Play

रबि र छबिलाई काठमाडौँमा पनि पक्राउ पुर्जी, काठमाडौँ जिल्ला अदालतले दियो पक्राउ गर्न अनुमति

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा काठमाडौँमा पनि पक्राउ पुर्जी जारी भएको छ। लामिछाने र उनका व्यापारिक साझेदार समेत रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई आइतबार अनुमति दिएका हुन् । लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौँ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।स्वर्ण लक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

रकम अपचलनबारे अनुसन्धान गर्न ६ सय ४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

२ मंसिर २०८१, आईतवार १७:२६ मा प्रकाशित
Nabintech