- धर्मराज अधिकारी
भदौ २३ २४ को जेनजी विद्रोहपछि मुलुकको राजनीतिक सामाजिक, आर्थिक, प्रशासनिक र कूटनैतिक क्षेत्रमा जवारजस्त रुपमा केही सतही परिवर्तन आएको देखिन्छ। झण्डै दुई तिहाई बहुमत भएको दुई ठूला पार्टीको सरकार र निर्वाचित संसद अपदस्त भएको छ। संबिधानभन्दा बाहिरबाट सरकार बनेको छ। नेपाल राज्यका तिनै अंग ब्यवस्थापिका कार्यपालिका र न्यायपालिकाका केन्द्र देखि जिल्ला गाउँसम्मका संरचना, एतिहासिक सिंहदरवार, सरकारका महत्वोंपूर्ण कार्यालयहरु, प्रहरी कार्यालयहरु, सयौं उधयोग प्रतिस्थानहरु तथा निजी घर संपातिहरु ५- ७ घन्टामा नै खरानी हुन पुगे।
२३ गतेको जेनजी प्रदर्शन, त्यसमा भएको बरबर दमन र २४ गतेको बिरोध र विध्वंश बीचको सम्बन्धलाई अत्यन्तै गंभीर रुपमा अध्ययन र अनुसन्धान गर्न आबश्यक छ । हाल छानबिनको लागि कार्यरत गौरीबहादुर कार्की नेतृत्वको आयोगले सत्य तथ्य बाहिर ल्याउने नै छ । तर महत्वपूर्ण कुरा के छ भने यो घटना किन घट्न पुग्यो ? स्कूल कलेजमा पढिरहेका कलिला बिद्यार्थीहरु किन सडकमा आउनु परेको थियो। उनीहरुको माग के थियो। माग जायज थियो की थिएन ? जेनजीका माग जायज थिए भनेर तत्कालीन सरकारले समेत भनेको देखिन्छ यदि त्यस्तो जानकारी थियो भने उनीहरुका जायज मागलाई किन समयमा नै सम्बोधन गरिएन? कस्को कमजोरीले गर्दा उनीहरुले सडकमा आउनु पर्यो ? यसको जिम्मेवारी कसले लिने ? यस्ता प्रश्नहरुको जवाफ खोज्ने प्रयास हुनु जरुरी छ।
दोस्रो महत्वपुर्ण प्रश्न के छ भने, २४ गतेको विध्वंश कसले र किन गर्यो वा गरायो ? यसको पनि गंभीर छानविन हुनुपर्छ। ५-७ घण्टाको समयमा नै देशलाई खरानी बनाउने योजना र ताकत कस्को थियो यसको पनि पहिचान हुनु जरुरी छ। भाद्र २३ को दमनको बिरुद्धमा २४ गते निस्केको जनसागरलाई हिंसा, आतंक, आगजनी र विध्वंशमा परिणत गर्ने शक्ति कुन थियो ? यो अकस्मात थियो की योजनाबद्ध थियो भन्ने कुराको पनि निश्पक्ष र सुक्ष्म अनुसन्धान हुनु आबश्यक छ ।
यो दुवै दिनका घटनामा जिम्मेवार ब्यक्तिलाई राष्ट्रले न्यायकों कठघरामा उभ्याउने छ। नेपाली कांग्रेसले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा धेरै राम्रा काम गरेको भए पनि बिगत लामो समय देखि एउटा कमजोरी के गर्दै आएको देखिन्छ भने न त कांग्रेसले सत्तामा रहदा जनभावना अनुरुपको काम गर्न सक्यो न त आफू भित्र प्रजातान्त्रिक राजनीतिक संस्कारको बिकास गरी समाजमा यसको राम्रो सन्देश नै दिन सक्यो। बरु उल्टै आफै अप्रजातान्त्रिक र अधिनायकवादी कम्युनिस्ट शक्तिहरुको प्रभावमा परी सत्ता र शक्तिको दुरुपयोग गर्नपुग्यो र जनतामा समग्र प्रजातान्त्रिक ब्यवस्था प्रति नै वितृष्णा र नेपाली कांग्रेस प्रति रहेको जनताको बिस्वास र भरोसा समेत कमजोर पार्दै जेनजी विद्रोहलाई प्रेरित हुने बाताबरण तयार गर्यो ।
त्यसैले संक्षेपमा भन्नुपर्दा नेपाली काँग्रेस पार्टीले कठोर रुपमा समीक्षा गर्नुपर्ने प्रमुख दुई वटा कुरा छन। पहिलो नेपाली कांग्रेस सत्तामा रहेको बेलामा जनताको आकांक्षा अनुरूप काम गर्न नसक्नु र दोश्रो, प्रजातन्त्र बिरोधी कम्युनिस्टहरुसंग गठबन्धन गरेर निर्वाचनमा जानु, बारम्बार उनीहरुसंग सत्ता गठबन्धन गर्नु र उनीहरुकै चक्रब्यूहमा फस्नु । सत्तासीन पुराना पार्टीहरुलाई कि त सच्चिनु कि त सक्किनु भन्ने संकेत केही बर्ष अघि देखि नआएको होइन तर यसलाई नजरअन्दाज गरेर पार्टी र सरकारका ब्यवहार, नीति र नेतृत्वमा कुनै सुधार नआएकोले जेनजी विद्रोह जन्मेको हो भन्ने कुरामा दुई मत छैन।
