Play

‘पर्यटन मन्त्री बन्ने तर जहाज किन्ने निर्णयबाट डराउने ? पारदर्शी तरिकाले डिस्काउन्टमा जहाज किन्नुपर्छ’

हवाईमार्ग सुनिश्चित र सुरक्षित छ भन्ने सन्देश अन्तराष्ट्रिय स्तरमा फैलाउनु आबश्यक छ - पर्यटन मन्त्री पाण्डे


गुरुकुल खबर


पोखरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालमा एयरपोर्टहरुको संख्या धरै भएपनि ति एयरपोर्टमा चल्ने बिमान नभएको कारण बिमानको संख्या तत्काल थप गर्नुपर्ने कुरामा जोड दिएका छन। उनले देशका सातवटा प्रदेशले कम्तिमा एक/एक वटा राष्ट्रिय ध्वजाबाहक ट्विनअटर विमान किन्नुपर्ने र एयर कनेक्टिभिटी बढाएर स्वदेशी एबम बिदेशी पर्यटकलाई सेवा दिनुपर्ने उल्लेख गरे।

पोखरामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा पोखरा बिमानस्थलमा विमानस्थलका कर्मचारी एबम सिमित संचारकर्मी र राजनीतिक दलका कार्यकर्तासंगको भेटमा उनले सातवटा प्रदेशलाई अगाडी सारेर सबै प्रदेशमा राष्ट्रिय ध्वजाबाहक बिमान संचालन गर्नुपर्ने खाँचो औंल्याए। नेपालको भूगोल १५ प्रतिशत समथर मैदान र ८५ प्रतिशत पहाड रहेको कारण एकठाउँबाट अर्को ठाउँमा स्थलमार्गबाट जाँदा समय धेरै लाग्ने र जोखिम समेत धेरै हुने भएकोले हवाईमार्ग सहज हुने मन्त्री पाण्डेले बिश्वास ब्यक्त गरे।

यसै सन्दर्भमा उनले भने नेपालका धेरै पहाडी जिल्लामा समेत एयरपोर्ट छन ति एयरपोर्टमा जहाज चल्छन र सुरक्षित उडान हुन्छ भन्ने सन्देश दिन सक्ने हो भने छोटो समयमा नेपालको विभिन्न भूभागको अबलोकन गर्न आउने बिदेशी पर्यटकको आगमन बढ्ने निश्चित छ ।

एउटा ट्वीनअटर विमानको मूल्य एक अर्ब रुपैयाको हाराहारीमा पर्ने भन्दै मन्त्री पाण्डेले ‘डिस्काउन्ट’ मा बिमान लिनसके त्यो भन्दा धेरै सस्तो पर्ने समेत उल्लेख गरे। उनले भने ‘ नेपालमा त बिमान किन्ने नाममा कमिसन लिने प्रचलनले पनि बिमान महँगो पर्ने गरेको छ, तर जति कमिसन दिने भन्छन त्यसलाई डिस्काउन्ट मानेर मूल्य कायम गर्दा सस्तोमा जहाज आउन सक्छ’ ।

जहाज किन्दा वा अन्य काम गर्दा पनि कमिसन त सिस्टमबाट नै आउने गर्छ भन्छन नि भन्ने प्रश्नको उत्तरमा मन्त्री पाण्डेले भने – राज्यको पैसा तिर्ने अनि सिस्टमको नाममा व्यक्तिगत रुपमा कमिसन लिने प्रवृतिकै कारण समस्या उत्पन्न भएको हो। त्यस्तो हुन दिनुहुन्न।

आफुलाई बिमान किन्ने निर्णय नगर्न पूर्व पर्यटन मन्त्रीहरुले सुझाब दिएको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रश्न गरे – मुलुकको पर्यटनको विकास गर्नुपर्छ भन्ने तर विभिन्न एअरपोर्टमा चल्ने बिमान नहुनु र हाल भैरहेका बिमान पनि ग्राउनडेड भएर चल्न नसक्ने अबस्थामा रहेपछि कसरी पर्यटनको विकास सम्भव हुन्छ ? उनले पर्यटन मन्त्रीको जिमेवारी लिएर पनि  हवाईमार्ग सुनिश्चित र सुरक्षित गर्न पहल नगर्ने हो भने जिम्मेवारी लिनुको कुनै अर्थ नहुने समेत स्पष्ट पारे।

बिमान किनेपछि भ्रष्टाचार र अनियमितताको आरोप लाग्छ भन्ने नाममा बिमान नकिन्ने हो भने देशभर बनेका एअरपोर्ट र अन्य पुर्वाधारको उपयोग नहुने र नेपाली आकाशमा उडान बन्द हुने अबस्था आउने उनको बुझाइ छ ‘तर बिमान किन्दा सम्भब भएसम्म पारदर्शी अनि डिस्काउन्ट गरेर सस्तोमा किन्नुपर्छ’ मन्त्री पाण्डेको भनाइ थियो । आन्तरिक उड्डयनलाई चलायमान बनाउन सके पर्यटकको आगमन बढ्ने र आर्थिक गतिबिधि चलायमान हुने भएकोले विमानको संख्या थप गर्नुपर्नेमा उनले जोड दिंदै आएका छन।

पोखरामा विभिन्न प्रदेशका पर्यटन मन्त्रीहरु सम्मिलित बिषयगत समितिको बैठकमा पनि उनले ट्वीनअटर बिमान किन्ने सम्बन्धि प्रारम्भिक प्रस्ताब बहसको रुपमा अगाडी सारेका थिए । पोखरामा गरिएको यो प्रस्ताबलाई अब तिन महिनापछि बर्दियाको ठाकुरद्वारामा हुने अर्को बैठकमा ठोस रुपमा छलफल गरि निष्कर्षमा लैजाने उनको रणनीति रहेको बताइएको छ ।

