
- रोशन अधिकारी
पछिल्लो समय नेपालमा पनि डिजिटल साक्षरताको प्रभाव बढ्दो छ नेपाली नागरिकहरुले पनि आजकल आँफुलाई आबश्यक पर्ने जुनसुकै विषयको जानकारी पाउन सामाजिक संजाल वा डिजिटल प्लेटफर्मको प्रयोग गर्ने प्रवृति बढ्दै गएको छ। डिजिटल प्लेटफर्मको प्रयोगले नागरिकहरुलाई विश्वस्त पार्ने मात्र नभएर उनीहरुले लिन चाहेको सेवा, समय र पैसाको स्पष्ट जानकारी पाउने भएकोले नागरिकहरु कुनै बस्तु वा सेवाको प्रयोग गर्नको लागि डिजिटल प्लेटफर्म तर्फ आकर्षित हुने क्रम बढेको मान्न सकिन्छ।
अन्य बिबिध सेवा र बस्तुजस्तै स्वास्थ्य उपचार सेवाको लागि पनि पछिल्लो समय डिजिटल प्लेटफर्मको प्रयोग बढ्दै गएको छ । जसका कारण स्वास्थ्य उपचार सेवा कस्तो बिशेषज्ञबाट लिने, कुन अस्पताल वा स्वास्थ्यसंस्थाबाट लिने र कतिसम्म खर्च गर्ने जस्ता बिषयको जानकारी लिन पनि डिजिटल प्लेटफर्म प्रयोग गर्नेहरुको संख्यामा बृद्धी हुँदै गएको पाइएको छ। स्वास्थ्य संस्था वा अस्पतालहरुको मार्केटिंगको लागि डिजिटल प्लेटफर्मसंगै भौतिक रुपमा आयोजना गरिने स्वास्थ्य शिबिर लगायतका गतिबिधिको आबश्यकता पनि बढ्दै गएको देखिएको छ।
पोखराकी २६ वर्षीया दीपिका घिमिरेले केहि समय अगाडी आंफ्नो स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि अस्पताल खोज्दै थिइन । तर, उनले तुरुन्तै अस्पताल नपाएपछि आफ्नो मोबाइलबाट गुगल सर्च गरिन्। पाँच मिनेटमै उनले नजिकैको दुई अस्पतालको वेबसाइटबाट डाक्टरको समय तालिका हेरिन, अस्पतालको बारेमा अनलाइन समीक्षा पढिन र एउटा अस्पताल रोजेर उपचार सेवाको लागि अस्पताल पुगिन।
“मलाई सजिलो लाग्यो, किन कि सबै जानकारी वेबसाइटमै थियो। अपोइन्टमेन्ट लिन पनि मोबाइलमा क्लिक गरेपछि भयो।” उनले अनुभव सुनाइन्। यो कथा केवल दीपिकाको मात्र होइन, अहिलेको डिजिटल पुस्ताको वास्तविकता पनि हो। बिरामीहरूले अस्पताल रोज्दा केवल गुणस्तर मात्र होइन, बिबिध बिषयमा जानकारी लिनको लागि पनि डिजिटल प्लेटफर्मलाई सहज रुपमा प्रयोगमा ल्याउन थालेका छन अर्थात डिजिटल प्लेटफर्ममा रहेको अस्पतालको सुचना प्रणालीको भरपुर उपयोग गर्न थालेका छन।
अस्पतालहरुलाई केवल उपचार गर्ने स्थान वा केन्द्रको रुपमा मात्र हेर्ने नेपालीहरुको परम्परागत सोचाईमा पछिल्लो समय परिवर्तन आएको छ। प्रतिष्पर्धा संगै प्रविधिको उच्चतम प्रयोग गर्ने प्रवृति बढिरहेको बर्तमान अबस्थामा अस्पतालले बिरामीलाई उपचार सेवा त प्रदान गर्छन नै, त्यसबाहेक समुदायसँग समन्वय र सहकार्य गर्दै विश्वासको बाताबरण निर्माण गर्ने, अन्य अस्पताल र चिकित्सकहरुसँग सहकार्य बढाउने र विभिन्न किसिमको गुणस्तरीय उपचार सेवा विस्तार गर्नेगरि बहुआयामिक भूमिका समेत खेल्न थालेका छन।
अबका दिनमा बिरामीले आंफ्नो वा आफन्तको स्वास्थ्य उपचारको लागि कुन अस्पताल रोज्ने भन्ने निर्णय केवल उपचार शुल्क वा दूरीलाई हेरेर मात्र गर्दैनन। उनीहरूले अस्पतालले प्रवाह गर्ने गरेको सूचना, सेवाग्राही एबम नागरिकहरुसंग अस्पतालको पहुँच, अस्पतालले दिने सेवामा पारदर्शिता, सामाजिक संजाल वा डिजिटल प्लेटफर्ममा अस्पतालको उपस्थिति र समुदायसँग अस्पतालले कायम गरेको सम्बन्धलाई पनि आधार बनाउन थालेका छन्।
