आमाको सम्झनामा

- मन्जु बराल आचार्य
छैनौं तिमी भन्दा नि यो मन मान्दैन ।
मनभित्रै छौ भन्दा नि किन मन बुझ्दैन ।।
थियौं तिमी मेरा दुःखको साथी ।
तिम्रा दुःखमा म कहाँ हुन पाएँ साथी ?
छोरीको जन्म किन पाएँ आमा ।
छोरा भए सदा हुन्थेँ नि साथमा ।।
भित्र भित्रै म एक्लै छट्पटीदा ।
नदेखी नबोली बुझ्थ्यौं नि सारा पीडा ।।
ए आमा अब कहाँ तिमीलाई पाउँला ।
आमा भनि अब म कस्लाई बोलाउँला ।।
आँसुले तिम्रो बाटो छेक्छ भन्छन् ।
के गरूँ आमा यि रोक्दै रोकिन्नन् ।।
जब सन्सार सुत्छ म रोइ बस्छु ।
बिहान उठ्छु,हाँसे झैं गर्छु ।।
छैनन् कोही अब यी ऑंसु पुछ्ने ।
हाँसो भित्र लुकेको पीडा यो बुझ्ने ।।
सबैलाई भन्थेँ सन्सार यस्तै हो ।
आफैंलाई पर्दा बुझाउँनै नसकिने भो ।।
तिमी बिनाका ४५ दिन खै कसरी काँटे ।
याद छैन मलाई आज कुनदिन के गते ।।
न दुःख पायौं न दुःख कटायौ ।
महाप्रस्थान होइन आहाप्रस्थान पायौ ।।
पायौ होला मोक्ष यही आश राख्छु ।
८४ मा फेरी नपर्नु प्रार्थना यही गर्छु ।।













