ढिकुरपोखरी, कास्की। कास्कीको अन्नपुर्ण गाउँपालिका -२ मा सोमबार आयोजित एक कार्यक्रममा नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण गरिनुको साथै समसामयिक राजनीति र नेपाली काँग्रेसको अबस्था बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाली काँग्रेसका संस्थापक एबम नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ११ औं जन्म जयन्तीको सन्दर्भ पारेर कास्की जिल्लाका ७२ वटा वडामा यस किसिमको कार्यक्रम गर्ने निर्णय भएअनुरुप अन्नपुर्ण -२ मा पनि उक्त कार्यक्रम गरिएको हो।
उक्त वडामा नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणको लागि काँग्रेस गण्डकी प्रदेशका सदस्य जिबन बाँस्तोला संयोजक तथा जिल्ला सदस्य बिष्णु अधिकारी, क्षेत्रिय सदस्य निर्मला अधिकारी, कांग्रेस नेता मुक्तिराम अधिकारी लगायत सदस्य रहेको प्रतिनिधिमण्डल र उक्त वडामा पार्टीको तर्फबाट प्रशिक्षण दिनको लागो नेपाली काँग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार प्रसार विभागका सदस्य गंगाधर पराजुलीलाई पार्टीले जिम्मेवारी दिएको थियो।
पार्टीले दिएको जिम्मेवारी अनुरुप अन्नपुर्ण गाउँपालिका वडा न. २ मा १ सय ५४ जना क्रियाशील सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र दिईएको थियो। काँग्रेस गण्डकी प्रदेश सदस्य बाँस्तोला र कार्यक्रममा सहभागी कांग्रेस केन्द्रिय प्रचार विभागका सदस्य पराजुलीले सदस्यताको प्रमाणपत्र वितरण गर्नुको साथै टिका लगाएर स्वागत सहित बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिमण्डलका संयोजक रहेका गण्डकी प्रदेश सदस्य बाँस्तोलाले पार्टीलाई बलियो र संगठित बनाउन नेता र कार्यकर्ताहरुले आमनागरिका समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।
उनले नेपाली काँग्रेसको स्थापना, बिपी कोइरालाको व्यक्तित्व र कांग्रेसको झण्डाको बारेमा विभिन्न जानकारी गराउनुको साथै पार्टीका क्रियाशील सदस्यहरुको कर्तब्य र दायित्वको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस अन्नपुर्ण गाउँपालिकाका सभापति मनापति भण्डारीले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भए जस्तो नेपाली काँग्रेसको बिकल्प अरु कुनै पार्टी बन्न नसक्ने कुरामा जोड दिए। उनले संगठन बलियो बनाउन कार्यकर्ताहरुमा हुने मतभेद न्यून गर्नुपर्ने र पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरु नागरिक प्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।
सोहि वडाका वडा सदस्य भानु दाहालले नेपाली काँग्रेसले भ्रष्टाचार र अनियमितता बिरुद्द गम्भीर आवाज उठाउनुपर्नेमा जोड दिंदै कांग्रेसले संस्थागत निर्णय गरेर आफ्नो नीति र बिचार सहित लक्ष स्पष्ट पार्नुपर्ने बताए।
नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका -२ का सभापति समेत रहेका सोहि वडाका वडाध्यक्ष पिताम्बर भण्डारीले पार्टीले वडातहमा गरेका कामहरुको बारेमा जानकारी गराउंदै आगामी दिनमा पार्टीका गतिबिधि अझ अगाडी बढाउन सबै कांग्रेसजनको सहयोगको अपेक्षा गरे।
कार्यक्रममा नेपाली काँग्रेस वडा कार्यसमिति -२ का उपसभापति समेत रहेका नेपाल ट्रेड युनियन कांग्रेस अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष यामप्रसाद भण्डारीले गाउँ गाउँमा घरहरु रित्तिंदै गएको र अधिकांश युवाहरु पलायन भैरहेकोले काँग्रेसले युवालाई देशभित्र रहने बाताबरण बनाऊन लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उक्त वडाका पुर्ब वडा सदस्य भगवती भण्डारी, पार्टीका गाउँपालिका सदस्य खगराज अधिकारी, गाउँपालिका समितिको कोषाध्यक्ष लोकराज अधिकारी र क्षेत्रिय सदस्य निर्मला अधिकारी समेतले पार्टीलाई संगठित र बलियो बनाउन सबैले असल नियत राखेर काम गर्नुपर्ने खाँचो औंल्याए ।
नेपाली काँग्रेस राजनीति शास्त्रको खुला विश्वबिद्यालय जस्तै हो – पराजुली
उक्त वडा भेला एबम क्रियाशील सदस्यता बितरण अभियानकै क्रममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता गंगाधर पराजुलीले काँग्रेसलाई अझ बलियो बनाउन पार्टीको सबै संरचना र भात्री एबम शुभेच्क्षुक संस्थाहरुलाई क्रियाशील बनाउन र गुटबन्दीको अन्त्य गर्न आबश्यक रहेको बताए।
