पोखरा, गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापाले जेनजी समुहको नाममा भएको आन्दोलनमा घुसपैठ भई अराजक समूहले ध्वंस मच्चाएको र त्यसले देशका ऐतिहासिक अभिलेख, दस्तावेज नष्ट गर्नुको साथै आँफुमाथि ठूलो अपमान र दुश्मनी साधिएको उल्लेख गरेका छन । नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएको छोटो समयमा नै दुई पटक सम्म प्रदेश सांसद र प्रदेशका बिभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थापा कांग्रेसको महाधिबेशन प्रतिनिधि समेत हुन।
जेनजीको नाममा भएको आन्दोलनलाई आपराधिक समूहहरूले अपहरण गरेर त्यसैको बहानामा मेरो घर, मेरो पसिना र मेरो सपना नियोजित रूपमा लुटपाट र तोडफोड गर्नुको साथै आगोले जलाएर खरानी पारेको उनको भनाई छ । पोखराका ब्यबसायी समेत रहेका थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा आफ्नो जलेको घर सहित ब्यबसायिक भवनको तस्बिर राख्दै लेखेको छन।

“जीवनभर पसिना बगाएर, दिनरात नभनी संघर्ष गर्दै, आफ्नै परिवारको सुख–दुःख बिर्सेर व्यवसायमा खट्दा मेरो एउटै सपना थियो—यसको फलले मेरो परिवार मात्र होइन, सयौँ युवाको भविष्य उज्यालो होस् । उनीहरूका घरपरिवारमा रोजगारीको ज्योति जलोस् । त्यो पूरा गर्न पाउँदा मलाई अझै मिहिनेत, निष्ठावान हुन र समाजसेवामा लाग्न प्रेरणा मिलेको थियो । तर आज, दशकौंको घाम–पानी, आँसु र मिहिनेतले सिर्जना गरेको सम्पत्ति नियोजित रूपमा खरानी पारिँदा हृदय भक्कानिन्छ । तर, त्यसैमा अल्झिने छुट मलाई छैन ।
भदौ २३ र २४ गतेको दिन मेरो जीवनमा कहिल्यै नबिर्सने घाउ बनेर बस्यो । जुन दिन पछिल्लो पुस्ता जेनेरेसन जेड (जेनजी)ले गरेको आन्दोलनले नेपालको इतिहासमै उज्यालो दिन बन्ने छ भन्ने मैले कल्पना गरेको थिएँ । पारदर्शिताको पक्षमा, असमानता, भ्रस्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विपक्षमा जेनजीले गरेको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याउने आशा थियो । त्यसैक्रममा भदौ २३ गतेको आन्दोलनमा कालिला नानीबाबुहरुसहित १९ जनाले ज्यान गुमाउँदा अन्त्यन्त पीडावोध महसुस गरायो । जुन हिसाबले मानवीय क्षति भयो, मन विक्षिप्त भयो । अहिले त्यो संख्या बढेर ५० जना नाघिसकेको छ । म ती सम्पूर्ण मृत आत्महरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु । प्रहरीले बल प्रयोग गर्दा सयौंको संख्यामा घाइते भएका छन्, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्यो घटनाले मेरो पनि जेनजी पुस्ताको मागप्रति नैतिक समर्थन थियो ।
तर, भोलिपल्टको आन्दोलनमा जसरी घुसपैठ भयो, अराजक समूहले ध्वंस मच्चायो, त्यसले देशमा ठूलो आर्थिक तथा ऐतिहासिक अभिलेख, दस्तावेज नष्टमात्रै गरेन, ममाथि ठूलो अपमान र दुश्मनी साँधियो । आन्दोलनलाई आपराधिक समूहहरूले अपहरण गरे र त्यसैको बहानामा मेरो घर, मेरो पसिना र मेरो सपना नियोजित रूपमा लुटपाट, तोडफोड र आगोले खरानी पारिदिए ।