नेपालमा लोकतन्त्रको संस्थागत बिकास हुन् नसक्नुका धेरै कारणहरु भएपनि एउटा प्रमुख कारण, २०६२-६३ पछि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका भएका नेपालका कम्युनिस्ट पार्टीहरु लोकतान्त्रिक पद्दतिमा ईमानदार नरहनु पनि हो । आँफुलाई कम्युनिस्ट भन्न रुचाउने नेपालका तथाकथित बिभिन्न नामका कम्युनिस्टहरुले लोकतन्त्रलाई उपयोग गर्ने नीति मात्र लिए । उनीहरुले कहिल्यै पनि लोकतन्त्रलाई सुन्दर पार्ने अर्थात यसको लोकप्रियता बढाउने काम गरेनन बरु अलिकति अप्ठेरो पर्यो भने आतंक सृजना गर्ने धाकधम्की दिने र परिस्थितिलाई उत्तेजित पार्ने काम गरिरहे र गरिरहेका छन । यति मात्र होइन की मुलुकमा भ्रष्ट्राचारको अन्त्य र सुशासनका लागि भएको जेनजी आन्दोलनलाई समेत दुरुपयोग गर्ने भूमिकामा नेपालका कम्युनिस्टहरु योजनवद्ध भूमिकामा रहेको आशंका धेरैले गरेका छन । यस्तो पार्टी र यसको नेतृत्वले नै आज आफ्नो पार्टिलाई बन्द गरेर एउटा अर्को कम्युनिस्टहरुको नयाँ घर बनाएर सेल्टर लिएका छन र भन्दैछन की ‘समाजवादी क्रान्तीलाई पूर्णता दिन कम्युनिस्टहरु एकै ठाउमा आउनुपर्छ र एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्छ। यसैक्रममा उनीहरुले १५-१६ वटा कम्युनिस्ट पार्टीहरु एकीकरण गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छन।
अर्कोतिर, जेनजी विद्रोहले अपदस्त गरेको प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमालेले अहिले सम्मपनि जेनजी माथिको दमनको जिम्मेवारी लिने नैतिक साहस समेत गर्न सकेको छैन। आफ्नो गल्ति र कमजोरीहरुलाई लुकाऊन र कानुनी कठघराबाट बच्न उत्तेजनाको राजनीति गरिरहेको छ। नेकपा एमालेले पनि जनतालाई भ्रममा राख्न जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेपनि मार्क्सवादी लेनिनवादी विचारधारा छोडेका छैन। यो लोकतन्त्रलाई उपयोग नै गर्ने नीति मान्न सकिन्छ। लोकतन्त्रमा आफ्नो बिचार प्रष्ट रुपमा राखेर जनताको समर्थन लिन सकिन्छ। यसले प्रजातन्त्रलाई बलियो बनाउँछ । तर जनतालाई भ्रममा पारेर आफ्नो अधिनायकवादी विचारधाराको पक्षपोषण गर्न लोकतन्त्रलाई उपयोग गर्ने नीति सर्वथा घातक र जनता प्रति धोका हो। जुन कुरा जेनजी विद्रोहले पनि पुष्टि गरिसकेको छ। सन १९९० पछि संसारभरिका कम्युनिस्टहरुले आफूलाई सान्दर्भिक बनाउन लोकतान्त्रिक देखाउने गरेपनि उनीहरु भित्र भएको अधिनायकवादी चिन्तनका कारण कम्युनिष्टहरु पतन हुँदै गएका छन । नेपालमा पनि कम्युनिस्टहरुले आँफुलाई बेलैमा लोकतान्त्रिक बन्न र बनाउन सकेनन अर्थात रुपान्तरण गर्न सकेनन भने उनीहरुको अस्तित्व पनि संकटमा पर्ने कुरामा दुईमत छैन।
नेपाली कांग्रेस पार्टीले नेपालका कम्युनिस्टहरुलाई सत्तामा ल्याएर, सत्ता गठबन्धन गरेर उनीहरुमा प्रजातान्त्रिक चरित्र बिकास हुन्छ भन्ने ठानेर २०४६ सालको जनआन्दोलनमा, २०६२/६३ सालको दोस्रो जनआन्दोलनमा साथमा लियो। परिवर्तनलाई साथ सहयोग पनि भयो। तर, राजनीतिक परिवर्तन भएर धेरै बर्ष बितेको भएपनि उनीहरुले आफूलाई प्रजातान्त्रिक बनाउन सकिरहेका छैनन। यसको कारण पनि अध्ययन योग्य नै छ। धेरै कारणहरु मध्ये एउटा कारण यो पनि हुन सक्छ की कांग्रेस पार्टीलाई नै उनीहरुले आफ्नो अनुकुल बनाउन सके र उनीहरुको डिजाइनमा वा हितमा नै काँग्रेसले काम गर्न थालेपछि उनीहरुलाई पनि परिवर्तन हुन जरूरत नै परेन।
