पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ को संयोजकको जिम्मेवारी राजकुमार गुरूङलाई र सहसंयोजकको जिम्मेवारी डोलराज (डिआर) पोखरेल दिइएको छ । आगामी माघ ९ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने छैटौं टाइगर कपको जिम्मेवारी दिने लगायतका बिषयमा संस्थाको हालै सम्पन्न बैठकले उक्त निर्णय गरेको टाइगर क्लबका अध्यक्ष नारायणप्रसाद शर्माले गुरुकुल खबरलाई जानकारी दिए ।
प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका गुरूङ नेपाल भलिबल संघका केन्द्रीय सदस्य समेत हुन् भने टाइगर ग्रुप अफ पोखरा नेपालको संस्थापक कार्यसमिति सदस्य हुन् । त्यस्तै सहसंयोजक पोखरेल खेलकुद र सामाजिक क्षेत्रसँगै ग्रुपका कार्यसमिति सदस्य हुन् । यस अघि चौथो संस्करणको प्रतियोगिताको संयोजकमा दिपक कार्की र पाँचौ संस्करणमा रामकृष्ण ज्ञवाली संयोजकको जिम्मेवारी सम्हालेका थिए ।
संस्थाले यस संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको बताएको छ । छैटौं सस्करणको तयारीमा रहेको आयोजकले पुरस्कार राशी बढाउने घोषणा गरिसकेको छ । अध्यक्ष शर्माका अनुसार छैटौ संस्करणको च्याम्पियन हुने महिला तथा पुरूष दुबैतर्फको टोलीले समान ६ लाख ६६ हजार ६६६ नगद प्राप्त गर्ने छन् । उपविजेताले नगद रु ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६६६ हात पार्ने छन।
पाँचौ सस्करणमा सो पुरस्कार राशि उपाधि बिजेतातर्फ ५ लाख ८५ हजार ५५५ रुपैयाँ उपविजेता तर्फ २ लाख ८५ हजार ५५५ रुपैयाँ रहेको थियो । सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६६६ प्राप्त गर्दा अन्य विद्यागत उत्कृष्ट हुने खेलाडीले समान नगद रु ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट र विधागततर्फ पनि महिला तथा पुरुष समान पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ ।
इगर ग्रुपका सचिब डिबी नेपालीले दिएको जानकारी अनुसार पाचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।














