Play

अदालतबाट संसद पुनर्स्थापन हुने ओलीको ठोकुवा, मलाई पक्राउ गर्नुपर्छ भन्नेहरु मनोरोगी हुन- एमाले अध्यक्ष ओली

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारको कुनै कानुनी हैसियत नरहेको दाबि गर्दैविना प्रक्रिया अनधिकृत रूपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्नेमा जोड दिएका छन। प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने ठोकुवा समेत गरेका छन।

‘अहिलेको सरकार कसैले टपक्क टिपेर टाँसिदिएको सरकार जस्तै फेद न टुप्पोको सरकार हो।  नागपञ्चमीतिर गोबर लगाएर नाग टाँसे जसरी कसले ल्याएर टाँसिदिएको सरकार हो, यहाँ नागको फोटो कसले टाँस्यो ? खोज्दै छु म।’ ओलीले व्यंगात्मक शैलीमा भने।  कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर-माउर देख्दा आफू आश्चर्यमा परेको उनको भनाई थियो ।

ओलीले नेकपा एमाले र कांग्रेस जनधार भएका ऐतिहासिक पार्टी भएको बताउंदै अहिले केही क्षण सूर्यमा बादल लागेकाले एमाले र कांग्रेस बाहिर रहेका उनले स्पष्ट पारे। उनले फेरि पनि देश चलाउन कांग्रेस र एमाले नै चाहिने दाबी गरे। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा देशको राजनीतिक अवस्थाबारे छलफल भएको ओलीले सुनाए। देउवासँग भएको छलफलको परिणाम केही समयमा देखिने उनले दाबी गरे। ‘बकाइदा छलफल भयो, अर्थपूर्ण छलफल भयो, त्यसको परिणाम भोलि आउँछ,’ उनले भने।

अहिले अपराध छल्न र महत्त्वाकाङ्क्षा पुरा गर्न राजनीतिमा लाग्ने लहर देखिएको बताउँदै उनले नेपाल जस्तो देशमा १ सय ४३ वटा पार्टी हुनु भद्दा मजाक भएको टिप्पणी गरे।  उनले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि गत भदौ २४ गते बालुवाटार छोड्नुपरेको तर्क गरे। ‘दुष्टहरूको घेराबन्दी तोड्नु पर्दोरहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दोरहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उनले थपे ।

ओलीले आफू त्यतिबेला कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहेको भन्दै भाग्यो भन्ने टिप्पणीलाई अस्वीकार गरे। उनले प्रश्न गरे, ’म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ ? प्रधानमन्त्री भाग्यो भनेको केयरटेकर भएर भाग्छ ?’ विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उनले दाबी गरे। ‘मैले किन बालुवाटार छोडे भन्दा नछोड्न सक्थेँ,’ ओलीले प्रश्न गरे, ‘वल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’

विपक्षीहरूले ‘ओली भाग्यो’ भन्दै गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै उनले यसलाई केटाकेटीको रमाइलोसँग तुलना गरे। ‘भाग्यो, भाग्यो भन्दा बच्चाबच्चीहरू खुसी हुन्छन् क्या ! उसले खेदे जस्तो गर्छ, आफू कुद्दिनु पर्छ,’ ओलीले भने, आफूमाथि भएको घेराबन्दी र आक्रमणबाट जोगिनुलाई कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर समेत उनले गरे ।

जेनजी आन्दोलन पश्चात एमाले अध्यक्ष एबम पुर्व प्रधानमन्त्री ओलीलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ तर ओलीले  आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिए । सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा समेत ओलीले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’ भनेका हुन् । उक्त रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन छ ।

जेन जी आन्दोलनमा दमन गरेर किशोरकिशोरीहरुको ज्यान लिएको र बेलैमा सेना परिचालन नगरेर मुलुकका महत्वपूर्ण संरचना ध्वस्त बनाउन भूमिका खेलेको भन्दै केपी ओली विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । राष्ट्रिय सुरक्षा परिषदका तत्कालिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राखी दायर निवेदनमाथिको जवाफका क्रममा ओलीले रिट निवेदन पेश गर्ने विपक्षीलाई आक्षेप लगाएका हुन् ।

उनले लिखित जवाफमा भनेका छन्, ‘सेना परिचालनको विषयमा जवाफदेही र जिम्मेवारी कानूनले निर्धारण गरेको अवस्थामा असम्वन्धित निकायलाई जिम्मेवार वनाई कारवाही गर्ने वा दोषारोपण गर्ने जस्ता कार्य गर्न र सो को माग गर्नु विपक्षीको मनोरोगको द्योतक भएको स्पष्ट छ।’उनी त्यतिमा रोकिएका छैनन् । ‘अनावश्यक मनोरोगयुक्त गन्थनको आधारमा म समेत विरुद्धको दायर रिट निवेदन न्यायनिरुपणको योग्य विषय नभएको’ जवाफ सहित खारेजीको माग गरेका छन् ।

आफू त्यतिबेला राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष भएकाले व्यक्तिगत रुपमा र अध्यक्षको हैसियतमा समेत सेना परिचालनवारे अदालतले प्रश्न उठाउन नसक्ने भन्दै ओलीले ती विषय कार्यकारिणीको अधिकारक्षेत्र भएकाले न्यायनिरुपणको विषय नहुने जिकिर गरेका हुन् । ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दा जेनजी आन्दोलनमाथि भएको दमन, बल प्रयोग र हताहतीको विषय उल्लेख गरेका छैनन् । बरु, प्रतिनिधिसभा विघटनको मुद्दामा पेश गरेको लिखित जवाफको सबैजसो हिस्सा ‘कपी–पेष्ट’ गरेर अदालतमा बुझाएका छन् ।

ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आफूले शुसीला कार्कीलाई प्रधानमन्त्रीको सिफारिस नगरेको जिकिर गरेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय गैरसंवैधानिक भएको जिकिर सहित प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेका थिए।

२५ मंसिर २०८२, बिहीबार २१:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा