ईलाम, नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आसन्न उपनिर्वाचनमा नाली काँग्रेसले बिजय प्राप्त गरि जनताको विश्वास समेत आर्जन गर्नुपर्ने कुरामा जोड दिएका छन।
पार्टीको एक सय दिने विशेष अभियानअन्तर्गत नेपाली कांग्रेस ईलाम जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै महरले आम निर्वाचनको दुई वर्षपछि यही मंसिर १६ मा हुन लागेको उपचुनाव मिनी चुनाव भएकोले कांग्रेसले आफूलाई सक्षम साबित गर्न जितको विकल्प नभएको स्पष्ट पारे।
‘मंसिर ५ को उपनिर्वाचन मिनी चुनाव हो। आम निर्वाचन भएको ठीक दुई वर्षपछि उपनिर्वाचन हुँदैछ । कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो। कांग्रेसले आफ्नो हैसियत राख्न जनताको विश्वास आर्जन गर्न जरुरी छ। त्यसका लागि पार्टी एकबद्ध भएर सक्रिय हुनुपर्छ। कोही कतै चुक्नु हुँदैन। हामी चुकेनौं भने जित सुनिश्चित छ,’ नेपाली काँग्रेसको केन्द्रीय सदस्य एबम शिक्षा विभागका प्रमुख समेत रहेका महरले भने
पार्टीभित्रका आन्तरिक विकृति हटाउने र आफैँ शक्तिशाली पार्टी बनेर एक्लै चुनाव लड्नका लागि वातावरण सिर्जना गर्ने उद्देश्यका साथ थालिएको सय दिने अभियानको बीचमा उपनिर्वाचन भइरहेको महरले बताए ।
‘कांग्रेस बाहेक देशका पुराना राजनीतिक शक्ति सधैँ अस्थिरतामा रमाए। हाम्रो धेरै समय उनीहरूलाई समेट्दै देशमा स्थिरता कायम गर्न मै बित्यो। नयाँ राजनीतिक शक्ति ठान्ने केहि नयाँ दल उदांगो भइसके। हामीले उनीहरूका पात्र, प्रवृत्ति र चरित्र देखिसकेका छौं,’ महरले भने,
पार्टीको संगठन चुस्त–दुरुस्त बनाउने, जनताका गुनासा सुन्ने र आफूलाई परिष्कृत गर्दा सहजै शक्तिशाली पार्टी बन्न सकिने महरको भनाइ छ। सरकार पनि आफ्नो प्रतिबद्धताप्रति जिम्मेवार हुनुपर्नेमा महरले जोड दिए।
‘हिजो कांग्रेस एमाले गठबन्धन हुँदा सात बुँदे सहमति भएको थियो। सहमति अनुरूप कति काम भए–भएनन् ? बेला बखत त्यसको समीक्षा गर्दै सहमति अनुरूप पनि काम गर्दै अगाडि बढ्नुपर्छ। सत्ता सहयात्रा गर्दाको सहमतिको असर पार्टीलाई पर्नुहुँदैन,’ उनले भने।
संविधान संशोधनलगायत विषयमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिंदै उनले अन्डर १९ विश्वकप क्रिकेट खेल्ने मौका मिलेको, बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सुरु गरिएको, चीनमा पहिलो पटक इलामको चिया निर्यात सुरु भएको जस्ता विषय देश विकासका लागि राम्रा पक्ष हुन्। यस्ता जनताका पक्षमा हुने काम पनि सरकारले गर्नुपर्छ,’ उनले भने।
महरले इलामका सम्भावनाको विकासमा पनि सरकार गम्भीर बन्नुपर्ने बताए । इलाम अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दूध), अम्लिसो, आलु र अतिथि सत्कारमा प्रख्यात रहेकाले यी कुराको ब्रान्डिङ गर्दै विश्व बजारसम्म पुर्याउन सक्नुपर्ने उनले बताए। कृषिमा उर्वर इलामले थुप्रै सम्भावना बोकेकाले राज्यले त्यसको सही सदुपयोग गर्न सक्नुपर्ने उनको भनाइ थियो ।