Play

रबि लामिछाने बिरुद्दको मुद्दा अदालतमा, लामिछाने पत्नी निकिता पनि प्रतिवादी कायम

लामिछाने बिरुद्द २७ करोड बढी र जोशी बिरुद्द ७४ करोड बढीको बिगो मागदाबि सहित मुद्दा दर्ता


गुरुकुल खबर


पोखरा, नेपाल सरकारका पूर्व उपप्रधान एबम गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दा दर्ता गरेको हो मुद्दा दर्ता गर्ने समयमा लामिछानेलाई पनि अदालतमा लगिएको छ ।

गत कार्तिक २ गते देखि हिरासतमा रहेका लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ गरिएको भएपनि हाल उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दर्ता गरिएको हो आठपटकसम्म म्याद थपेर अनुसन्धान गरेको प्रहरीले आफ्नो प्रतिबेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालतमा मुद्दा दर्ता गर्न लगिएको हो ।

कास्की जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरे अनुसार  मुद्दा दायर गर्न लागेको हो । प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रुपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ । सहकारी ठगी प्रकरणमा उनीविरुद्ध फरक फरक तीन कसुरमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

उनका अनुसार पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको छ

जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीमा गत वर्ष मुद्दा दायर भएका १९ जनाविरुद्ध कसुर बिगो थप गर्दै पूरक अभियोगपत्र शुक्रबार नै अदालतमा दर्ता गरिसकेको छ ।

यसैबीच सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको बताइएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले संचारकर्मीलाई जानकारी दिइन् ।

७ पुष २०८१, आईतवार १४:०२ मा प्रकाशित
Nabintech