पार्टीका सदस्यहरु अनुशासनको परिधि भित्र रहनुपर्नेमा जोड दिंदै पराजुलीले भने।, “पार्टीको सदस्य भन्ने तर चिया पसल र चोकमा बसेर आफ्नै पार्टीको नेताको बिरोध गर्ने प्रवृतिले पार्टी कमजोर बन्ने छ, तसर्थ राम्रो काम गर्ने कार्यकर्ताको मुल्यांकन र नराम्रो गर्नेलाई दण्डित गर्ने ब्यबस्था लागु गरिनुपर्छ।”
पराजुलीले लाखौँ अनुशासनहिन कार्यकर्ता भन्दा हजारौं अनुशासित कार्यकर्ताले पार्टीलाई उर्जा मिल्छ भन्दै पार्टीलाई बलियो बनाउन सांगठनिक संरचनामा सुधार आबश्यक रहेको बताए। पार्टीका सबै तहका कार्यसमिति र बिभागलाई पूर्णता दिईनुपर्ने, समाबेशी वा आरक्षण कोटाको दुरुपयोग गर्न नहुने, पार्टीका भात्रीसंस्थाहरुको अधिबेशन समयमा नै गरेर पार्टीमा उर्जा भर्नुपर्ने, पार्टीका विभिन्न तहका कार्यकर्ता र सदस्यहरुलाई समय सान्दर्भिक पाठ्यक्रम तयार गरि राजनीतिक एबम समसमायिक बिषयमा प्रशिक्षण दिनुपर्न र नागरिकको अपेक्षालाई दृष्टिगत गरि बिभिन्न क्षेत्रमा कांग्रेसको दृष्टिकोण सार्बजनिक गर्नुपर्ने जस्ता कुरामा पनि प्रशिक्षक पराजुलीले जोड दिएका थिए।
नेपालको सन्दर्भमा नेपाली काँग्रेस राजनीति शास्त्रको खुला बिश्वबिद्यालय जस्तै हो भन्दै पराजुलीले १०४ बर्षीय जहानिया शासन, ३० बर्षे पंचायेती शासन, १० बर्षे माओबादी युद्ध र तत्कालिन राजा ज्ञानेन्द्रको तानाशाही शासन ब्यबस्ठा बिरुद्द नेतृत्वदायी आन्दोलन गरेको कांग्रेसले नै देशमा हुने हरेक राजनीतिक परिबर्तनमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएको समेत स्पष्ट पारे।
सोहि अबसरमा काँग्रेस नेता पराजुलीले महामानब बिपी कोइरालाको तस्बिर नेपाली काँग्रेस अन्नपुर्ण – २ को कार्यालयको लागि उपहार स्वरूप हस्तान्तरण गरेका थिए ।
अन्नपुर्ण गाउँपालिका -८ बीरेठांटीमा बिपी जयन्ती र सदस्यता वितरण
यसैबिच अन्नपुर्ण गाउंपालिकाको वडा न. ८ को बीरेठांटीमा बिपि जयन्ती तथा कृयाशिल सदस्यता वितरण कार्यक्रम सोमबार नै सम्पन्न भएको छ । नेपाली काँग्रेसका पूर्व महाधिबेशन प्रतिनिधि दुर्गाप्रसाद तिमिल्सिना त्यस वडामा संयोजकको रुपमा खटिएका थिए सोहि अबसरमा क्रियाशील सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा संयोजक तिमिल्सिना सहित पार्टीका क्षेत्रिय सभापति मनोज गुरुडं र कार्यक्रमका प्रशिक्षक एबम कांग्रेस प्रचार बिभागका केन्द्रिय सदस्य राज बहादुर गुरुङ, सोहि वडाका वडाध्यक्ष बिजय गुरुङ, समाजसेवी बिष्णुमाया गुरुङ, लोकतान्त्रिक आदिबासी जनजाती महासंघका प्रदेश अध्यक्ष टेक बहादुर गुरुङ लगायतका बक्ताले बीपीको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए।
बक्ताहरुले जनताबाट निर्वाचित जनप्रतिधीहरुले जनताका पिरमर्का बुझेर समाधानमा लाग्नुपर्नेमा तल्लो तहका जनताको भन्दा माथिल्लो तहका नेताको चाकडीमा लागिरहेको, स्वाभिमान, ईमान्दार कार्यकर्ताहरुलाइ भन्दा नेताको दैलोमा जाने कार्यकर्ताहरुलाई प्राथमिकतामा पारेर चुनाबमा टिकट दिने र अन्य अवसर दिने गरिएको भन्दै नेतृत्व तह यस बिषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।
नेपाली काँग्रेस वडा कार्यसमितिका सभापति टेक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सानो टेक बहादुर गुरुङ र स्वागत ज्ञान बहादुर कुंवरले गरेका थिए ।
पोखरा – ५ मा पनि क्रियाशील सदस्यता वितरण
नेपाली काँग्रेस पोखरा महानगरपालिका -५ मा पनि बिपी जयन्तिको सन्दर्भ पारेर पार्टीको क्रियाशील सदस्यता वितरण गरिएको छ।
वडा ५ मा संयोजकको जिम्मेवारीमा रहेका शंकर ढुंगानाले कांग्रेसले प्रजातन्त्र र राष्ट्रियताको सवालमा धेरै काम गरेको भएपनि हाल कांग्रेसको अगाडी चुनौती पनि त्यत्तिकै रहेको बताए कांग्रेसले जनताको आवाजलाई सम्बोधन गर्न, प्रजातान्त्रिक अधिकारको संरक्षन गर्न र मुलुकमा शुसासन कायम गरि अनियमितता र भ्राष्टचार रोक्न सकेमा कांग्रेस कम्जोर नहुनेमा जोड दिए।
वडा कार्यसमितिका सभापति प्रकाश कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका गण्डकी प्रदेश सदस्य जिबन बाँस्तोला, जिल्ला सदस्य बिजयालक्ष्मी कोइराला, प्रशिक्षकको रुपमा सहभागी भानु पराजुली लगायतले बिपीको व्यक्तित्व र कृतित्व सहित समसामयिक राजनीतिको बारेमा चर्चा गरेका थिए कार्यक्रममा पार्टीको वडा कार्यसमितिका उपसभापति गोपाल बहादुर थापा र सचिब हरी पन्त लगाएतले आआफ्नो भनाई राखेका थिए ।