मेरो घर, व्यावसायिक प्रतिष्ठानहरुमा लुटपाट, तोडफोड गरियो र आगो लगाइयो । दशकौँको मिहिनेतले, आफ्ना आँसु र पसिनाले जोडेको श्रम–सम्पत्ति एकै झड्कामा धुलोमा मिलेको देख्दा, लाग्छ—आफ्नै हातले माया गरेर हुर्काएको बिरुवालाई कसैले निर्ममतापूर्वक उखेलेर जलाइदिएको हो । म सधैं इमान र पारदर्शितामा अडिएको मानिस हुँ । अरूको मेहनतको मूल्य बुझ्ने, आफ्नो पेट काटेर पनि श्रमलाई सम्मान गर्ने सोचमै जीवन बिताएँ । तर आज, यही इमानदारी र मिहिनेतको प्रतिफल खरानी बनेको छ । यो पीडा शब्दमा पोख्न कठिन छ । घरमा ९३ वर्षकी बुढी फूपू हुनुहुन्छ, मेरा परिवार छन् । यस सबैकुरा हुँदा पनि अनुहारमा आक्रोशभन्दा बढी वेदना देख्छु । परिवारको आँसु हेर्दा मन भक्कानिन्छ ।
राष्ट्रबैंकको जागिरले सुरु भएको मेरो यात्राले २०६० सालमा अवकाशपछि नयाँ मोड लियो । पाएको उपदान र पैत्रिक सम्पत्तिलाई आधार बनाएर मोटरसाइकल वर्कसपको सानो कोठाबाट सुरु भएको मेरो व्यवसाय तीन दशकमा रि–कन्डिसन, अटोमोबाइल, वित्तीय संस्था, घरजग्गा आवास, आतिथ्य र पर्यटनसम्म विस्तार हुँदै आयो । यस यात्रामा अनेकौँ कठिनाइ थिए । ऋणका लागि बैंकको ढोका ढकढक्याएको दिन, घाटा सहेर पनि मजदुरको तलब नरोकिन दिने संघर्ष, निराशाले ढाकेको लामो रातहरू ताजै छन् । तर यी सबै संघर्षलाई जितेर हजारौँ युवालाई रोजगारी दिने अवसर पाएँ ।
आज मेरो इमान र श्रमलाई कलंकित गर्दै, भ्रष्टाचारको निराधार आरोप लगाइयो र मेरो सम्पत्ति खरानी बनाइयो । परिवारका सदस्यहरूको मनमा परेको चोट म शब्दमा बयान गर्न सक्दिन । जसले जीवनभर इमानदारीलाई धर्म ठानेर पसिना बगायो, उसलाई दोषी मान्नु योभन्दा ठूलो अन्याय के होला ?
मैले राजनीति व्यक्तिगत स्वार्थका लागि रोजेको होइन । बरु राजनीति भनेको जनताको लागि, युवाको भविष्यका लागि, जनजीविकासँग जोडिनुपर्ने बाटो हो भन्ने विश्वासले नै व्यवसायबाट राजनीतिमा प्रवेश गरेको हुँ । राजनीतिले मलाई पद वा प्रतिष्ठा होइन, जनताको पीडा कम गर्ने बाटो देखायो । यही सोचले गर्दा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यको रूपमा निर्वाचित भएँ । जनताले दिएको विश्वासको कदर गर्दै २०७८ मा कानुन मन्त्रीको रूपमा सेवा गर्ने अवसर पाएँ । फेरि २०७९ सालमा पनि जनताले मत दिएर प्रदेश सभा सदस्यमा पुनः निर्वाचित गराउनुभयो र अहिले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको रूपमा जनताको सेवामा समर्पित छु ।
म सांसद र मन्त्री भएर पाउने सुविधा, पारिश्रमिकलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्नुपर्ने कुनै आवश्यकता थिएन । बरु त्यसमा व्यक्तिगत रकम थपेर विपदमा परेकाहरू, असहाय, बिरामी, बेसहारा परिवारका लागि खर्च गर्दै आएको छु । कास्की क्षेत्र नं. २(२) का हजारौँ मतदाताले दिएको समर्थन र विश्वास मेरो लागि जीवनकै ठूलो सम्पत्ति हो । तपाईंहरूको माया र विश्वासले नै मलाई जनताको सेवामा निरन्तर खटिरहन प्रेरणा दिएको हो ।
२०७२ को भूकम्प होस् वा कोभिडको कठिन घडी । मैले सदैव आफ्नो व्यावसायिक आम्दानी र राजनीतिक जीवन दुवैलाई समाज र मानवताको सेवामा अर्पण गरेको छु । यो तथ्य हरेक वर्ष पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आएको कुरा पनि तपाईं सबैले देख्नुभएको छ । आज प्रश्न उठ्छ—देशमै बसेर व्यवसाय गर्नु, युवालाई रोजगारी सिर्जना गर्नु, समाजसेवामा लगाव देखाउनु, के मेरो ठूलो अपराध हो ?
