काठमाडौं, भदौ २४ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, चारैवटा सुरक्षा निकायका प्रमुख, केही मन्त्री, एमालेका सीमित नेता सहभागी छलफलमा एउटा खबर आयो– कांग्रेस सभापति शेरबहादुर देउवाको घर ठूलो संख्याका प्रदर्शनकारीले घेराऊ गरिसकेका छन् ।
त्यसबेलासम्म सुरक्षा निकायका प्रमुख, मुख्यसचिव, गृहसचिवलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छिटो माग सम्बोधन गर्न सके’ क्षति कम हुने ध्यानाकर्षण गराइसकेका थिए ।
छलफलमा सहभागी एक अधिकारीका अनुसार कसैले पनि ‘राजीनामा’ भन्ने शब्द उच्चारण गरेका थिएनन् तर आसय त्यही नै थियो । तर ओली टसको मस थिएनन् । उनी राजीनामा दिने मनसायमा थिएनन् ।
त्यहाँ बस्दाबस्दै सबैभन्दा पहिला सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको निवास जलाइएको खबर आयो, लगत्तै बालुवाटारमा रहेका गृहसचिव गोकर्णमणि दवाडी, गृहमन्त्री रमेश लेखकलगायतको निवासमा आगजनी गरिसकिएको खबर आयो ।
प्रचण्ड निवास, देउवा निवास, मन्त्री क्वाटर भैँसेपाटीलगायतका स्थानमा ठूलो संख्याका प्रदर्शनकारी पुगिसकेको र कैयौँ नेताहरुको निवास पनि टार्गेटमा रहेको खबर बालुवाटार पुगिसकेको थियो । प्रदर्शनकारी बालुवाटार वरिपरि जम्मा भइसकेको खबर पनि आइरहेको थियो ।

तर ओलीको अडान फेरिएको थिएन । त्यहाँ उपस्थित उच्च अधिकारीहरु अब आफूहरुले नै राजीनामा दिनुपर्ने निष्कर्षमा पुगे ।
जब उनीहरु बालुवाटारबाट बाहिर निस्कने सुरसारमा थिए प्रदर्शनकारी नजिकै रहेको सूचना पाए ।
भित्रबाहिर, भित्रबाहिर गरिरहे । उनीहरुले एमालेका नेताहरु तथा बालुवाटार रहेका मन्त्रीहरुलाई त्यसपछि स्पष्टरुपमा भने– अब प्रधानमन्त्रीको राजीनामा नआए थेग्न सक्ने अवस्था छैन ।
त्यसपछि ओली राजीनामा दिन तयार भए, तर राष्ट्रपतिकहाँ पुगेर बुझाउन सक्ने अवस्था थिएन सुरक्षाको कारणले ।
ओलीको राजीनामा त्यहीँ खटिएका एकजना सुरक्षाकर्मीमार्फत् शीतलनिवास पठाइयो ।
प्रधानमन्त्री ओली सामूहिक छलफलमा रहेका बेला बूढानीलकण्ठको तनावपूर्ण अवस्थाबारे जानकारी गराइएको थियो ।
अनि प्रधानमन्त्रीले सेनापतिलाई – चिफ सा’ब देउवाजीलाई जसरी पनि उद्धार गर्नुपर्यो । उहाँ लोकतन्त्रका लागि लडेको नेता हो । उहाँको निवास जल्नुभएन, उहाँलाई कसरी सकिन्छ त्यसरी नै उद्धार गरिहाल्नुपर्यो ।”
त्यसबेलासम्म बूढानीलकण्ठमा नेपाल प्रहरीका कम्तिका ८० जना, सशस्त्र प्रहरीका ३०–३५ जना र नेपाली सेनाका पनि त्यति नै संख्यामा सुरक्षाकर्मी पुगिसकेका थिए ।
तर देउवा चोक (हाल नाम परिवर्तन गरी जेनजी चोक बनाइएको छ) मा ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीको हुल देउवानिवासतर्फ अघि बढेपछि सुरक्षाकर्मीले न त रोक्न सके, न त तितर¬बितर पार्न नै ।
