पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले नेपाली काँग्रेस सरकारमा रहंदा मुलुकको समृद्धिको लागि धेरै काम भएको तर जनअपेक्षा अनुरुप कतिपय काम भने हुन नसकेको बताएका छन। नियमित रुपमा कांग्रेसले सरकार संचालन गर्न पाउने हो भने अबको १० देखि १५ बर्षभित्रमा नै नेपाललाई गरिबी मुक्त देश बनाउन सकिने नेता भट्टराईले दाबी गरे।
नेपाली काँग्रेसको १ सय दिने बिशेष अभियानको लागि कास्की जिल्लामा खटिएका कांग्रेस नेता भट्टराईले पोखरा महानगरपालिका वडा न. ५ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसले धेरै काम गरेको तर बिबिध कारणले चाहेर पनि कतिपय काम हुन नसकेको स्पष्ट पारे।
२००७ सालमा प्राप्त प्रजातन्त्रलाई स्थायित्व दिन सकेको भए बिकासले फड्को मार्ने थियो भन्दै भट्टराईले पटक पटकको राजनीतिक अस्थिरता र अबरोधले बिकास अबरुद्द हुन पुगेको दाबि गरे । यसै प्रसंगमा उनले भने “२०१५ मा पहिलो जननिर्वाचित सरकारलाई अपदस्त गरेर मुलुकमा पंचायती ब्यबस्था रहंदा विकास अबरुद्द हुन पुग्यो त्यसपछि २०४६ मा प्रजातन्त्र पुनर्बहाली त भयो, तर एमालेको अराजकता, माओबादीको शसस्त्र युद्द, तत्कालिन राजा ज्ञानेन्द्रद्वारा सैनिकको बलमा सत्ता कब्जा र पछिल्लो समय विदेश बसेर मिडियाको दुरुपयोग गर्दै नेपाल फर्किनेहरुको फन्डा जस्ता कारणले राजनीतिक अस्थिरता संगै विकास अबरुद्द हुन पुगेको हो।”
कांग्रेस नेता भट्टराईका अनुसार पंचायतकालमा सरकारको बार्षिक बजेट २६ अर्ब रहेकोमा अहिले १८ खर्ब भन्दा बढी पुगेको छ। त्यसबेला देशमा सात हजार किमी सडक बनेकोमा अहिले एक लाख किमी भन्दा बढी सडक बनिसकेको छ। नेपालीको स्वास्थ्य अबस्थामा सुधार आएर औसत आयु ५४ वर्षबाट बढेर ७२ बर्ष पुगेको छ। दुई सय २७ मेगावाट बिद्युत उत्पादन हुने गरेकोमा अहिले नेपालले बिद्युत निर्यात गर्न सक्ने भएको छ। त्यसबेला रोजगारीको कुनै अवसर नभएको भएपनि हाल सरकारी संरचनामा ३ लाख २५ हजार र निजि क्षेत्रमा ५०/५५ लाख मानिसले रोजगारी पाएको छन्। रेमिटेन्स बढेर बार्षिक ८/९ अर्ब पुगेको छ। बालबालिकाहरु बिद्यालयमा पढ्न जाने अबस्था नरहेकोमा अहिले सबै बालबालिका बिद्यालय पुग्ने अबस्था बनेको मात्र नभएर सरकारले बालबालिकाको लागि ठुलो रकम शिक्षा क्षेत्रमा खर्च गर्न सक्ने भएको छ।
देशमा केहि भएन भन्नु भन्दा पनि सोचे अनुसारको काम हुन नसकेकोले उपयुक्त बाताबरण तयार गर्ने तर्फ सबै लाग्नुपर्नेमा समेत भट्टराईले जोड दिए। यसै प्रसंगमा उनले भने, “अब आसन्न चुनाबमा नेपाली काँग्रेसलाई ५० प्रतिशत मत प्राप्त गर्न सक्ने पार्टी बनाऔं। देशलाई फेरी पनि पछाडी धकेलिन नदिन केन्द्र देखि स्थानीय तहसम्मका नेता र कार्यकर्ता गम्भीरता पुर्बक लाग्नु आबश्यक छ।”
कांग्रेसको केन्द्र देखि तल्लो तहसम्म पिडा र असन्तुष्टि ब्याप्त रहेको भन्ने कार्यकर्ताहरुको जिज्ञाशामा नेता भट्टराईले भने। “कांग्रेसका कार्यकर्तालाई न्याय चाहिएको छ र नेता लाई अवसर,अनि आम जनतालाई बिकास र समृद्धि चाहिएको छ। यस्तो अबस्थामा पार्टीले माथि देखि तल सम्म उपयुक्त एजेण्डा तयार गरेर नागरिकको भरोसा गर्न लायक पार्टीको रुपमा अझ अगाडी बढाउनु आबश्यक छ।”