सायद, कम्युनिस्टहरुको यही चरित्रलाई बुझेर होला, बी पी कोइरालाले कम्युनिस्टहरुसंग संयुक्त भएर आन्दोलन गर्ने कुराको सधैं विरोध गर्नु भएको थियो। नेपालका कम्युनिस्टहरु, न त उनीहरुले आफूलाई सिद्दान्तनिष्ठ भएर सत्तामा रहदा जनताको पक्षमा काम गर्न सके, न त उनीहरुले आफूलाई रुपान्तरण गर्न सके । उनीहरुमा निरन्तर बिवाद, बिभाजन र ध्रुविकरण कायम रहिरह्यो। आजसम्म एउटा पनि कम्युनिस्ट पार्टीले समय र युग अनुसार मार्क्सवाद लेनिनवाद छोडेर प्रजातान्त्रिक ब्यवस्थाका विश्वब्यापी मान्यतालाई राजनैतिक आदर्शका रुपमा मानेर रुपान्तरित भएको अवस्था छैन। त्यसैले उनीहरुले ०६२/६३ साल पछिको दोस्रो संबिधान सभाले बनाएको २०७२ सालको लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानमा समेत ब्यापक रुपमा प्रभाव पारेर आफ्ना एजेन्डाहरु जवर्जस्त संबिधानमा प्रवेश गराए।
समाजवाद उन्मुख राज्य, धर्म निरपेक्षता, खर्चिलो संघियता, अब्यवहारिक समानुपातिक निर्वाचन आदि सवेदनशील राजनैतिक स्तम्भहरु आम जनताका भावना बिपरित संबिधानमा ब्यवस्थित गरे। आज तिनै कुराहरुले गर्दा राज्यले जनतालाई न त सुशासन, न त स्थायित्व, न त बिकास, न त लोकतन्त्रलाई नै लोकप्रिय बनाउनसक्यो, बरु निरन्तरको अस्थिरता, अपवित्र सत्ता गठबन्धन, सर्वत्र भ्रष्टाचार, बेतिथी, बेरोजगारी जस्ता समस्याहरु मात्र बढ्दै गए। जसले गर्दा कम्युनिस्ट पार्टी र यसका नेता मात्रैले जनबिश्वास गुमाएनन की समग्र राजनीतिक दल, तिनका नेता कार्यकर्ता र सिंगै ब्यवस्था प्रति नै जनताको निराशा बढ्यो र युवाहरुको विद्रोहले जन्म लिन पुग्यो।
त्यसैले, नेपालमा लोकतन्त्रलाई संस्थागत गर्दै स्थायित्व दिने हो भने नेपाली काँग्रेस पार्टीले आँफुलाई प्रजातान्त्रिक बनाउन आबश्यक छ, आंफ्नो गुमेको साख र मूल्य मान्यतालाई पुनर्स्थापित गर्दै पुनर्जागृत कांग्रेस निर्माण गर्नसकेमा नेपालका कम्युनिस्टहरु सहित अरु पार्टीहरुले पनि युग अनुसार सच्चिन वा सक्किनको लागि तयार हुनुपर्ने अवस्था सृजना हुनेछ। काँग्रेस पार्टीले आफूलाई ठीक ठाउँमा उभ्याउन सकेमा कांग्रेससंग प्रतिस्पर्धा गर्ने अरु पार्टीहरुले पनि आफूलाई देशकाल अनुसार सुधार गर्न बाध्य हुनेछन।
नेपाली काँग्रेसले जसरी २००७ सालमा जहानिया राणाबाट, २०४६ सालमा निरंकुश पंचायती शासनबाट नेपालीलाई मुक्ति दिलाई अधिकार सम्पन्न बनाएको थियो अब फेरि एकपटक जेनजी युवाहरुले गरेको विद्रोह र यसबाट सृजना भएको नयाँ परिवेशलाई समालेर मुलुकका सबै तह र तप्काका ब्यक्ति वा समुदायलाई जोड्ने, लोकतन्त्रको संरक्षण गर्ने साथै समुन्नत नेपाल बनाउने नेपाली जनताको आकांक्षा पूरा गर्ने दायित्व पनि नेपाली कांग्रेसको काँधमा रहेको छ। यस ऐतिहासिक दायित्वलाई पूरा गर्न नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनवाट आउने नयाँ नेतृत्व र पुनर्जागृत काँग्रेस सफल हुनेछ भन्ने कुरामा आम प्रजातन्त्रबादी तथा राष्ट्रवादी जनताले आशा र बिश्वास गरेको देखिएको छ।
( पोखरा निवासी अधिकारी नेपाली काँग्रेसका नेता एबम पुर्व प्राध्यापक हुन )