त्यहीँको छलफलपछि थप सुरक्षाकर्मी खटाउने, हेलिकोप्टर पठाएर उद्धार गर्नेबारेमा छलफल पनि भएको थियो । परराष्ट्रमन्त्री आरजू राणा देउवाको सुरक्षाका लागि खटिएका नेपाली सेनाका अधिकारी पनि निवासमै थिए ।
पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवाले लिएको सुरक्षाकर्मीबाहेक तीनवटै निकायका डेढसय बढी पुगिसकेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका थप संख्यामा पठाइएका गाडी महाराजगन्ज चोकबाट अघि बढ्न सकेनन् ।
आन्दोलनकारीले सुरक्षाकर्मीलाई आग्रह गर्दै भनेका थिए–‘भ्रष्टाचारीको पक्षमा नलाग्नू’, ‘हामी भ्रष्टाचारविरुद्धको लडाइँमा छौँ, तपाईंहरूले पनि साथ दिनूस्’ लगायतका आग्रह महाराजगन्ज चोकमा पनि र देउवा निवासमा खटिएका सुरक्षाकर्मीलाई गरेका थिए ।
बिहान करिब ११ बजेतिर देउवा निवासको पर्खाल तोडेर आन्दोलनकारी भित्र प्रवेश गर्नु र हेलिकोप्टर माथि उड्नु समय एउटै थियो ।
के यो संयोगमात्रै थियो ?
देउवानिकटका एक नेता भन्छन्– भन्न सकिने अवस्था छैन ।
उनका अनुसार, सुनियोजित भनौँ भने नेपाली सेनाले नै देउवा दम्पतीलाई अन्तिमसम्म लडेर जोगाएको थियो । तर त्यही हेलिकोप्टर १० मिनेट अघि पुगेको भए छतबाट उद्धार गर्न सकिन्थ्यो ।
हुन त छतबाट ‘एयर लिफ्ट’को तयारी त्यहाँ पुगेका सुरक्षाकर्मीले नगरेका होइनन् तर सम्भव भएन ।
“यति ठूलो संख्याका प्रदर्शनकारी त्यहाँ पुगेका थिए कि त्यहाँबाट उद्धार गर्न नसकिने अवस्थामा हामी पुगिसकेका थियौँ,” एक सुरक्षा अधिकारीले भने ।
उनका अनुसार, त्यहाँ पुगेका सुरक्षाकर्मी नै कैयौँ भागिसकेका थिए, कतिले आफ्नो कपडामा हतियार बेरेर लुकाइसकेका थिए । सुरक्षाकर्मीमा सबैभन्दा ठूलो डर नै आफ्नो हतियार तलमाथि होला भन्ने थियो त्यसबेलासम्म ।
त्यहाँ खटिएकालाई बाहिर प्रहरीकै हतियार लुटिएको सूचना थिएन त्यसबेलासम्म ।

नेपाली सेनाको टोलीसँग अत्यधुनिक हतियार थियो । तर चलाउने अवस्था थिएन । त्यो हतियार त्यहाँ चलाइएको भए सयौँको संख्याका प्रदर्शनकारी हताहत हुन सक्थे ।
छतबाट कैयौँ हवाइ फायर भयो तर डगमगाएनन् प्रदर्शनकारी ! अघिल्लो दिन २३ गतेमात्रै बानेश्वरमा संसद् भवन प्रवेश गर्न लागेका १९ जनाको ज्यान गएको थियो ।
देउवा सचिवालयका एक अधिकारीका अनुसार आक्रोशित अवस्थामा रहेका प्रदर्शनकारी थुप्रै चिनिएका अनुहार थिए । जो आगजनी गर्न उद्धत थिए ।
यसअघि पटक–पटक कैयौँ देउवा निवास पुगेका थिए विभिन्न कामको सिलसिलामा ।
जब प्रदर्शनकारी भित्र प्रवेश गरे, देउवा दम्पतीले घर उनीहरुका लागि छाडेर बाहिर निस्किँदै थिए ।