एक अध्ययन प्रतिबेदनका अनुसार पछिल्लो समय करिब ७० प्रतिशत बिरामीले अस्पताल जानु अगाडी कुन अस्पताल रोज्ने भनेर इन्टरनेटमा जानकारी खोज्ने गरेका छन। अमेरिकामा गरिएको एक अध्ययनले स्वास्थ्य सम्बन्धी जानकारी खोज्नको लागि जनसंख्याको ६० प्रतिशत मानिसले सबैभन्दा पहिले गुगल प्रयोग गर्ने गरेको र त्यसपछि मात्र आंफ्नो साथीभाई र परिवारसँग सल्लाह लिने गरेका छन ।
२०२३ को जनवरीमा नेपालमा मात्र १ करोड २६ लाख जति मानिस सामाजिक सञ्जालको प्रयोगकर्ता रहेको एक अध्ययनले देखाएको छ।जुन कुल जनसङ्ख्याको ४१ प्रतिशत हो। नेपालीहरुको ठुलो जनसंख्या अर्थात ८५ प्रतिशत भन्दा बढीले मोबाइल फोनसंगै इन्टरनेट र विभिन्न सामाजिक संजाल वा डिजिटल प्लेटफर्मको प्रयोग गर्ने भएको कारण अब अस्पतालहरुले पनि वेबसाइट, अनलाइन अपोइन्टमेन्ट, टेलिमेडिसिन, फेसबुक, युट्युब जस्ता डिजिटल प्लेटफर्मलाई उपेक्षा नगरी आफ्नो सेवा बिस्तार गर्नुपर्ने अबस्था सिर्जना भएको छ ।
यसो भन्दैमा अस्पतालहरुले केवल डिजिटल उपस्थितिलाई मात्र प्राथमिकतामा राख्दैमा सफलता प्राप्त हुन सक्दैन। समाजमा प्रत्यक्ष सम्पर्कमा रहने अनि सोही अनुसार रेस्पोन्स गर्नेहरुलाई बढी विश्वसनीय मानिन्छ। यसैले अस्पतालहरूले आफ्नो सेवाको प्रभावकारिता बढाउन भौतिक रुपमा विभिन्न गतिविधिहरु संचालन गर्नुपर्ने बाध्यात्मक अबस्था बिधमान रहेको छ।
अस्पतालहरुले समुदायमा आंफ्नो उपस्थितिसंगै विश्वसनीयता बढाउन गाउँ गाउँमा स्वास्थ्य शिबिरहरु संचालन गर्ने क्रम पनि जारी छ। ग्रामीण क्षेत्रमा आयोजित स्क्रिनिङ क्याम्प वा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागी हुनेहरु सम्बन्धित अस्पतालमा नै सेवा लिन जाने गरेका प्रशस्त उदाहरणहरु छन। स्याङ्जाकी गोमा थापा भन्छिन्, “हामीले अस्पतालको सेवा शिविरमै पायौँ, त्यसपछि उपचारका लागि पनि सोहि अस्पतालमै गयौँ।” उनको यो भनाईले सामुदायिक स्वास्थ्य शिविरले पनि आमनागरिकको विश्वास जित्नसक्छ र उनीहरू स्वास्थ्य सेवाका लागि सोहि अस्पताललाई नै रोज्ने गर्छन भन्ने पनि स्पष्ट हुन्छ ।
यसबाहेक अस्पतालले प्रदान गर्ने उपचार सेवाको बारेमा नजिकका अन्य स्वास्थ्य संस्था र अस्पतालहरुको साथै बिज्ञ चिकित्सकहरुलाई भेटघाट गरि जानकारी गराउनु समेत प्रभावकारी मानिन्छ। केही समय अगाडी पोखराको एक सुबिधा सम्पन्न अस्पतालले क्यान्सर उपचार सेवाको शुरुवात गर्ने क्रममा पोखरा भित्र र पोखरा उपत्यका बाहिरका विभिन्न अस्पताल र चिकित्सकलाई प्रत्यक्ष भेटेर त्यस सम्बन्धि जानकारी गराएको थियो। जसका कारण उक्त अस्पतालमा उपचारको लागि आउने क्यान्सरका बिरामीको संख्या बढ्नुका साथै अस्पताललाई गण्डकी प्रदेशभित्र क्यान्सर रोगको उपचार गर्ने प्रमुख अस्पतालको रुपमा परिचित हुन पुगेको छ ।
स्वास्थ्यसंस्था वा अस्पतालहरुले उपचार सेवा प्रदान गरेका बिरामीहरुमध्ये नयाँ किसिमको बिरामीहरुको उपचार सेवा र कुनै जटिल किसिमको उपचारमा मिलेको सफलतालाई आमनागरिकहरु सामु प्रवाह गर्नु पनि आबश्यक भैसकेको छ। यसका साथै अस्पतालले प्रदान गर्ने नयाँ सेवा वा आपतकालीन सुविधाका बारेमा पनि समयमै विभिन्न माध्यमबाट सार्वजनिक गर्दा समुदायमा विश्वास बढ्छ।