‘कम्तीमा सात प्रदेशले सातवटा डोमेस्टिक फ्लाइट गर्ने खालको एयर क्राफ्ट/ ट्विनअटर  किन्न मोडालिटीबारे सोच्दैछौं,’ उनले भने, विज्ञहरूले एउटा ट्विनअटर विमानको मूल्य अर्ब रुपैयाँ भनेको भन्दै उनले पारदर्शी ढंगले प्रदेश सरकारले विमान किन्नुपर्ने बताए।

नेपाल एयरलाइन्सका नाममा विमान किनेर प्रदेशले आन्तरिक उडानलाई प्रभावकारी बनाउन सक्ने उनको निचोड छ। ‘हाम्रो ध्वजावाहक नेपाल एयरलायन्सको नाममा सात प्रदेशका सात वटा ट्विनअटर हुन्छ। खरिद गर्न पैसाको जोहो प्रदेश सरकारले गर्छन्। त्यो प्लेनमा कोशी लेखिएको हुन्छ। कर्णाली लेखिएको हुन्छ। मधेस लेखिएको हुन्छ। आफ्नो आफ्नो प्रदेशको राजधानीबाट आन्तरिक उडानको प्रबन्ध मिलाउन सकियो भने आन्तरिक उडान चलायमान गर्न सक्छौं,’ उनले भने।

सरकार मातहतको नेपाल एयरलाइन्स बलियो नहुँदा निजी विमान कम्पनीको मनोमानी बढेको उनले बताए। निजी विमान कम्पनीको मनोमानी हटाउन पनि नेपाल एयरलाइन्स बलियो र विश्वासिलो हुनुपर्ने उनको निष्कर्ष थियो ।
‘नेपाल एयरलाइन्स चलाउने हो भने प्लेन हुनुपर्छ। पारदर्शी ढंगले किन्नुपर्छ। मेन्टिनेन्स, टिकेटिङ डिजिटल प्रविधि प्रयोग गरेर पूरा पादर्शी ढंगले संचालन गरिनुपर्छ’ उनले भने, ‘विमान खरिद गर्न डराएर विभिन्न आरोप लाग्छ भनेर भनेर भाग्दै हिँड्ने होइन।’  संघ, प्रदेश र स्थानीय सरकारका साथै सर्वसाधारणबाट पनि रकम उठाएर ती जहाज किन्न सकिने उनको भनाइ छ । प्रत्येक प्रदेशको राजधानीबाट आफ्नो प्रदेशभित्र चल्ने गरी जहाजको व्यवस्थापन गर्न सकिने पाण्डेले बताए ।

‘कर्णालीमा सुर्खेतबाट कर्णालीकै एयरपोर्टहरुमा चल्छ । सुदूरपश्चिको ध्वजावाहक आफ्ना जिल्लामा चल्छ, यो एउटा मोडल हुन सक्छ कि’, उनको प्रस्ताव थियो, ‘किनकि हामीले एयरलायन्स बढाउनुपर्ने छ, अझै आन्तरिक उडान बढाउनुपर्ने छ । त्यसैले यो मोडालिटीमा छलफल गर्‍यौं ।’ कुन मोडालिटीमा सञ्चालन गर्न सकिन्छ भनेर प्रदेशले पनि सिफारिस गर्ने र संघीय सरकारले निर्णय गर्ने बैठकमा समझदारी भएको मन्त्री पाण्डेले बताए ।

नेपालको आकाश असुरक्षित छ भनेर प्रचारबाजी भएको भन्दै मन्त्री पाण्डेले असन्तुष्टि पोखे। दुर्घटना अरू देशमा पनि हुने गरेको छन्। उनले नेपालीआकाश सुरक्षित बनाउन प्रोटोकलमा ध्यान दिनुपर्ने र नेपालको उड्डयन क्षेत्र
सुरक्षित छ भनेर सन्देश दिनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै प्रदेशको राजधानीसँग पोखराको हवाई सम्पर्क स्थापित गर्नुपर्ने बताए। ‘सातवटै प्रदेशका राजधानीसँग पोखराको एयर कनेक्टिभिटी हुनुपर्छ,’ उनले भने, ‘अब परम्परागत तरिकाले मात्र सोचेर पर्यटन प्रवर्द्धन हुन सक्दैन।’

गण्डकीको उद्योग तथा पर्यटन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पर्यटनमन्त्री पनि सहभागी थिए।

कार्यक्रममा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्ण देवकोटा, पोखरा महानगर पर्यटन समितिका संयोजक रविन्द्रराज पौडेल र व्यवसायी बासु त्रिपाठीले कार्यपत्र पेस गरेका थिए ।

पर्यटन मन्त्री पाण्डेले पोखरा अन्तराष्ट्रिय बिमानस्थलका विभिन्न कक्षहरुको समेत बुधबार साँझ अबलोकन गरेका थिए त्यस क्रममा विमानस्थलका अधिकारीहरुले विमानस्थलको पुर्वाधार सहितका सुबिधा, पोखराबाट हुने गरेको उडान, अन्तराष्ट्रिय उडान हुन नसक्नुको अबस्था लगायतका बिषयमा जानकारी गराएका थिए ।

१० आश्विन २०८१, बिहीबार ०८:३३ मा प्रकाशित
Nabintech