश नेताहरु बाहिर पर्ने र अदालतले देउवा समुहलाई आधिकारिकता दिएमा बिशेष महाधिबेशनबाट निर्बाचित थापा समूह सहित अधिकांश युवाहरु बाहिर रहने सम्भावना देखिएको छ। यस्तो अबस्थामा दुवै समुहको बिचमा सहमति कायम गरि महाधिबेशन आयोजक समिति गठन गरेर यथाशिघ्र महाधिबेशनमा जानुको बिकल्प नरहेको कांग्रेस नेताहरुको भनाइ छ।














