Play

पूर्व डीआइजी जोशीको बयान शुरु, सिआइबीको टोलि पनि पोखरा आउंदै

गुरुकुल खबर


पोखरा, सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिल कार्यालय पोखरामा लागिएको छ। मंगलबार बिहान साढे १० बजे सरकारी वकिल कार्यालय पुर्‍याइएर बयान शुरु गरिएको बुझिएको छ  जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रमुख तथा एसपी मोहनकुमार थापाका अनुसार मंगलबारबाट बयान शुरु भएपनि कहिले सम्म सकिन्छ भन्ने टुंगो छैन।

जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले सोमबार प्रहरीलाई अनुमति दिएको छ।आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई बुद्ध एयरको जहाजबाट आइतबार राति नै पोखरा ल्याइएको थियो।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी सहितलाई कारबाही गर्न सिफारिस गरेको थियो। गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए।

यसैबीच पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा आउने भएको छ। सूर्यदर्शनको फाइल हेर्ने अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्ने गरी ‘सपोर्ट टिम’ पोखरा आउन लागेको सीआईबीका एआईजी दीपक थापाले बताएका छन।

पूर्वडीआईजी जोशी, पूर्व गृहमन्त्री रवि लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीतेन्द्रबावु (जीबी) राई विगतमा व्यापारिक साझेदार थिए । उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौँ रकम उनको हस्ताक्षरबाट चेक काटिएको छ । जोशीसँग प्रारम्भिक बयान लिएर प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ ।

८ आश्विन २०८१, मंगलवार १२:१६ मा प्रकाशित
Nabintech