Play

पोखरामा जारी कोटीहोमका कारण पोखराको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर बिशेष चर्चामा

गुरुकुल खबर


पोखरा, ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि ओझलमा परेको पोखरा -१७ स्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिर पोखरामा आयोजना गरिएको कोटिहोम बिराट ज्ञान महायज्ञका कारण यतिबेला चर्चामा आएको छ । गण्डकी शत कुंडिय गायत्री कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती महाराजले पोखरामा कोटीहोम गर्ने स्थानको रुपमा सदाशिव सिद्धेश्वर हरिहर मन्दिरको स्वामित्वमा रहेको पोखरा -१७ बिरौटाचोक नजिकको जग्गालाई छनोट गरेपछि उक्त स्थानसंगै मन्दिरको चर्चा बढेको छ ।

कोटीहोम गर्नको लागि पोखरा -६ लेकसाइडस्थित नेपाल ट्रष्टको स्वामित्वको जग्गासहित अन्य जग्गा छनोट गरिएको र आबश्यक भाडासमेत दिएर भुमिपुजन भैरहेको समयमा पोखरा महानगरपालिकाका केहि जनप्रतिनिधि र नगरप्रहरी पुगेर बल प्रयोग गरि पोखरामा कोटीहोम हुन नदिन सम्भव भएसम्मका सबै प्रयास गरेका थिए। तर पोखरामहानगरको उक्त कदमको बिरुद्ध अदालत र प्रशासन समक्ष कुरा पुगेपछि पटक पटक चरणबद्ध बार्ता भएको थियो। त्यसपछि पोखरा महानगरपालिकाले गठन गरेको पाँच सदस्यीय समितिको सुझाव बमोजिम विरौटा स्थित सदाशिव सिद्धेश्वर हरिहर मन्दिरको स्वामित्वको जग्गा सहित अन्य व्यक्तिहरुको जग्गा समेत मिलाएर सोहि स्थानमा गण्डकी शत कुण्डीय गायत्री कोटिहोम हुन लागेको हो ।

सो कोटिहोममा धार्मिक सङ्घसंस्था, व्यक्ति तथा स्थानीय जनताको मात्र नभई स्वदेश तथा विदेशका मानिस समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिने भएकाले हरिहर मन्दिर परिचित हुने र मन्दिरको कोष खडा भएपछि सञ्चालन तथा व्यवस्थापनमा सहज हुने धाराणा आयोजकबाट आएको छ । महायज्ञको आयोजक संस्था मानव सेवा फाउन्डेसनले पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित हरिहर मन्दिरको व्यवस्थापन तथा सञ्चालनका लागि ‘कोष’ खडा गर्न सहयोग गर्ने आन्तरिक सहमतिपछि उक्त स्थानमा महायज्ञ निश्चित भएको हो।  पोखराको पर्यटन प्रबर्द्दनमा सहयोग पुर्‍याउने उद्देश्यका समेत काटिहोमले गरेकोले पनि अहिले मन्दिरको चर्चापरिचर्चाले प्राथमिकता पाएको हो ।

किंवदन्तीअनुसार तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेती नदीस्थित सीताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको दिव्यवाणी भएपछि खोज्दै जाँदा काफ्ली गाईले दूध चढाइरहेको शिला भेटिएको र त्यसपछि सोही स्थानमा मन्दिर स्थापना गरी नित्य पूजाआजा सञ्चालन गर्न थालिएको हो ।  स्थापनाकालको मन्दिर जीर्ण भएपछि मौलिक स्वरुपमा परिवर्तन नहुने गरी मर्मतसम्भार गरिएको र अहिले दर्शन तथा पूजाआजाका लागि भक्तजन आउने गरे पनि मन्दिर ओझेलमा परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र शर्मा भण्डारीले गुरुकुल खबरलाई जानकारी दिए ।

मन्दिर निर्माण भई नित्यरुपमा पूजाआजासहित सञ्चालनका लागि पोखरा महानगरपालिका–१७ पार्दी, विरौटामा २९ रोपनी १२ आना जग्गा गुठी अन्तर्गत रहेको छ । तर राजगुठीका नाममा दर्ता भएको सो जग्गा भूमाफियाले आफ्नो नाममा दर्ता गरिसकेको तर पछि अदालत सहित सरोकारवालाको सहयोगका कारण व्यक्तिको स्वामित्वबाट जोगाएर मन्दिरको स्वामित्वमा राख्न सफल भएको अध्यक्ष भण्डारीले बताए ।

उनका अनुसार हरिहरको दर्शन गर्दा आफूले सोचेको पुग्ने हुँदा प्रत्येक वर्ष माघे सङ्क्राान्तिका दिन लाग्ने ढुङ्गेसाँघु मेला, शिवरात्रि, रामनवमी लगायतका विभिन्न पर्वका अवसरमा त्यस मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा निर्माण भएको १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीका धाराले सो स्थानको आकर्षण बढाएको छ । “लामो समयसम्मको स्थानीयको अथक प्रयासका कारण भूमाफियाको अधिकारबाट खोसेर जग्गा मन्दिरको नाममा ल्याउन सफल भइएको छ”, अध्यक्ष भण्डारीले भने, “त्यही जग्गामा अहिले हरिहरको शक्तिले कोटिहोम हुन गइरहेका कारण यस तीर्थस्थल विश्वसामु परिचित हुने विश्वास छ । त्यसमा सबैको साथ–सहयोगको अपेक्षा गरेका छौँ ।”