अस्पतालले प्राप्त गर्ने सफलताको पछाडी अब भौतिक संरचना र विभिन्न स्वास्थ्य उपकरणसंगै बिरामीसँग प्रत्यक्ष रुपमा वा डिजिटल प्लेटफर्म मार्फत गरिने बोलि र ब्यबहार समेत निर्णायक बन्न थालेको छ। यसरी हेर्दा, अस्पतालले आफ्नो डिजिटल उपस्थितिलाई बलियो बनाउन सके बिरामीसँग उपचार सुरु हुनु अघि नै विश्वासको बाताबरण निर्माण गर्न सक्ने देखिन्छ।
पछिल्लो समय प्रविधिको प्रयोग मात्र नभएर स्वास्थ्य संस्था र अस्पतालहरुबीचको आपसी प्रतिष्पर्धा पनि बढ्दै गएको छ । बर्तमान अबस्थामा विभिन्न अस्पतालहरूले आंफ्नो आधिकारिक वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल वा डिजिटल प्लेटफर्ममार्फत स्वास्थ्यसम्बन्धी सामग्री, सचेतनामूलक सन्देश र विशेषज्ञको परामर्श प्रवाह गर्ने क्रममा तिब्रता देखिनु बढ्दो प्रतिष्पर्धात्मक बाताबरणमा अगाडी बढ्नको लागि गरिएको प्रविधिको प्रयोग हो ।
जसका कारण आजकल केही ठूला र सुबिधा सम्पन्न अस्पतालहरूले नियमित रुपमा स्वास्थ्य उपचार सेवा सम्बन्धि भिडियो प्रसारण गर्न थालेका छन। डिजिटल प्लेटफर्म मार्फत प्रशारण हुने यस्ता भिडिओमा विशेषज्ञले सामान्य रोग, जीवनशैली र रोकथामबारे सजिलो भाषामा जानकारी दिने गरेको पाइन्छ। जसका कारण अस्पताललाई केवल उपचार गर्ने स्थान वा केन्द्रको रुपमा मात्र नभएर समुदायलाई शिक्षित गर्ने संस्थाका रूपमा स्थापित गराएको मान्न सकिन्छ।
आजको युग प्रतिष्पर्धाको युग पनि भएकोले अस्पतालहरुले प्रदान गर्ने उपचार सेवामा पनि प्रतिष्पर्धा कायम छ। जुन अस्पतालले आफ्नो सेवा, उपचार सफलता, बिरामीमैत्री व्यवहार र आंफ्नो लक्षित् समुदायमा प्रभावकारी ढंगले कार्यक्रम वा गतिबिधिहरु संचालन गर्दछन, तिनै अस्पतालहरु नै बहुसंख्यक बिरामीहरुको रोजाइमा पर्नेमा दुईमत छैन।
यदि अस्पतालले आफ्नो सेवा र गतिविधिको बारेमा सूचना प्रवाह गरेर नागरिकहरुको बिश्वास आर्जन गर्न सकेनन भने बिरामीहरु अन्य अस्पतालतर्फ आकर्षित हुन सक्छन्। तसर्थ आजको समयमा गुणस्तरीय उपचार सेवा मात्र अस्पतालको लागि पर्याप्त छैन, त्यो गुणस्तरीय उपचार सेवालाई समुदायसम्म पुर्याउने क्षमता नै अस्पतालको वास्तविक प्रतिस्पर्धात्मक शक्तिको रुपमा लिन सकिन्छ ।
पछिल्लो समय डिजिटल प्लेटफर्ममा पर्याप्त देखिने गरेको ‘हेल्थकेयर मार्केटिङ’लाई कतिपयले अहिले पनि केवल प्रचार–प्रसारको रुपमा मात्र बुझ्ने गरेका छन। तर, यसको मुख्य उद्देश्य भनेको अस्पतालले आंफ्नो सेवा र गतिबिधिको बारेमा समुदायसँग समन्वय र सहकार्य बढाउंदै विश्वासको बाताबरण कायम गर्नु पनि हो । डिजिटल प्रविधिबाट हजारौं मानिसलाई एकैसाथ सन्देश पुर्याउन सकिन्छ भने स्वास्थ्य शिविर, चिकित्सक भेटघाट र प्रत्यक्ष सहकार्य मार्फत अस्पतालले समुदायसँग गहिरो र दिर्घकालिन सम्बन्ध स्थापित गर्नसक्छ। डिजिटल उपस्थिति र प्रत्यक्ष सम्पर्क दुवैलाई मिलाएर अघि बढ्दा मात्र अस्पतालले दीर्घकालीन रुपमा सफलता पाउने कुरा निश्चित जस्तै हो।
( अधिकारी, नेपाल मणिपाल शिक्षण अस्पताल पोखरामा मार्केटिंग प्रबन्धकको रुपमा कार्यरत छन)














