Play

सरकारलाई सफल बनाउन कर्मचारीको भूमिका महत्वपुर्ण – मुख्यमन्त्री पाण्डे

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको भूमिका महत्वपुर्ण रहने बताएका छन् ।  निजामती कर्मचारी दिवस- २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार आयोजना गरेको प्रदेश निजामती सेवा, स्थानीय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघ, प्रदेश र स्थानीय तह जुनसुकै तहमा रहेका कर्मचारीहरुले इमान्दारीताका साथ काम गर्न र जनतालाई सरल र सहज सेवा दिन निर्देशन दिए ।

‘नागरिकहरुले राम्रो सेवा पाउन नसकेमा सरकारले राम्रो गरेन र सरकार असफल बन्यो भन्ने सन्देश जाने गरेको र त्यसको मुख्य जिम्मेवारी सरकारका प्रमुख र राजनीतिक व्यक्तिलाई दिने गरिएको छ तर कर्मचारीको कार्यशैली र क्षमतामा नै सरकारको सफलता र असफलता झल्किने हुन्छ’ मुख्यमन्त्री पाण्डेले कर्मचारी सरकारको प्रमुख र अभिन्न अंग भएको समेत स्पष्ट पारे ।  मुख्यमन्त्री पाण्डेले भने, ‘सरकारलाई सफल बनाउनु जनप्रतिनिधि र कर्मचारी सबैको ड्युटी हो, आफ्नो ड्युटी प्रति सबै प्रतिवद्ध हुनुपर्छ।’

कर्मचारीको वृत्तिविकास, न्यायोचित र व्यवस्थित सरुवा लगायतका विषयमा अन्तरक्रियामा सहभागी कर्मचारी संघ, संगठनहरुले चासो राखेका थिए । संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन कार्यन्वयनमा समस्या भएको गुनासो उनीहरुको थियो ।

जवाफमा मुख्यमन्त्री पाण्डेले प्रदेश निजामती सेवा ऐनमा तत्काल संवोधन गर्नुपर्ने विषय प्रदेश सभाबाट तत्काल संशोधनको तयारी भैरहेको जानकारी दिए।  साथै उनले संघीय निजामती ऐन निर्माण भएपछि पनि छुटेका विषय औचित्य हेरी संशोधन सहित सम्बोधन गरिने बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी संग सम्बन्धित विभिन्न ट्रेड युनियनका प्रमुख एबम प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, मन्त्रालयका सचिवहरु लगायतको सहभागिता रहेको थियो ।

१९ भाद्र २०८१, बुधबार १७:४६ मा प्रकाशित
Nabintech