सीताघाटमा स्नान गरी हरिहर मन्दिर, अकालादेवी, सीताको पाइला, राम मन्दिर, सिद्धेश्वरलगायतका देवदेवीको बासस्थान रहेको सो स्थानमा हुन लागेको कोटिहोममा स्वदेश तथा विदेशबाट आउने गुरु, सन्त–महन्थ, महात्मा, वाचकलगायत सम्पूर्ण भक्तजन आउने र त्यसले प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ । सेतीनदीमाथि प्राकृतिक पुल ढुङ्गेसाँघु सोही क्षेत्रमा रहेको छ । हरिहरको शक्तिको कारण ढुङ्गा र माटोबाट निर्मित पुलले मानव निर्मित यातायातका साधनलाई समेत आवतजावतमा सुविधा पुगेको छ ।

विश्व शान्तिको कामना गर्दै पर्यटकीय नगरी पोखरालाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथद्वारका रुपमा परिचित गराउने र ऐतिहासिक महत्वको हरिहर मन्दिरलाई देशविदेशमा समेत स्थापित गराउने लक्ष्यका साथ कोटिहोम आयोजना गर्न लागेको मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले जानकारी दिए ।

यसैगरी गण्डकी प्रदेशका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरको महत्वलाई स्वदेश तथा विदेशमा समेत परिचित गराउने लक्ष्य रहेको उनले बताए । उनका अनुसार कोटिहोमको माध्यमबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रिय  तथा अन्तरराष्ट्रिस्तरमा पुर्‍याउँदै पोखराको पर्यटन प्रबर्द्दनमा सहयोग पुग्ने विश्वाससहित वैदिक ज्ञान, धर्म, परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षको उजागर गर्न सहयोग पुग्नेछ ।

“पोखरामा कोटिहोम गर्नका लागि सुरुका दिनमा केही विवाद भए पनि पछिल्लो समयमा सबैको अपनत्व हुने गरी सदाशिवजी हरिहरको शक्तिको प्रभावले मन्दिरकै गुठी जग्गामा हुन लागेको छ,” उनले भने, “कोटिहोममा सबै क्षेत्रको सक्रिय सहभागिता रहने विश्वास छ ।”सो मन्दिरसहित आसपासको झन्डै ८० रोपनी जग्गाभित्र १०० कुण्ड निर्माण गरिएको छ जसमा आचार्य, ब्राह्मणसहित तिनसय बढी ब्राह्मणले जौ–तिल, घ्यू–चामल र अन्य द्रव्य मिश्रित ‘चरु’ तयार गरी डेढ महिनासम्म नित्य होमहोमादी गरिने भएको छ ।

मुक्तिनाथ दर्शन गर्ने प्रत्येक तीर्थालु भक्तजनले ल्याएको जल हरिहर मन्दिरमा चढाउने र विधिपूर्वक गरिएको होमनको विभूति (खरानी) स्वस्ति शान्तिको प्रतीकका रुपमा प्रत्येकको घरघरमा पुर्‍याउने लक्ष्य कोटिहोमको छ । यसबाट हरिहर मन्दिरको महत्व थप उचाइमा पुग्ने विश्वास लिइएको छ । कोटिहोमको पूर्वसन्ध्यामा साइकल र डुङ्गा र्‍याली, सामूहिक विवाह, व्रतवन्ध र चौरासी पूजा, राष्ट्रिय भजन प्रतियोगिता वक्तृत्वकला प्रतोयोगिता लगायतका विभिन्न कार्यक्रम गरिने महयज्ञ सङकल्पकर्ता बालयोगेश्वरको भनाई छ ।  प्रवचनमा आउने भक्तजन तथा दर्शकले दिएको स्वेच्छिक दान लिइने बताउँदै कोटिहोम सम्पन्न गर्दा लाग्ने खर्च कटाएर बाँकी मन्दिर व्यवस्थापन तथा सञ्चालनमा प्रयोग हुने संकल्पकर्ता बालयोगेश्वरको भनाई छ ।

पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीका अनुसार कोटिहोमले यस क्षेत्रको धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसारमा महत्वपूर्ण उपलब्धि पुग्नाका साथै पोखरा भ्रमण वर्षलाई समेत सहयोग पुग्नेछ ।  उनले यस किसिमको पवित्र धार्मिक कार्यमा सम्पूर्ण वडावासीको साथ–सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष शाहीले भने कोटिहोमबाट धार्मिक ज्ञान प्राप्त गर्नाका साथै स्थानीय बासिन्दाको आयआर्जनसँग पनि जोडिनु अपरिहार्य छ ।

सम्बन्धित समाचार ..

पोखराको कोटीहोममा रौनक बढ्दो, वडाध्यक्ष शाहीपछि प्रदेश सांसद कार्की पुगे महायज्ञमा

कोटीहोम महायज्ञमा शुक्रबारबाट देबीप्रतिभाले कथाबाचन गर्ने, शीतल कृष्णको प्रवचन शनिबार

पोखरा कोटीहोमको लागि बिरौटाको जग्गामा भुमिपुजन, स्थानीयहरुसंगै पहिले बिरोध गर्नेहरुपनि उपस्थित

कोटीहोमको भुमिपुजन बिरौटास्थित महायज्ञस्थलमा आज हुँदै, बाराहीघाटमा क्षमापुजा पनि गरिने

७ बैशाख २०८२, आईतवार २२:३२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा