पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यहि फागुन ९ गते शुक्रबार पोखरामा विरोध सभा गर्ने भएको छ । बिरोध सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।राप्रपा गण्डकी प्रदेश समितिको आयोजनामा पोखराको पृथ्वीचोकबाट र्याली शुरु गरि चिप्लेढुंगामा पुगेर बिरोधसभामा परिणत हुने कार्यक्रम तय गरिएको छ ।
मुलुकमा बढ्दो भ्रष्ट्राचार र कुशासनको भण्डारफोर गर्ने अनि नवीन समझदारीमार्फत मुलुकलाई निकास दिने उद्देश्यले विरोध सभा आयोजना गरिएको राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । बिरोध सभाको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै राप्रपा नेता गुरुंगले गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका साबै खाले भ्रष्टाचारको भण्डाफोर गर्ने तयारी रहेको बताए ।
राप्रपाले संवैधानिक राजसंस्था पुनःस्थापनादेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक सांसद र संघीयता खारेज जस्ता विषयलाई प्रमुख एजेन्डा बनाएको उनले स्पष्ट पारे । पूर्ण समानुपातिक सांसद बनाउने, सांसदलाई नभएर बिज्ञलाई मन्त्री बनाउने, सनातन हिन्दु अधिराज्य कायम गर्ने, भ्रष्ट्राचार अन्त्य गर्ने, विभिन्न खाले विभेद अन्त्य गर्ने जस्ता एजेन्डा राप्रपाले अघि राखेको छ ।
राप्रपाले देशको पछिल्लो असहज परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै चरणबद्ध आन्दोलन र विरोधका कार्यक्रम तय गर्ने राप्रपा केन्द्रीय सदस्य अर्जुन खनालले जानकारी दिए । ‘हामीले स्पष्ट रुपमा भनेका छौं । हामी अवस्था बदल्नका लागि व्यवस्थालाई बदल्नुपर्छ भनेर युद्धको पूर्वसन्ध्यामा छौं । युद्ध भनेको आन्दोलन हो । आन्दोलनको प्रकृति के हुन्छ भन्ने कुरा आन्दोलनले नै निर्धारण गर्छ,’ उनले भने ।
राज्यको अर्थतन्त्रले धान्न नसक्ने खर्च, अनुत्पादक क्षेत्रहरुमा लगानी र अव्यवस्थित कर प्रणालीका कारण अर्थतन्त्र संकटमा परेको राप्रपाको ठहर छ । राप्रपाबाट गण्डकी प्रदेश सभा सांसद बनेकी विन्दु अधिकारी पौडेलले प्रदेशमा रोजी रोजी मन्त्रालय दिँदासमेत आफूहरु मन्त्री नबनेको दाबी गरिन् । ‘राप्रपाले दिगो सरकारका लागि मत दियो त्यसैले रोजीरोजी मन्त्री दिँदा समेत हामी मन्त्री बन्न गएनौं,’ उनले भनिन।