पोखरा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म देशका पाँचवटा प्रदेशका बिभिन्न जिल्लामा धेरै बर्षा हुनसक्ने भएकोले शुक्रबार देखि सोमबारसम्म अत्यावश्यक बाहेकको यात्रा नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले यहि असोज १७ गते शुक्रबार देखि २० गते सोमबार चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा धेरै वर्षा हुनसक्ने भन्दै सूचना सार्वजनिक गरेकाले प्राधिकरणले उच्च सतर्कताका लागि यस्तो अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

यता, प्रधिकरणले जारी गरेको सूचनालाई आधार मानेर विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले पनि आंफ्नो जिल्लाभित्रका बासिन्दालाई यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिरहेका छन। कास्की जिल्ला प्रशासन कार्यालयले मौसम पुर्बानुमानको आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, भुक्षय, हिमपात लगायतको जोखिम र सडक तथा हवाई यातायत समेत प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गरि सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
सुचनामा बिरेठाटी- घान्द्रुक, बिरेठाटी – उल्लेरी, लुम्ले- लान्द्रुक, काहुँखोला – तांगटिंग, सिक्लेस लगायतका सडकमा रातिको समयमा यात्रा नगर्न, कास्की जिल्ला वा पोखरा जोडिने प्रमुख राजमार्गहरु सिद्दार्थ राजमार्ग, भूपी शेरचन राजमार्ग र पृथ्वीराजमार्गहरुमा समस्या आएमा तत्काल परिचालान गर्नको लागि डोजर. एक्साभेटर लगायतका हेभी उपकरणहरु सम्बन्धित सरकारी कार्यालय र निजि क्षेत्रले पनि तयारी अबस्थामा राख्न समेत निर्देशन दिईएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गते शुक्रबार देखि नै सतर्कता अपनाउन आग्रह गर्नु र जिल्ला प्र्रशासन कार्यालयहरुले पनि सतर्कताको लागि आग्रह गरेपछि आम सर्बसाधारणमा १७ गते बिहान सबेरैबाट मौसममा गडबडी आउने हो कि भन्ने आशंका बढेको थियो ।
तर, शुक्रबार बिहान कास्की जिल्ला लगायत गण्डकी प्रदेश र अन्य अधिकांश क्षेत्रको मौसम पनि सफा देखिएको कारण सर्बसाधारणले आफ्नो यात्रालाई निरन्तरता दिईरहेका छन् कतिपयले दशैंको टिका समेत पुर्णिमा सम्म लगाउने र कतिपयले बिहिबार मात्र टिका लगाउने भएपनि आआफ्नो गन्तब्यमा पुग्न बाँकी रहेको कारण कतिपय सर्बसाधारण अन्योलमा परेको छन।

मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका नारायणी, बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको जनाइएको छ ।
बाग्मती प्रदेशको काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ । यसैले सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न प्राधिकरणले अनुरोध गरेको हो ।

प्राधिकरणले अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिने र सो निर्णय पालना गराउन, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, डुबान हुने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान पनि अनुरोध गरेको छ ।
तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्न, पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्ट) मा रहन पनि प्राधिकरणले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।















