Play

ट्याक्सी सेवाको लागि पोखरामा ‘मुभइन’ नामको एप शुरु, यात्रुले भाडामा बार्गेनिंग गर्नुनपर्ने

गुरुकुल खबर


पोखरा, राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी व्यवसायीले आफैँ मोबाइल एप सुरु गरेका छन् । पोखरामा सार्वजनिक यातायात सेवालाई प्रविधिमैत्री बनाउने गरी अनलाइन एपको घोषणा गरिएको हो । यसका लागि ‘मुभइन’ नामको अनलाइन एप हालै सार्वजनिक गरिएको हो । सुरुमा एप प्रयोग गर्न चालक वा ग्राहक दुवैले कुनै शुल्क तिर्नु नपर्ने र विस्तारै देशैभर सेवा पुर्‍याउने योजना रहेको कम्पनीले हाल पोखरा सहित आसपासका ठाउँहरुलाई समेटेको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले एप सार्वजनिक कार्यक्रममा प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्न माग गरे । उनले भने, ‘चार पाङ्ग्रे सवारीलाई मात्र यसमा समेट्नुपर्छ । यस एपमार्फत व्यवसायी प्रविधिमैत्री बन्न तयार रहेको सन्देश प्रस्ट भएको छ ।’

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एप सञ्चालनले शहरको ट्याक्सी सेवामा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार ट्याक्सी व्यवसायीलाई प्रविधिको विरोधी भनेर हेरिएको धारणा अब गलत साबित हुनेछ ।

निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एप प्रयोगमा आएपछि चोकमा उभिएर ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुने बताए । उनले भने, ‘अब ट्याक्सी चढ्नुअघि कतिमा लैजान्छौ भनेर सोधिरहनु पर्दैन ।’

हाल एपमा १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् भने पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा छन् । यसबाट यात्रुहरूले आफ्नै गेटबाट ट्याक्सी बोलाउने सुविधा पाउने विश्वास लिइएको छ ।

एपको प्राविधिक विकासमा पोखराका आइटी इन्जिनियर रविन तिवारीसहित ४५ जनाको टोलीले झन्डै एक वर्ष समय खर्चेको थियो । प्रारम्भिक चरणमा मुभ इन नेपालले चालकहरूबाट कुनै पनि कमिसन नलिने निर्णय गरेको छ । चालकहरूले एपमा ‘लाइभ’ देखिनका लागि न्यूनतम ५ सय रुपैयाँको ब्यालेन्स राख्नुपर्नेछ, तर यो रकम काटिने छैन । सुरुमा एपको प्रयोगबारे जनचेतना जगाउन प्रयास गरिने र बिस्तारै व्यावसायिक बनाउँदै लैजाने उनको भनाइ छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले सार्वजनिक यातायातलाई प्रविधिमैत्री र सहज बनाउन नयाँ एप ल्याइएको बताए । उनले भने, ‘हामीले एपलाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका साथ अघि बढाएका छौँ । भविष्यमा पनि नाफाको ठूलो हिस्सा व्यवसायीहरूको हितमै खर्च गरिनेछ ।’

प्रारम्भिक चरणमा एप प्रयोगबापत कम्पनीले कुनै कमिसन नलिने घोषणा गरेको छ । चालकहरू एपमा सक्रिय देखिन न्यूनतम ५०० रुपैयाँ ब्यालेन्स राख्नुपर्ने तर सो रकम नका व्यवस्था गरिएको छ । यात्रु र चालकलाई एप प्रयोगबारे सचेत गराउन विशेष अभियान चलाइने पनि पराजुलीले बताए ।

निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले भने, ‘यो बच्चा जन्मिसकेको छ । अब यसलाई हुर्काउने, बढाउने काम हाम्रो काँधमा छ । आफ्नो पेसालाई सम्मानजनक बनाउन यसले टेवा पुर्‍याउनेछ ।’

१४ आश्विन २०८२, मंगलवार २०:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा