पोखरा, विकास बैंकहरु मध्येको एक उत्कृष्ट बैंकको रुपमा रहेको गरिमा विकास बैंक लिमिटेडले चार्टर्ड एकाउण्टेण्टहरुको लागि आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरू प्रदान गर्ने भएको छ।
गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउण्टेण्ट संघ बीच भएको समझदारी पत्रमा संघमा आबद्द सदस्यहरुले न्युनतम रु.७५ हजार देखि रु.५ लाख सम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो रु.१५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन ।
त्यसैगरी गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा सदस्यहरूलाई घर कर्जा तथा सवारी साधन कर्जा पनि आकर्षक ब्याजदरमा प्रदान गर्ने जनाएको छ। बैंकका अनुसार यस सुविधाले पेशागत रूपमा सक्रिय चार्टर्ड एकाउण्टेण्टहरूको वित्तीय आवश्यकतालाई सहज बनाउने अपेक्षा गरिएको छ।
सम्झौताबारे जानकारी दिँदै गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद आचार्यले पेशागत समूहलाई लक्षित गरी गरिने यस किसिमको समझदारीले बैंकिङ पहुँच विस्तार गर्नुका साथै पेशागत विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। बैंकले भविष्यमा पनि विभिन्न पेशागत संघ–संस्थासँग सहकार्य गर्दै ग्राहक केन्द्रित वित्तीय सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।
















