पोखरा, केहि बर्षदेखी पोखरामा संचालन हुँदै आएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत छैटौं संस्करणको प्रतियोगिता यस बर्ष आगामी माघ ९ देखि १७ गतेसम्म हुने भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको अनुसार यस बर्ष माघमा हुने प्रतियोगिताको लागि बिगतको बर्षको तुलनामा पुरस्कार रकममा समेत वृद्धि गरिएको छ।
महिला तथा पुरुष तर्फ विजेता हुने टोलीलाई ६ लाख ६६ हजार ६ सय ६६ रुपैया र उपविजेतालाई ३ लाख ६६ हजार ६ सय ६६ साथमा शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने अध्यक्ष शर्माले जानकारी दिए । यस बर्ष विजेता तथा उपविजेता हुने टोलीलाई गत बर्षको तुलनामा ८१ हजार १ सय ११ रुपैया बृद्धि गरिएको हो । त्यसै गरी प्रतियोगितामा तेश्रो हुने टोलीलाई १ लाख ६६ हजार ६ सय ६६ रुपैया प्रदान गरिने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई २६ हजार ६ सय ६६ रुपैया प्रदान गरिने भएको छ भने प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही ११ हजार ६ सय ६६ रुपैया प्रदान गरिने भएको छ ।
गत बर्ष प्रतियोगितामा दुईवटा विदेशी टोली सहित पुरुष र महिला तर्फ ६/६ टोलीले सहभागिता जनाएका थिए् । गत बर्ष महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखराले जितेको थियो भने पुरुष तर्फ नेपाल पुलिस क्लवले उपाधि जितेको थियो ।




