सोही दिन मेरो भाइ ध्रुव थापाको घरलाई समेत जलाइयो । सानो उमेरदेखि आफ्नै परिश्रमले सम्पत्ति आर्जन गरेका उनको घर पनि खरानी बनाइयो । त्यसमाथि घरमै रोजगारीको क्रममा बसिरहेका एक बहिनी र लेकसाइडस्थित अंशुभरा स्क्वायरमा काम गर्ने अर्को बहिनीलाई जिउँदै जलाइयो । निर्दोष आत्माहरूलाई यति अमानवीय कृत्यले मार्दा मेरो हृदय टुट्छ—तिनीहरूको के दोष थियो ? के म राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले यति कठोर सजाय पाइरहनुपर्ने हो ?
मैले जीवनभर सुशासन र पारदर्शितालाई धर्म ठानेर काम गरेको छु । एक पैसा भ्रष्टाचार गरेको छैन, कुनै प्रलोभनमा परेको छैन । यदि मैले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने, म जस्तोसुकै कठोर सजाय भोग्न तयार छु, तर निर्दोष हुँदा पनि यसरी अपमानित हुनु र सम्पूर्ण उपलब्धि खरानी पारिनु अमानवीय मात्र होइन, घोर अपमान हो, अन्याय हो ।
जेनजीको नाममा नियोजित रूपमा ममाथि गरिएको यो विनाश कुनै आन्दोलन होइन, अपराध हो । मेरोमात्र होइन, भर्खरै बामे सर्दै गरेको हाम्रो देशको अर्थतन्त्रलाई दशकौँ पछाडि धकेलेको छ । सत्य–तथ्य छानबिन भई दोषीमाथि कठोर कारबाही होस् भन्ने मेरो जोडदार माग छ ।
यही नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । यस पीडादायी क्षणमा मलाई सहानुभूति, सद्भाव र हौसला दिनुभएका सम्पूर्ण शुभचिन्तक, मतदाता र जनताप्रति म हृदयदेखि नमन गर्दछु । तपाईंहरूको माया, समर्थन र विश्वासले मलाई अझ दृढ, अझ सशक्त बनाएर अघि बढ्ने साहस दिएको छ ।
भौतिक सम्पत्तिहरू जलेर नष्ट भए, संरचना खण्डहर बने पनि मेरो आत्मबल, इमानदारी र प्रतिबद्धता जल्न सक्दैन । मेरो सबैभन्दा ठुलो सम्पत्ति मेरो आत्मबल, ईमान र निष्ठा हो, जसलाई कुनै आगोले जलाउन र नष्ट गर्न सक्दैन । यस पीडादायी घडीमा माया, सहानुभूति र हौसला प्रकट गर्नुभएका सम्पूर्ण शुभचिन्तक, साथीभाइ र नागरिकहरूलाई हृदयदेखि नमन गर्दछु । विषेशगरि मेरो निर्वाचन क्षेत्रका सम्पूर्ण जनताहरूको हरेक दुख–सुखमा साथ र सहयोग गर्दै अएको छु र यो भन्दा पनि कठिन परिस्थितिमा पनि गरिरहने पनि छु, तपाईंहरू सबैको सद्भाव र साथले मलाई यो खरानीभित्रै नयाँ आशाको बीउ रोपेर फेरि उठ्ने दृढसंकल्प दिएको छ ।
बिन्दुकुमार थापा, पोखरा
२७ भाद्र २०८२, शुक्रबार २३:१० मा प्रकाशित