कतिले आरजूलाई त्यहाँ रहेको कुकुरसँग तुलना गरिरहेका थिए त कतिले अपशब्द प्रयोग गरेका भिडियो सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् ।
त्यसबेलासम्म गेटमा रहेको सुरक्षाकर्मी बस्ने भवनमा आगजनी भइसकेको थियो । हातमा पेट्रोल बम थिए, ड्याङ ड्याङ पड्काइरहेका थिए । उनीहरुले मोलोटोभ प्रहार गरिरहेका थिए ।

घरभित्रबाट बाहिरिने क्रममा देउवालाई कसैलै मुक्का हानेर ढलाएको सुरक्षामा खटिएका एक प्रदर्शनकारीले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा बताए ।
“उहाँ (शेरबहादुर देउवा)लाई चक्कु हानिएको र त्रिशूल हानिएको भनेर प्रचार गरियो, तर त्यस्तो होइन । त्यहाँ रहेका कसैले उहाँलाई मुक्का हान्यो उहाँ ढल्नुभयो त्यही बेलामा लागेको चोट हो,” उनको दाबी छ ।
तर यसबारेमा अस्पतालको रिपोर्ट पनि अहिलेसम्म सार्वजनिक भएको छैन । उनका अनुसार, आरजूलाई पनि मुक्का हानेर ढलाइएको थियो ।
दुवैजनाको टाउकोबाट रगत बगिरहेको थियो । केही प्रदर्शनकारी संयमित देखिन्थे । उनीहरु आफैँले पनि कुटपिट गर्न नहुने, कानुनले नै कारबाही गर्ने बताउँदै जोगाउने प्रयास गरेका थिए ।
त्यसबेलासम्म सुरक्षाकर्मीले देउवा दम्पतीलाई दक्षिणतर्फको चौरमा झार्न भर्याङ तयार पारिसकेका थिए ।
देउवा नजिकका र उद्धारमा खटिएका केही सुरक्षा अधिकारीसँग हामीले गरेको अनौपचारिक कुराकानीअनुसार त्यसबेलासम्म देउवा दम्पती निकै आत्तिइसकेका थिए ।
आरजूको हातमा रहेको मोबाइल पनि खोसिसकेका थिए प्रदर्शनकारीले । त्यसपछि उनीमाथि मुक्का हानियो । भुइँमा लडाइयो । नेपाली सेना, सीमितमात्रामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी, केही प्रदर्शनकारीको सहयोगमा उनीहरुलाई कम्पाउन्ड बाहिरको चौरमा पुर्याइएको थियो ।
त्यसपछि आन्दोलनकारी झनै आक्रोशित देखिएका थिए । उनीहरुका हातमा जे छन् त्यसैले हानिरहेका छन् । सुरक्षाकर्मीले प्रदर्शनकारीले ढुंगा, बोटल, गुलेलीलगायतबाट जोगाउन देउवा दम्पतीलाई घेरा हालेर राखेका थिए ।

बाहिर टिनको छानो भएको सानो ओत लाग्ने ठाउँ थियो । त्यहाँ रहेका बेला चारैतिर खुला ठाउँबाट आन्दोलनकारीले ढुंगा हानेको हान्यै गरे ।
प्रदर्शनकारी रोक्दै रोकिएनन् । त्यहीँ आइपुगे । त्यही भर्याङ चढेर आए, कोही अर्कोपट्टिबाट निस्किए । खुला चौरमा जताबाट पनि हान्न सकिने खाली ठाउँको फाइदा उनीहरुले लिए ।
शेरबहादुर देउवाको टाउकोबाट रगत बगिरहेको थियो । आरजू राणा पनि आत्तिएकी थिइन् । खुला चौरको टिनमुनि बसेका बेला प्रहार गरिएका कैयौँ ढुंगाले देउवा दम्पतीलाई पनि लागेको थियो ।
त्यहाँमाथि घुमिरहेका हेलिकोप्टर तल ल्यान्ड गर्न सक्ने अवस्था थिएन । सेनाको हेलिकोप्टरमा गुलेलीबाट ढुंगा प्रहारको प्रयास भइरहेको थियो ।