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सहसचिब शंकर ढुंगानाले नेपाली काँग्रेस प्रति अझ पनि जनताको आशा र बिश्वास रहेको भएपनि केहि केन्द्रीय नेताहरुको कार्यशैली र कार्यकर्ताहरुको त्याग र समर्पणको मुल्यांकन नगर्ने तर व्यक्तिगत सम्पर्क र गुटको आधारमा अवसर दिने प्रवृतिका कारण कांग्रेस कमजोर देखिएको बताए। उनले कार्यकर्ताको सहि मुल्यांकन हुन सके तल्लो तहका जनताले समेत कांग्रेसलाइ नै बिश्वास गर्ने र फेरी ठुलो पार्टी बन्न सक्नेमा जोड दिए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य जिबन बाँस्तोलाले पछिल्लो समय जनताहरु हल्ला र स्टन्टको पछाडी लाग्ने गरेको भन्दै बिकास निर्माण र जनताकै साथमा रहनेहरु समेत पराजित हुनुपर्ने पीडादायक अबस्था नेपाली राजनीतिमा देखिएको बताए ।
नेपाली काँग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका सदस्य गंगाधर पराजुलीले नेपाली कांग्रेसका सबैजसो भात्री एबम शुभेच्छुक संस्थाहरु कोमामा पुगेको अबस्थामा रहेको भन्दै कांग्रेस निकट विभिन्न संस्थाहरुलाई सक्षम र जिबन्त बनाउनुपर्ने, कांग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघलाई बिद्यालय वा क्याम्पस तहबाटै सुदृढ बनाउन लाग्नुपर्ने, तल्लो तहसम्म सांगठानिक संरचना सक्रिय र पूर्ण बनाउनुपर्ने र पार्टी भित्र लोकतन्त्रको अभ्यास निरन्तर गर्दै आम कार्यकर्तालाई न्याय दिने गरि मुल्यांकनको परिपाटी बसाल्नुपर्नेमा जोड दिए ।
कांग्रेसलाइ जनस्तरमा बलियो बनाउन निश्चित एजेन्डा तय गरेर जतामाझ जानुपर्नेमा जोड दिंदै पराजुलीले भने । “भ्रष्टाचार नियन्त्रण, आर्थक पारदर्शिता, बिकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा कांग्रेसको दृष्टिकोण के ? महिला, जनजाती, युवा, पिछडिएको वर्गको उत्थानको लागि कांग्रेसले के गर्छ ? अबको कति बर्षमा नेपालको आर्थिक अबस्था कस्तो बनाउने जस्ता बिषयमा स्पष्ट खाका कोरेर जनातामाझ जानुपर्छ।”
नेपाली काँग्रेस कास्कीका सदस्य एबम एक सय दिने अभियानका लागि वडा न. ५ मा खटिएका चउबहादुर गुरुंगले वडाको संगठन बलियो बनाउनको लागि के गर्दा राम्रो हुन्छ भन्ने सुझाब संकलन गरेर जिल्ला सहित केन्द्रमा पठाउने बताउंदै आफ्नो तहबाट हुनसक्ने संगठनको काम अभियानकै क्रममा गर्ने जानकारी दिए।
नेपाल बिद्यार्थी संघ पृथ्बी नारायण क्याम्पसका सभापति प्रयास कोइरालाले नेविसंघलाई पार्टीले आन्दोलनको बेला र सडकमा प्रदर्शनको बेला मात्र प्रयोग गर्ने गरेको भन्दै बिद्यार्थीहरुको योगदान नबिर्सन पार्टी नेतृत्वलाई खबरदारी गरे।
नेपाली काँग्रेस वडा कार्यसमितिका सभापति प्रकाश कोइरालाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पार्टीको पोखरा महानगर समितिका प्रबक्ता धनन्जय पौडेल, तरुण गोबिन्द केसी, टिकाराम भन्ताना, वडा कार्यसमितिका उपसभापति गोपालबहादुर थापा र सचिब हरी पन्त लगायतले वडाको सांगठानिक अबस्थाको बारेमा जानकारी गराएका थिए ।