“उद्देश्य नै ज्यान मार्ने खालको थियो । गोलीसँग कोही नडराउने !,” प्रहरीका एक उच्च अधिकारीले भने । नेपाली सेनाले लगेको ‘फष्ट एड बक्स’को सहारामा देउवा दम्पतीलाई टिनको छानामुनि चारैतिरबाट घेरेर राखिएको थियो ।
हेलिकोप्टर बस्न नसकेपछि नेपाली सेनाले एपीसीसहितका गाडी पठाएको थियो । तर त्यहाँ पुग्नै सकेनन् ।
“देउवा दम्पतीलाई सेनाको सुरक्षामा टिनको जस्ताभित्र पानी, ग्लुकोजलगायत खुवाइरहेका थियौँ,” एक अधिकारीले भने, “एकैछिन शान्त भएजस्तो हुन्छ फेरि उस्तैगरी आन्दोलनकारी आइहाल्छन् ।”
यो क्रम बिहान ११ बजेदेखि रातिसम्मै चलिरहेको थियो ।
“एकैछिन शान्त भएका आन्दोलनकारी शेरबहादुर देउवा र आरजू देउवा कहाँ छन् ? भन्दै आइरहन्थे, नेपाली सेनाले हवाइ फायर गरेर तितरबितर बनाउँथ्यो,” एक प्रत्यक्षदर्शीको भनाइ थियो ।
उनका अनुसार नेपाली सेनाले त्यसबेला सयौँ राउन्ड हवाइ फायर गरेको थियो । सेनाले हवाइ फायर गर्न थालेपछि आन्दोलनकारी तितरबितर भएको उनले जानकारी दिए ।
राति १० बजेसम्म सशस्त्र, नेपाल प्रहरी र आर्मीबाट खटिएका निकै कममात्रै सुरक्षाकर्मीले देउवा दम्पतीलाई घेरेर राखेका थिए ।
“हामीले त्यसपछि हिँडाएरै लैजाने योजना बनायौँ, शेरबहादुर देउवा र आरजू राणालाई कसैले नचिन्ने गरी कपडा ओढाइदियौँ,” उनले भने, “त्यसपछि करिब १५ मिनेट हिडायौँ । खोल्सा र जंगलको बाटोमा कतै बोक्यौँ त कतै हिँडायौँ ।”
करिब १५ मिनेट उकालो हिँडाएर जंगलको छेउमा पुगेपछि सुरक्षाका साथ उनलाई गाडीमा चढाएर नेपाली सेनाको शिवपुरीस्थित गणमा पुर्याइएको थियो ।
अन्तिमसम्म नेपाली सेनाका अधिकारी, केही सशस्त्र र नेपाल प्रहरीका जवानले साथ दिएका थिए । उनका अनुसार जेनजी आन्दोलनमा गएका केही नेविसंघका कार्यकर्ता पनि राति १० बजेसम्म सँगै थिए ।
“उहाँहरुलाई बचाउन सशस्त्र र प्रहरीका केही व्यक्ति अन्तिमसम्मै लडे । नाङ्गै भएर पिटाइँ पनि खाए,” ती प्रत्यक्षदर्शीले भने, “नेपाली सेनाका जो यहाँ सुरक्षाका लागि खटिएका थिए । उनीहरुको भूमिका निकै राम्रो थियो ।”
देउवाको निवासमा खटिएका एक सुरक्षा अधिकारीका अनुसार बिहान ८ बजे नै एउटा टोली पुगेर देउवालाई घरबाट बाहिर निष्कन अनुरोध गरेको थियो ।
तर देउवाले मानेनन् ।
“हाम्रो एउटा टोलीले त्यो टोलीले ‘यहाँ खतरा छ’ भन्दा शेरबहादुर देउवा ओभर कन्फिडेन्स भएको पायौँ,” उनले भने, “मैले के गरेको छु र मलाई के गर्छन् ? यो सबै आक्रोश केपी ओलीप्रति छ । केपी ओली नरुचाएको समूहले यो आन्दोलन गर्दैछन् । मैले केही गरेको छैन । मैले प्रचण्डलाई पनि टिकटक बन्द नगरौँ भनेकै थिएँ । ओलीलाई पनि फेसबुक बन्द नगरौँ भनेको मानेनन् । यो आक्रोश केपी ओलीप्रति हो । यहाँ केही हुँदैन भन्नुभयो ।”
- बलराम पाण्डे/ बाह्रखरीबाट
















